BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    भिखारीले भिखारीसँग भीख माग्दैन

    खगेन्द्र संग्रौलाबैशाख ४, २०७५

    khagendra sangroula

    बिहानीको पहिलो प्रहर । सन्देशबाहक काग अग्घिनै मेरो घरअगाडि बिजुलीको लठ्ठामा बसिकेको छ । काग घरि धुमबराही अखाडातिर हेर्छ, घरि प्रेतमय पेरिसडाँडातिर । र, मानौ मलाई नै सुनाएझैं गरी भन्छ— हेर्दाहेर्दै, हिजोको आजै, तिलस्मी नाटकमा झैं पेरिसेहरु धुमबराही अखाडामा विलीन हुने भए । यसलाई म शुभ मानूँ कि अशुभ भनूँ ब्रो ?

    म खै के भनूँ यायावर, कौवा ? हेर्ने आँखामा हेर्नेको स्वार्थ लुकेको हुन्छ । आखिर यसलाई शुभ मान्ने वा अशुभ भन्ने त हेर्नेका स्वार्थको चरित्रले न हो ।

    अनि ज्यानको विचार ? कौवा सप्रेम मलाई करेकार गर्छ । क्रान्तिकारी इतिहासको नायक खलनायकमा पतीत भइरहेछ । यसलाई म कुन मुखले शुभ मानूँ कौवा ?

    बस्, बस् – कौवा हत्तपत्त सही थाप्छ । मेरो पनि विचार खसोखास यही हो, मान्यवर ! नायकको खलनायकमा पतनललाई म किन अशुभ नभनूँ ?

    गगनविहारी काग उडेर चारो खोज्न जान्छ । शून्यमा आँखा टोलाउँदै त्यसैत्यसै उदास मुद्रामा म पिँडीमा बसिरहन्छु ।

    मलाई थाहा छ, माकेका चाकरीप्रेमी नेता र चाकरीजीवी कार्यकर्ता मेरो कुरो मान्दैनन् । बरु तिनले मलाई सक्दो सराप्लान् । र भन्लान्— हेरिराख, एकतापछि पनि हामी आप्mनो सग्लो अस्तित्व देखाएरै छाड्छौं ।

    नापेर !

    जीवन लहडी लठ्ठकको मनचिन्ते कथा होइन । जीवन निर्मम छ । कठोर यथार्थका घटना र दुर्घटना, संयोग र दुर्योग एवं सम्भावना र सीमाले जीवनको नियतिको निधारण गर्छन् । अधोमुखी माकेको हकमा पनि सत्य कुरा यही त हो ।

    सम्झन्छु, अलि दिनअघि कृष्ण खनालले नाङ्गा आँखाले देखेझैं गरी कान्तिपुरमा लेखे- माकेका सर्वसाधारण कार्यकर्ता एमालेमा बिलाइसके । यहाँ खनालले भावनात्मक विलयका कुरा गरेका हुन् । अर्थात् भावलोकमा सर्वसाधारण माकेहरु एमालेमा घुलित भइसके । किन ?

    किनभने सानो भिखारीले ठूलो भिखारीसँग भीख माग्दैन । भीख सोझैं दाताको हैसियत भएका ख्वामित्सँग माग्छ । कथित एकतामा पुष्पकमल दाहाल उर्फ ‘प्रचण्ड’ ठूला भिखारी हुन् । माकेका कार्यकताहरु साना भिखारी । ख्वामित् उर्फ दाताको आसनमा खड्गप्रसाद ओली ऊर्फ केपी विराजमान छन् । केपीसँग पार्टीको सत्ता छ । केपीसँग पार्टी र सरकारका पदहरु छन् । केपीसँग धाक छ, रबाफ छ, तुजुक छ, अहंकार छ । पीकेसँग के छ ? आफ्नै नायकत्वको छायाँ रुपी खलनायक बनेका पीकेसँग केवल भीख माग्नलाई पसार्ने निरीह हात छ । निजसँग केवल दीनता छ । केवल हीनता छ । केवल केपीछेउ ठूला कुराको दाबी गर्नु र साना कुरामा ठेउलिनुको दुःख छ । अनि माकेका कार्यकर्ताहरु किन पीकेसँग अडुन् ? ती किन पीकेको पाउवरिपरि झुम्मिउन् ? ती किन पीकेको अगाडि हात पसारुन् ?

    कथित एकतामा केपी विशाल वटवृक्ष हुन्, पीके हुन् केवल ख्याउटे र सिक्रे पोथ्रो । जसले लटरम्म पात भएको वटवृक्षसामु हात पसार्छ, उसले हपहपी गर्मीमा शीतल पाउँछ, ह्वारह्वारे झरीमा ओत पाउँछ । जसले नाथे सिक्रे पोथ्रोसामु हात पसार्छ, उसले के पाउँछ ? उसले केवल आपूmजस्तै भिखारीको स्वत्वहीन र स्वाभिमानविहीन दृष्टि पाउँछ । उसले केवल आपूmजस्तै भिखारीको गिरेको नूर देख्न पाउँछ । उसले केवल आफूँजस्तै भिखारीको दयनीय दशाको नाटकीय दुर्गतिको चित्र नजर गर्न पाउँछ । अनि माकेका कार्यकर्ताहरु खुरुखुरु केपीछेउ हात पसार्न नगएर किन माकेछेउ अलपत्र परिरहुन् ?

    राजनीतिशास्त्रका पण्डित कृष्ण खनालले जे भने, ठीकै त भनेका हुन् !

    कथित एकतामा एमाले विशाल जलराशियुक्त र वेगवान् मूलप्रवाह हो । र माओवादी केन्द्र हो, अल्पजल र सुस्तगति भएको तुरतुरे भङ्गालो । प्रकृतिमा विशाल जलराशीको मूलप्रवाहमा सानो भङ्गालो मिसिँदा के हुन्छ ? त्यो मिलिक्कै मूलप्रवाहमा गाभिन्छ । छिनभरमै त्यसको इतिहास हराउँछ, त्यसको नाम मेटिन्छ र त्यो अनस्तित्वमा विलीन हुन्छ । मानव जीवनको नाटकमा पनि हुने यस्तै हो । तुरतुरे भङ्गालो विशाल मूलप्रवाहमा मिसिएर बिलाउँछ । माओवादी केन्द्र एमालेमा मिसिएर बिलाउँछ । यो पढ्दा एमालेजन मखलेल होलान् र माकेजन हिस्स पर्लान् । म भ तन्छु—एमालेजनको यो व्यर्थको मखलेल हो, र माकेजनको यो बेतुक हिस्स हो । नाथे एउटा भङ्गालो आपूmमा मिसिनु कुन ठूलो कुरा हो र मूलप्रवाह मखलेल हुनु ? भीर खोज्दै जाने दिग्भ्रमित बूढो गोरु भीरबाट मुन्टिएर शून्यमा बिलाउँदा वृध्द बयलगण किन हिस्स पर्नु ?सन्देशको शिकारी काग बिजुलीको लठ्ठामा बेसर मलाई सविनय सोध्छ—कथित एकतापछिको भीडमा पीकेको स्थान र हैसियत के होला ज्यू ?

    जबाफमा म के भनूँ ? सम्भावित कठोर यथार्थ कहँदा माकेगण मसँग रिसले चूर होला । माके महलका र छेउछेउका याचक मुद्राका बुद्धिजीवीका आँखीभूइँ गाँठा पर्लान् । तैपनि, कोही खुशी होस् वा रिसाओस्, सत्य त भनिनैपर्छ । कौवा ब्रो, ज्यानको जिज्ञाषाको जबाफ उतिसाह्रो प्रीतिकर छैन । एकतापछिको भीडमा माकेको स्थान र हैसियत के हुन्छ ? अरु के हुन्थ्यो ? स्थान र हैसियत पद्दु र पत्रु हुन्छ ।

    ध्यानमग्न कौवा मेरो भनाइको व्याख्या गरिमाग्छ ।

    म भन्छु— फिरन्ते ब्रो, भीडमा पीकेको स्थान र हैसियत माधवको जत्तिको पनि हुँदैन । निजको स्थान र हैसियत झलनाथ र वामदेवको जस्तो हुन्छ । कार्यकर्ताजति बलेको आगो ताप्न केपीको छत्रछायाँमा विलीन हुन्छन् । र, पीके गुटमा माके महलका दोस्रो तहका केही नेतामात्र बाँकी रहन्छन् । पीकेको न नेतत्व तहमा कुनै भाउ हुन्छ, न कार्यकर्ता तहमा कुनै मानमनितो हुन्छ । केपी त्रिशङ्खु अर्थात् शून्य आकाशमा तुन्द्रुङ्ग झुन्डिन्छन् ।

    कान थुन्दै काग भन्छ— बस्, पुग्यो ब्रो ! सुनिनसक्नु भो !

    यो ‘सुनिनसक्नु’ स्वेच्छिक पतनको फल हो, सोल्टी !

    ६४५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad