लुकेको छ झैँ स्वर्ग यो मृत्तिकामा
यहाँ स्वर्ग टुक्रा झरेको छ आमा
जहाँ बल्दछन् दीप झल्मल्ल पारी
उदाए यहीँ सूर्य घुम्टो उघारी
फुलेको छ चाँदी यता निर्झरीमा
र संगीत मीठो रचेको छ झर्ना
नदी नादमा लठ्ठिने त्यो मयूर
अहो स्वर्ग छोडी कहाँ जान्छ दूर
जहाँ स्वर्णका फूल फुल्छन् गरामा
छ मोती लुकेको कुना कन्दरामा
म मेची हुँदै पुग्छु काली किनार
र यो देश छोडी कतै हुन्न प्यार
यही भेष भाषा यहाँको रिवाज
छ प्यारो मलाई यहाँको समाज
अनेकौँ छ भाषा सयौँ जात जाति
सबै छन् मिलेरै बसेका तथापि
उँधौली उभौली र ल्होसार होली
तथा ईन्द्र जात्रा सँगै हर्ष खोली
यहाँ कृष्ण जन्माष्टमी मान्छ राई
र उल्लास साट्छन् सधैँ दाजुभाई
रमेको छ शेर्पा मनाएर होली
सदाचार भन्ने नयाँ रंग घोली
यता पूर्व नाच्दै छ है देउडामा
अहो दंग पर्छिन् रमाएर आमा
मिया दाइ हाम्रो दशैँ मान्न आए
र द्यौसी र भैलो सँगै ती रमाए
सबै पर्व यस्तै मिली मान्न पाऊँ
म यो देश छोडेर टाढा नजाऊँ
सबै धर्म भाषा मिली जात जाति
बसेको छु यो विश्वको माथमाथि
बगेको छ यो रक्तमा देश मेरो
मलाई छ प्यारो सधैं देश मेरो
इति
छन्द भुजङ्गप्रयात