BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    अाल्रम

    शेखर ढुङ्गेल, क्यालिफर्निया अमेरिकाबैशाख १, २०७५

    शेखर ढुङ्गेल

    मलाई हिजो मात्र ६०० मिलियन डलरको चिठ्ठा परेको, आज फेरि लसभेगासको क्यासिनोमा एउटा मशीन मा एक डलर घुसाएको त टुरुंग टुरुंग टुरुंग गर्दै ३३ डलर जितेको संकेत गर्यो । अब यसले दिन्न भनेर अर्को मशिनमा सरेँ । त्यसले भने १३ डलर खायो । अर्कोमा सरेँ ५९ झ्याम पार्यो । अर्कोमा सरेँ मशिनमा जितेको डलर थपिएको थपियाई टुरुंग टुरुंग टुरुंग टुरुंग …, अरु जुवाडेहरुले मलाई घेरिराखेका, कोही त मशिन बिग्रेको प्रतिक्रया दिदै थिए । मशिन अझै पनि रोकिएको थिएन, मेनेजर सेक्युरिटी गार्ड, मेरा सामुन्ने थिए । म त हिसाब नै गर्न न सक्ने भैसकेको थिएँ । शंकरजीलार्इ लिएर गएको थिएँ । उहाँलाई खोजेँ देखिन । फोन गरेँ लागेन । मलाई मल्टाई मिलियन डलर बिजेता घोषणा गरी मशिन बल्ल रोकियो । अब यत्रो पैसा के गर्ने के न गर्ने मनमनै योजना बनाउन थालेँ । गएको हफ्ता मात्र पनि ६ सय मिलियन डलरको चिठ्ठा परेको के भएको यस्तो उल्का अचम्म ?

    पहिलेको चिठ्ठाको खर्च गर्ने योजना बनाउँदै थिएँ, फेरि यो अपार सम्पति अर्को मिलियन डलरको चिठ्ठा परेर मलाई त के गरौ कसो गरौ भन्ने भयो । साथीभाइ अनि नेपालमा ठूला नेतालार्इ सरप्राइज दिने निधो गरेँ । गाउँ गाउँमा उद्योग स्थापना गरेर विदेशिएका सबै नेपालिहरुलार्इ स्वदेश फर्कन सूचना जारि गर्न आदेश दिएँ । अब केहि दिनमा सिधै नेपाल जाने र करोडौ खर्च गरेर नयाँ दल स्थापना गर्ने वा कुनै दललार्इ  करोडौँ दिने र समानुपातिक सांसद बन्ने अनि मन्त्रि बन्ने अनि देशका सबै विकृति विसंगतिलार्इ हटाउने योजना कल्पेँ ।

    सोच्दै थिएँ, देशमा जडिबुटीको उद्योग खोलेर अर्बौं डलर देशमा आउने काम गर्छु । भारतले नेपाललार्इ धेरै हेप्यो अब चिनलार्इ अनुरोध गरेर शक्तिशालि पानि लिफ्ट गर्ने मेसिन बनाउन लगाउने छु र देशको सबै नदिलार्इ तिब्बतको मरुभूमिमा बार्है महिना बर्षात गराई दिनेछु सबै नदीको पानि उत्तर फर्काइ दिनेछु  । 

    आफ्नो देश गरिब भएर त हो नि हामीलार्इ  इण्डियाले पनि हेपेका ? अब अमेरिका बेलायत यूरोपियनलार्इ नेपाल प्रवेसमा प्रतिबन्ध लगाई दिनेछु । समाज सेवामा लागेर खादा , प्रमाण पत्र , स्वागत , अभिनन्दन , फूलमाला पहिर्याउन लगाउने योजना बनाएँ । सबै दुःख सकिएर सुखको सागरमा बिष्णुले शेष नागमाथि विस्तरा लगाएर सुतेझैँ रिल्य्याक्स गर्ने दिन आए भनेर खुसीको आँशु तरर  बग्यो पनि ।

    कस्तो शुभ दिनमा निस्किएँछु घरबाट ? अब विस्वभ्रमणमा जाने सुर पनि कसेँ । के गर्ने के नगर्ने र दिमागले त काम गर्नै छोड्यो नि  ? म त एकाएक उडेर जन्मेको ठाऊँमा पुगेँछु । आफू हुर्केको बढेको पाखा बारिमा गाई गोठाला जाँदाका साथीभाइलाई भेट भयो । साथीहरु कोहीलार्इ नेताहरुलार्इ प्रशिक्षण दिने स्कुल खोल्न पैसा दिएँ । कसैलार्इ  सिभिक सेन्स कानुन बनाउन पैसा दिएँ । नेताहरु म बसेको होटलमा लाइन लाग्न थाले । कोही हाम्रो पार्टीमा आउनु पर्यो हजुर भन्न थाले त कोही पार्टी चलाउन गाह्रो भयो हजुरले नेतृत्व लिनु पर्यो भन्न थाले। म सबैसँग दिल खोलेर हाँस्दै भलाकुसारी गर्दै थिएँ ।

    कताबाट म दरवार मार्ग पुगेँछु । त्यहाँ धेरै खाल्डा खुल्डी रहेछन । पन्छिदै याक एण्ड यतितिर जादै थिएँ । अचानक मेरो खुट्टा हिलोमा जाक्कियो ऐया भनेर खुट्टो तानेको के थिए ब्युझिएँ  ।

    साला, आल्रमले ट्याँ ट्याँ ट्याँ गर्न बिर्सेछ आज ! यसो हेरेको त ब्याट्री सकिएको रहेछ । साला, सपना पो थियो एकछिन अगाडी चार्टर फ्लाइट गरेर नेपाल पुगेर नेताहरुलार्इ लाइनमा राखेर गफ दिइराखेको ? किरण भ्युझिएको के थियो, के गरौ र कसो गरौ भन्दै चिट चिट पसिना निकाल्न थाल्दछ ? कहाँ यो जिन्दगि सपना जस्तो हुन्थ्यो, कल्पेको जस्तो हुन्थ्यो ? अधिनमा नरहेको सपना र समय भन्दा पनि यो आल्रम शक्तिशाली छ । दाँ त माझौ कि दिसा पिसाब गरौ कि ? ब्रेक फास्ट बनाउकी ? नुहाउ कि, के गरौ के नगरौ भयो ? भर्खरको सपना मनको चोट र पिडा भएर मनमा बस्छ । पिडा हतास अभाब र कामको चिन्ताले दिमागमा साम्राज्य बनाउन सुरु गर्छ ।

    हुन त, आल्रमको ट्याँ ट्याँ नहुँदासम्मको सपनामा पहिले पनि किरणले देश न सम्झेको कहाँ हो र ? निन्द्रामा नै कतिवटा गीत समेत लेखेको छ । ती डाँडा, ती नदि, ती झरनासँग सपनामा खेल्न नपुगेको आखिर कहिले हो र ? कहिलेकाँही मनमा न उठेको होइन यो ट्याँ ट्याँ गर्ने घडीको ब्याट्री नै झिकेर फालीिदिन्छु तर पल भरमा ओठ फिसस गरेर हाँस्छ किरण । खैर ब्याट्री झिकेर समय रोकिन्थ्यो त ? निन्द्रा देवीको पासोभित्र रहुन्जेल सपनामा के के मात्र देखिन्छ, कति सुख कति सयल कति हाँसो कति रोमान्चक ? उफ ! व्युँझिने बितिकै आँखामा आँशु र चिन्ताको पहाडले थिच्छ ।

    आजको सपना अलि जोखिमपूर्ण भयो आल्रम नबजेको हुँदा । भर्खर एक हफ्ता मात्र भएको छ किरणले नयाँ काम र जिम्मेवारी पाएको । बिहान ६ बजे उसलाई पसल खोल्न पुग्नु छ । धेरै प्रयास र समस्या झेलेर पाएको यो नोकरी पनि गयो भने पलको आल्रम कसरि रोक्ने चिन्ता बढ्यो उसको । ५ः३० भैसकेको छ १५ मिनेट त गाडीमा जानु छ बाहिर हिउँ परेको छ । हिउँ सफा गर्न लाग्छ १० मिनेट, उफ्फ़ ! निस्सासिन्छ एक छिन, अनि धर्यता पुर्बक मुख समेत न पखाली एक गिलास पानी पिएर उ निस्कन्छ ।

    यो आल्रम सबैले सुन्ने गरी बज्ने आल्रम न हो अदृश्य आल्रामहरु । प्रत्येक कदममा मन मश्तिष्कमा बाजी नै रहेको हुन्छ । जिन्दगीको यात्रा आल्रम बिना सायद अपुरो पनि हुन्छ । हिउँ सफा गरेर गाडी अगाडि बढाउँछ किरण । उसको मनमा गुन्जिन्छ सानो छोरीले, “बाबा ! May we have this coming week , PLEASE   ? आउने हफ्ता  श्रीमतीलार्इ नयाँ डिजाइनको छड्के तिलहरी जसरी भए पनि चाहिएको छ कारण तिज नजिक आइ पुगेको छ । भएका गहना र कपडा फेसबुकमा प्रदर्शन भैसक्यो अब त्यही लगाएर पार्टीमा जाने कुरो पनि भएन  झन् यस पटक त समुहको नै गहना सारी चोलीको डिजाइन रङ्ग एक्कै बनाउने रे भिडियो बनाउने कार्यक्रम छ अरे ।

    घरको ३० बर्षे ऋण करार अझै २० वर्ष किस्ता तिर्न बाँकी नै छ । ऋण भन्दा बढी सेवा शुल्क कर अनि ब्याजमा जान्छ । आउने हफ्ताको तलब घरको किस्तामा चुक्ता जान्छ । गाडीको ऋण चुक्ता गर्न सकेको छैन । गएको हफ्ता समयमा बुझाउन नसक्दा थप १३० डलर जरिवाना थपिएर आएको छ । इन्सुरेन्सको बिल अटोमेटिक तान्छ बैंकबाट । क्रेडिट कार्ड को भुक्तानी, चामल, दाल, सामाजिक आडम्बर, फोनको बिल, पेट्रोल खर्च, खल्ती खालि मात्र होइन उल्टो परिसकेको छ र इन्टरनेट पनि काट्ने सूचना आइसकेको छ । तीन महिना बिरामी पर्दा किरणको आर्थिक अवस्था डामाडोल भएको छ अस्पतालाको इमर्जेन्सीको बिल अझै तिर्न बाँकी छ । उठ उठ मनुवा उठ तेरा चिल्ला गाला र गाडीको सेल्फी हालेको मूल्य चुकाउन उठ । ५ बज्यो उठ उठ उठ …

    सोच्दै गर्दा मुटुको धड़कनामा आल्रम बज्छ, मस्तिष्कको धमनीमा आल्रम बज्छ, स्वास प्रस्वासमा पनि आल्रम बज्छ ।।सम्हालिदै यहि दैनिकी व्यहोर्दै किरण पसलमा पुग्छ आधा घण्टा ढिला  भएको हुन्छ ढोकामा नियमित ग्राहकहरु लाइनमा हुन्छन् । सरि भन्दै उसले काम सुरु गर्छ । काममा आल्रम बज्छ । तेरो पसलमा यो पनि त्यो पनि महङ्गो । के हो  ? के छ सस्तो  ? एउटा सन्काहा जड्याहा कराउँछ । म छु सबैभन्दा सस्तो लैजाने हो ? एक पेनी मात्र हो मेरो मुल्य लाने हो ? जड्याहा भाग्छ, त्यस पछि ।

    आल्रमको घन्टीसँग सुमधुरता गाँसिएको पनि दशक भैसक्यो । यसैले सारा अल्छी पिडालार्इ धपाइदिन्छ र अरठ्ठीएको शरीरलार्इ सिधा बनाइदिन्छ र जुरुक्क उठाई दिन्छ । समयसँगै मानिसलार्इ अाल्रमसँग प्रेम बस्दोरहेछ । छान्ने सुबिधा पनि, कोही मोबाइलमा आल्रम राख्ने त कोही घडीमा त कोही विदुतीय घडीमा त कोही टिभी अनि कोही रेडियो क्यासेटमा पनि ।

    बेहोस भएर सुत्ने र आल्रमको घन्टीमा जुरुक्क उठ्नेमा जापानिजहरु पर्दछन क्यारे उनीहरु त ठूलो स्वरमा क्यासेट बज्ने सेटिङ्ग मिलाउँदा रहेछन् । यसरी नै अमेरिकामा किरणको दैनिकी यात्रा अगाडि बढिरहेछ आल्रमको साथमा आल्रमसंगको सहयात्रामा छ उ । आल्रम नै छ एउटा भरपर्दो मित्र जसले प्रत्येक बिहान इमान्दारितापूर्वक ठिक समयमा आफ्नो दायित्व निर्वाह गरिदिन्छ ।

    इति

    ८२८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad