BizPati

  • Ad
  • आज : २०७५ आषाढ ३२ गते
    Headlines :
    Ad

    भ्रष्टाचारको दल–दलमा एनआरएनए

    नरेन्द्र बस्नेत (दिनेश) चैत्र ३०, २०७४

    narendra-basnet

    हरेक दुइ बर्षमा दसैं तिहारको बीचमा सम्पन्न हुने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको सम्मेलन हुन्छ । २०१७ को अक्टोबरमा काठमाडौंको बौद्धस्थित ५ तारे होटल हायात रिजेन्सीमा सम्पन्न आठौं विश्व सम्मेलनमा ७८ देशबाट झन्डै २५ सयको हाराहारीमा प्रतिनिधिहरूको उपस्थिति थियो ।
    प्रत्येक २ बर्षमा दसैंको समाप्तिसंगै आयोजना गरिने यो सम्मेलन २०१५ मा भने दशैंको मुखमा पारेर आयोजना गरिदा एनआरएनएले दसैँ पनि मनाउन नदिने भयो भनेर चर्को आलोचना खेप्नु परेको थियो । त्यतिखेर, पनि मैले ‘आफ्नो घरपरिवार भन्दा एनआरएनए ठूलो हैन’ भन्ने शिर्षकमार्फत आयोजकलाई झकझक्याउने प्रयास गरेको थिए ।

    एनआरएनएको स्थापना देखि हरेक २ बर्षमा आयोजना गरिदै आएको यो सम्मेलन विश्वभरि रहेका नेपालीहरूमध्ये केहीलाई ‘पशुपतिको यात्रा शिद्राको व्यापार’ जस्तै हुने गर्दछ ।
    सन् २००३ मा जब ‘नेपालीका लागि नेपाली’ भन्ने नारासहित एनआरएनए शुरु हुँदा विश्वमा करिब ३० देशहरूमा मात्र नेपालीहरू पुग्न सकेका थिए, (तत्कालिन आंकलन अनुसार) भने आज एकसय भन्दाबढी देशहरूमा नेपालीहरू रहेको अनुमान गरिएको छ र यो क्रम घट्नुको साटो बढ्दो छ । झन्डै १४ बर्षको यो दौडानमा एनआरएनएको आकारले अनपेक्षित रुपमा फड्को मारिसकेको छ । आकारसंगै ठूलो संख्यामा गुणस्तरीय जनशक्ति डायस्पोरा रहेकोले संस्थाप्रति मानिसहरूको अपेक्षा उत्तिकै बढेको छ भने पछिल्लो समय आलोचनाको सिकार पनि त्यतिकै बन्दै गएको छ । प्रवासमा बस्ने यति धेरै नेपालीहरूलाई समन्वय गरि समृद्ध नेपालको सपना बोकेर एउटा मिनी राष्ट्र संघीय मोडेलमा अघि बढेको संजाल एनआरएनएमा व्यबस्थापन र प्रभावकारी प्रशासनमा भने थुप्रै चुनौतीहरू देखा पर्न थालेका छन् । किन कि, यो गैरनाफामूलक र निसन्देह स्वयंसेवी संस्था हो ।
    सन् २००३ फेब्रेअरीमा लण्डनबाट ‘नेपालीका लागि नेपाली’ अभियान , “एनआरएनए” सुरु हँंदा विश्वमा करिब ३० देशहरूमा मात्र नेपालीहरू पुग्न सकेका थिए भन्ने तत्कालिन आंकलन भए पनि आज सय भन्दाबढी देशहरूमा नेपालीहरू रहेको अनुमान गरिदैछ । एनआरएनएको संजाल पनि सुरुमा २० भन्दा कम मुलुकहरूमा स्थापित थियो भने आठौं विश्व सम्मेलनसम्म आइपुग्दा ७८ देशहरूमा गैरआवासीय नेपालीहरूको राष्ट्रिय समन्वय समिति गठन भैसकेको छ । सुरुमा एक हजार भन्दा कम पंजीकृत सदस्य रहेकोमा हालझण्डै १ लाखको हाराहारीमा पंजीकृत सदस्य छन् । साथै विश्व सम्मेलनमा प्रतिनिधिको रुपमा मात्रै करिब दुई हजार डेलिगेटहरूको उपस्थिति रहनु संस्थाको महत्व र आकर्षण बढेको मान्नु पर्दछ ।

    यो पंक्तिकार पनि एनआरएनए अभियानमा बिद्यार्थी कालदेखि नै सक्रिय हुदै आएको छ । तर, पछिल्ला दिनमा स्वयसेवीका रुपमा नाम कमाएको यस संस्था दिन प्रतिदिन महँगो हुदै गएको छ । यसको नेपालमा हुने विश्व सम्मेलनमा सहभागी हुन थालेको १० बर्ष भैसक्यो तर बिगतका सम्मेलन र यसपालिको सम्मेलनलाइ तुलना गर्दा यसपटकको सम्मेलन बिदेशमा बस्ने नेपालीहरुको हो भनेर पत्याउने गा¥हो परिरहेको थियो । अर्थात् हामी नेपाली जहाँ जति सुसंस्कृत र सभ्य देशमा गएर ज्ञान सिप आर्जन गरेपनि आफ्नो देशमा फर्किएपछि ति सबै त्यहि देशमा छोडेर आएको जस्तो अत्यन्तै लाजमर्दो र अब्यबस्थितको चरम सिमा नाघेको वाताबरण थियो । सदस्यहरूले पैसा तिरी सकेपछि पनि ७–८ घण्टासम्म लाइनमा बस्नुका साथै सचिवालयमा काम गर्ने कर्मचारीहरूको व्यवहार अनावस्यक र अत्यन्तै झन्झटिलो देखिन्थ्यो ।
    सचिवालयमा व्यवस्थापनको लाजमर्दो झमेला
    अक्टोबरको दोश्रो हप्ता विश्व सम्मेलनमा भाग लिन संसारबाट काठमाडौंमा ओइरिंदै गर्दा सचिवालयले दिनुपर्ने सेवामा निकै अस्तव्यस्त देखियो । १० अक्टोबेरदेखि वितरण गर्ने भनिएको प्रतिनिधि परिचय पत्र १५ अक्टोबर हायातको प्राङ्गणसम्म पुग्दा पनि नसकिएर अधिबेशन सुरुभएको दिन समेत परिचय पत्र लिनेको लामो र अव्यवस्थित लाइन देख्न सकिन्थ्यो जुन एनआरएनएको हालसम्मको इतिहासमै लाजमर्दो र गैरजिम्मेवार तरिका थियो भन्ने अधिकांशको ठम्याई छ । एकातिर सबै राष्ट्रिय समन्वय समितिहरूले प्रतिनिधिहरूको नामावली समयमा नपठाएको गुनासो थियो भने अर्कोतिर विश्वभरि रहेका एनआरएनए पंजीकृत सदस्यहरूको लागत केन्द्रिकृत सिस्टम ९ःक्ष्क्० द्वारा व्यबस्थित गर्ने प्राबधान अनुरुप कतिपय एनसीसीका पदाधिकारीहरू उक्त नयाँ सिस्टमसंग काम गर्न कठिन भएको थियो । जे होस् पंजीकृत सदस्यहरूले पैसा तिरी सकेपछि पनि ७–८ घण्टासम्म लाइनमा बस्नुका साथै सचिवालयमा काम गर्ने कर्मचारीहरूको व्यवहार अनावस्यक र अत्यन्तै झन्झटिलो देखिन्थ्यो ।

    व्यबस्थापनमा आवस्यक सुधार र सम्मेलनलाई चुस्त गतिमा संचालन र सम्पन्न गर्नका लागि भनि यसपटक प्रतिनिधिहरूको शुल्क २५ प्रतिशतले वृद्धि गरिंदा पनि व्यबस्थापनले आवस्यक जनशक्ति, साधनश्रोत र प्रबिधिको प्रयोग गर्न नसक्नाले सम्मेलनमा प्रतिनिधिहरूले पाएको दुःख र झमेलाको उचित सम्बोधन आउंदो कार्यसमितिले गर्ने छ र २०१९ को विश्व सम्मेलनमा यस्तो दोहोरिने छैन भन्ने अपेक्षा गरौ ।
    अनुत्पादक चुनाबी प्रतिश्प्रर्धा ‘के छ माहोल ?’
    यो वाक्यांश सायद सबै भन्दा धेरै प्रयोग भयो होला कन्फेरेन्सको अघिल्लो ३ दिनसम्म । अलि–अलि चिनेको होस् या चिन्दै नचिनेको होस् हात मिलाउने, गला मिलाउने अनि भोट माग्ने अनि अर्कोपट्टीबाट ‘हुन्छ’, ‘भैहालल्छ’, ‘तपाईको जित सुनिश्चित छ’ जस्ता बार्तालाप नै धेरै चल्तीमा थिए करिब करिब सम्मेलन भरि नै । हुन पनि कूल ३८ पदाधिकारीहरूको लागि भएको निर्वाचनमा करिब १५० भन्दा बढी उम्मेदवारी परेको थियो । सबैभन्दा धेरै उम्मेदवारहरू यूरोपबाट थियो भने अफ्रीका क्षेत्रका सबै क्षेत्रीय पदहरूमा निर्बिरोध भएकोले चुनाव भएन । अन्य क्षेत्र र केन्द्रीय पदहरूमा पूर्वनिर्धारित समय तालिका अनुसार अक्टोबर १६ का दिन अपरान्हबाट मतदान सुरु भएको थियो भने मतदान करिब मध्यरातसम्म चलिरहेको थियो । अचम्म लाग्दो कुरा त के भने सानो भन्दा सानो पद ( क्षेत्रीय संयोजक,उपसंयोजक हरू) मा चुनावमा उठ्दा पनि १ लाख रुपैया भन्दा कमको उम्मेदवारी दस्तुर थिएन । तैपनि लिन भन्दा दिन जाने पदहरूमा यति धेरै उम्मेदवारी पर्नु, जित्ने, जिताउने, हार्ने, हराउने खेल, तानातानी, खिचातानी र तछाड मछाड हेरी नसक्नु र बुझिनसक्नु थियो । जातीय, क्षेत्रीय र राजनैतिक ध्रुविकरण अनि गुटबन्दीकरणको चरम पराकाष्टा पनि छरपस्ट देखिन्थ्यो ।
    आइसीसीमा अष्ट्रेलिया र जापानको टक्करमा अन्य देश मारमा
    संसारभरिका एनआरएनएहरूमा अष्ट्रेलिया र जापानको राष्ट्रिय समन्वय समिति अब्बल मानिन्छ । २०१३ मा शेष घले अध्यक्ष हुंदै गर्दा अष्ट्रेलियन एनआरएनहरूको छाती गर्बले फुलेको थियो । शेष घलेको आगमन अध्यक्षको रुपमा जुन तरिकाले भएको थियो त्यो त्यतिखेर पनि पूर्णता स्वाभाविक नहुदाको अबस्थामा तत्कालिन परिस्थिति र उ माथि एनआरएनएका नेतृत्व सम्हाली सकेका र सम्हाल्न खोज्दै गरेका हस्तीहरुको विश्वास र अचानक बढेको सम्बन्धले बलियो बनाएको थियो । जस अनुरुप उनले अप्रत्याशित बिजय हासिल गरे । पहिलो कार्यकालमै एनआरएनए इतिहासमा बहुप्रतिक्षित बनेको संस्थाको आफ्नै भवन निर्माणका लागि घले संसारका विभिन्न देशमा सहयोग संकलन गर्न दत्त चित्त भएर लागे । तत्कालै काठमाडौँमा भवन निर्माणको लागि जग्गा खरिद प्रकरण अगाडी बढाई भबन निर्माणको कार्यलाई तिब्र पारे, लगत्तै देशलाई महाभूकम्पले विछिप्त बनायो । जुन बिसम परिस्थितिलाई घलेको नेतृत्वमा संस्थाले गरेको राहत र अन्य सहयोगहरुले घलेको साँख माथि उठ्नुको साथै समग्र एनआरएनएको शिर ठाडो भयो । जसले घलेलाइ अर्को दुई कार्यकाल पुनःअध्यक्ष हुनको लागि बाटो खोलिदियो । २०१३ देखि २०१७ सम्म कुनै पनि एनआरएनए अभियानमा अष्ट्रेलियाको भूमिका अग्रस्थानमै रहन्थ्यो । जब निबर्तमान अध्यक्ष शेष घले आफ्नो ४ बर्षे कार्यकाल सकेर बहिर्गमन हुंदै गर्दा आइसीसीमा अष्ट्रेलियाको प्रतिनिधित्व शून्य नै हुन पुग्यो ।

    यता जापानबाट पनि त्यसैगरी उम्मेदवारहरुको भिड नै लाग्यो दुइ कार्यकाल शेष घलेलाई उपाध्यक्षको रुपमा सहयोग गरेका भबन भट्टको उम्मेदवारी जति स्वाभाविक थियो त्यति नै आजको आबस्यकता पनि थियो तर क्षेत्रीय संयोजक जस्तो १ पदमा जापानबाट नै दुइजना उठ्नु अत्यन्त लाजमर्दो बिषय थियो। जसले गुटबन्दी र चरमउत्कर्ष नाघेको आभास दिलाएक थियो । यसले अन्य सानो देशबाट उठ्ने उम्मेदवारहरुलाई प्रोत्साहित गर्नुको साटो निरुत्साहित गरेको थियो । यस्तो विश्व संजालमा सबै क्षेत्रको समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने ख्यालै नगरी प्राय ः सबै पदहरूमा जापान र अष्ट्रेलियाबाट उम्मेदवारी दिदै विश्व जनमत अष्ट्रेलियन उम्मेदवारप्रतिको नकारात्मक प्रभावका कारणले पनि आइसीसी उम्मेदवारहरू सबै पराजित हुन पुगे भने, जापानले सोचे अनुरुप जित हासिल गरे पनि एकै पदमा दुई उम्मेदवार खडा गर्दा राम्रो संदेश भने दिन सकेन । आईसिसिमा प्रतिनिधित्वका लागि फुटेर कहिल्यै संभव छैन भन्ने कुरामा जवसम्म सहमत भइन्न तवसम्म कुनै पनि देशको एनआरएनको हविगत अहिलेको अस्ट्रेलिया जस्तै नहोला भन्न सकिन्न ।

    हिजो लगातार ४ बर्ष केन्द्रिय नेतृत्व गरेको अस्ट्रेलियाले आज आपसी एकताको अभावको साथमा मौलाएको गुटबन्दी र घृणित राजनीतिको असरले शून्यमा झर्दा पनि सिक्न सकेन भने आगामी दिनमा यसको साँख जोगाउन गार्हो नपर्ला भन्न सकिन्न । यसपटकको पाठबाट आगामी दिनमा अगुवाहरुले बेलैमा एकताको प्रयास गर्न जरुरी छ । मनोनित केन्द्रिय सदस्यले एकैचोटी अध्यक्षको चाहाना संस्थागत हिसावले पनि अपाच्य कुरो थियो । उहाँको उम्मेदवारी कै सिलसिलामा विचार विमर्श गर्न जमुना गुरुङद्वारा बोलाइएको अष्ट्रेलियन एनआरएन प्रतिनिधिहरू संगको छलफलमा धेरै शुभ चिन्तकहरूले उहाँलाई अहिले उम्मेदवारी दिनु उचित होइन भन्ने राय पनि नदिएका होइनन् ।

    बिचौलियाहरुको लहडमा जमुना गुरुङको हतास उम्मेदवारी
    निबर्तमान अध्यक्ष शेष घलेले बिगत ४ बर्षमा कमाएको हाइ–हाइ अन्तिम समयमा आएर वहाकी श्रीमती जमुना गुरुङद्वारा अध्यक्ष पदको लागि गरिएको अप्रत्याशित र अस्वभाबिक उम्मेदारी घोषणा र पराजयबाट दांतमा ढुंगा लागेको अनुभव समस्त एनआरएनहरूले महसुश गरेका छन् । अष्ट्रेलियाले बिगत ४ बर्ष सम्हाली सकेको थियो र आउँदो कार्यकाल संस्थामा लामो समय काम गरेकाहरूलाई दिनु उपयुक्त हुनेथियो जसका लागि संस्थाको स्थापना कालदेखि तल्लो स्तरबाट आफ्नो बिबिध अनुभवले खारिदै आएका भबन भट्ट, कुमार पन्त लगायतका आकांक्षिहरु थिए भने अर्कातिर श्रीमानको कार्यकाल सकिदै गर्दा त्यहि पदको कार्यभार श्रीमतीले दाबि गर्नुलाई एनआरएनहरूले सहज रुपमा लिन सकेनन् । मनोनित केन्द्रिय सदस्यले एकैचोटी अध्यक्षको चाहाना गर्नु संस्थागत हिसावले पनि असह्य कुरो थियो ।

    जमुना घलेको उम्मेदवारीकै सिलसिलामा विचार विमर्श गर्न वहाद्वारा बोलाइएको अष्ट्रेलियन एनआरएन प्रतिनिधिहरूसँगको छलफलमा धेरै शुभचिन्तकहरूले उहांलाई अहिले उम्मेदवारी दिनु उचित होइन भन्ने राय पनि नदिएका होइनन् । संस्था भनेको बिरासत र अहमले मात्र चल्ने कुरा हैन भन्ने कुरा वहाले नबुझिदिनाले र आफ्ना वरिपरिका केहि बिचौलियाहरुले संस्थागत हित भन्दा पनि वहाहरुलाई प्रयोग गरि आफुले गरेको राजनीतिक र बिबिध अहम मै घले दम्पतिलाइ प्रयोग गर्दै अप्रत्याशित चंगुलमा पारिसकेकोले पनि वहाहरु बास्तबिकताको धरातललाइ बुझ्न सक्नु भएन । जसको परिणाम अत्यन्तै लाजमर्दो तथा आफन्तहरूलाई संस्थामा प्रवेश गराउन गरिएको बार्गेनिङ असफल भएको देखिन्थ्यो । लाप्राक र सचिवालयको काम सम्पन्न गर्नको लागि मेरो उम्मेदवारी भन्दै चुनाबी प्रस्तिस्पर्धामा जाने निर्णय गरेपछि कसैको केहि लागेन । अन्तत ः बिगत ४ बर्षसम्म एनआरएनएमा आफ्नो अमूल्य समय र श्रोत दिएका निबर्तमान अध्यक्षको सम्मानजनक बहिर्गमन हुन सकेन । उहांको आगमन र गमनलाई जसरी आए त्यसरी नै गए भनेर चर्चा चलाउन थालिएको छ । त्यसमा सायद दुरगामी सोचको अभाव भयो की कसैको बहकावमा लागियो त्यो घले दम्पतिले बुझ्ने कुरा हो ।

    भ्रष्टाचारको दल–दलमा एनआरएनए
    एनआरएनएको सम्मेलनताका नेपालको चुनाब भन्दा डरलाग्दो गरि जुन किसिमको बौलापन देखाएर उम्मेदवारहरुले खर्च गर्छन यसले कतै न कतै संस्थाभित्र भ्रस्टाचारको गन्ध दिदै गरेको आभास हुन थालेको छ भने यो कुसंस्कार विकास गर्न संस्थापक हरु नै प्रमुख जिम्मेवार रहेको यो पंक्तिकारको ठम्याई छ । किनकी सुरुवातका दिनबाट नै यस्ता किसिमका कार्यहरुलाइ प्रोत्साहन नदिइकन अर्काको आस नगरी आफैले नै खर्च गरि आफ्नो मताधिकार सुरक्षित गर्नु पर्ने खालको वातावरण बनाउन सकेको भएको आजको दिनमा आएर कुनै पनि सम्मेलनमा भाग लिनेहरुले कुन उम्मेदवारले मेरो पैसा हालिदिन्छ भनेर आस नै गर्ने थिएनन्, परिस्थिति यति धेरै बिकराल हुदै गयो कि तिर्नेहरु केहि सधै तिरी नै रहेका छन र आफु बसेकै देशमा थपक्क आफ्नो राष्ट्रिय समन्वय समितिमार्फत बुझाएर जान्छन भने कोहि चाही कोठीका वरिपरि ग्राहकको खोजीमा भौतारिरहेका हरुजस्तै गरेर जसले पैसा हालिदिन्छ उसलाई नै भोट हाल्छु भन्दै च्याखे थापी सम्मेलन स्थलमा दाउ खोज्दै हिड्छन त कोहि कमाउने मौकाको रुपमा प्रयोग गर्न खोज्छन । जसको प्रमुख दोषी एनआरएनएका नेताहरु नै हुन्।

    विभिन्न देशबाट आएका नेपालीहरुको लागि भोटको आशामा बग्रेल्ती खर्च गरेर चुनाब जितेकै अबस्थामा पनि त्यो खर्च उठाउने आधार के हो र कसरि त्यो पैसाको असुली हुन्छ अथवा गर्छु भनेर अन्धाधुन्ध खर्च गरिरहेका हुन्छन उम्मेदवारहरुले । यो सोचनीय बिषय छ । अर्कोतिर नयाँ कार्यसमिति आएपछि विधानको खिल्ली उडाउदै यसले गरेका मनोनयनहरु संस्था सुध्रिढीकरणको सोचले भन्दा पनि राजीनितिक पार्टीको भर्तीकेन्द्रको रुपमा बिकसित गर्ने कुण्ठित मनस्थितिले गरिएको देखिन्छ जुन बिषयमा अभियानलाई राम्रो संग बुझ्ने केहि ब्यक्तित्वहरुले खण्डन पनि गरिसक्नु भएको छ भने यसको प्रभाब केहि राष्ट्रिय समन्वय समितीहरुमा पनि परिसकेको अवस्था छ ।

    पछिल्लो समय एकपछि अर्को गर्दै संस्थाको बारेमा आएका नराम्रा खबरले संस्थाप्रति निस्वार्थ लगाब राखेका सम्पूर्ण नेपालीहरुलाई चिन्तित बनाएको अवस्था छ । दशबर्षसम्म संस्था दर्ता गर्न के साचिकै उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछानेहरुले नसकेकै हुन् या नचाहेकै हुन् त भन्ने प्रश्न पनि ऐले जनमानसमा गम्भीर रुपमा खडा भएको अवस्था छ भने, संस्था दर्तापछि शेष घलेको नेतृत्व र बिशेष सक्रियतामा सम्पूर्ण गैरआवासीय नेपालीहरुको पशिना समेटिएको सपना बनेर बसेको एनआरएनए भवन निर्माण सम्पन्न नहुदै आएका बिक्रिका कुरा, भूकम्प पिडितको लागि निर्मित लाप्राक बस्ति निर्माणका बिबिध कुरा अन्य बिचाराधिन अवस्थाका योजना र समग्र संस्था र रास्ट्रको अहितमा आएका कुराहरु को सत्य तथ्यको बिषयमा ऐलेको अध्यक्ष भबन भट्ट र कार्यसमितिले कुनै ढाकछोपको नियत नराखी छर्लंगसंग यथाशिघ्र सबैलाई बुझाउन अत्यन्त जरुरी छ । यसले समग्र संस्थाको धमिलिन खोजेको छविलाई संग्लो बनाउदै अझ बलियो बनाउन मदत गर्दछ ।
    अन्त्यमा, एनआरएनए जस्तो स्वयम् सेवी संस्थामा बसेर काम गर्छु भन्दा मानिसहरुको खिचातानी, रस्साकस्सी, पैसा र राजनैतिक शक्तिको प्रदर्शन धेरै मानिसहरुले नबुझेको कुरा हो भन्नु अत्युक्ति नहोला । पदमा जान पाए संसारै जिते जस्तो, नपाए आकासै खसेजस्तो मानसिकताले ग्रस्त मानिसहरु एनआरएनए विश्व सम्मेलनको आसपासमा यत्र तत्र भेटिन्छन् । आखिर यो सबै के का लागि ? राजनैतिक पृष्टभूमि र आर्थिक रुपमा सम्पन्न नहुने मानिसहरु यो संस्थामा अट्नै नसक्ने हो ? त्यसै हो भने एनआरएनएको स्थापित मान्यता अनुरुप यो अभियान धेरै अगाडि जानै सक्दैन । एनआरएनएलाई रंगी बिरंगी फूलहरुको रमणीय बगैचा जस्तो एउटा समावेसी चौतारी बनाउन सबै जिम्मेवार एनआरएनहरु सतर्क हुनु पर्छ र सोहि अनुसारको नीति नियम बनाउनु पर्छ अन्यथा संस्थाले लिएको उद्देश्य पूर्ति हुने देखिन्न त्यसैले यस बिषयमा हामी बेलैमा सतर्क हुनु जरुरी छ ।
    लेखक : एनआरएन जापानका सल्लाहकार हुन्

    ३५४० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad