BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    संभावना नै संभावनाको क्षेत्र कृषि

    प्रमेश पोखरेलबैशाख ४, २०७५

    pramesh pokhrel

    नेपालको कृषि परम्रागत छ र यसको सहि तवरले विकास हुन सकेको छैन भनीरहदा हामीले ध्यान दिनुपर्ने महत्वपूर्ण सवाल के भने नेपालको विकास र नेपालीको सम्मृद्धिको अत्यन्त महत्वपूर्ण आधार कृषिको विकास नै हो । यसकारण एक नभइ अनेक छन् । कृषिबाट नै नेपाल र नेपालीको द्रुत र सहज रुपमा समृद्धि हुन सक्ने कुरामा कुनै शंका छैन । कृषि नै लगभग दुई तिहाइ जनताको जिवीकोपार्जनको आधार बनेको संदर्भमा कृषि क्षेत्रलाई आम्दानी र रोजगारीको स्रोत बनाउन सके बहुसंख्यक जनताको जीवनमा तत्काल सकारात्मक परिवर्तन ल्याउन संभव छ । तर यसको मतलव ति सवैलाई कृषि पेशामा लगाउने वा कृषि बाहेकका विकल्प छैनन् भन्ने होइन । कृषिमा आश्रीत जनसंख्या घट्दो छ र पेशामा विविधता हुनु बलीयो अर्थतन्त्रको आधार हो । कृषिको विकास भनेकै कृषि उद्यम र मुल्य श्रृङखलामा ठूलो जनसंख्याको संलग्नता पनि हो ।

    यहाँ सवाल उठ्न सक्छ किन र कसरी कृषि नै हाम्रो विकासको सरल, कम लागतको र द्रुत उपाय हो भन्ने । यसको कारण के भने यो कुनै नयाँ र धेरै खर्चिला पुर्वाधार विकास गर्नुपर्ने क्षेत्र होइन । जनताहरु यो वा त्यो रुपमा यसमा संलग्न छन् । त्यसैले कृषिको विकासका लागि अन्य देशमा जस्तै बाह्य जनशक्तिलाई कृषिमा ल्याउनु पर्र्दैन । सामान्य रुपमा किसानका तत्कालिक समस्या समाधान गर्ने र दिर्घकालिन रुपमा कृषिलाई रोजगारी र आम्दानीको क्षेत्रको रुपमा विकास गर्न पहल गरे केहि वर्षमै यसले काँचुली फेर्न सक्छ । साथै यसका अन्य पुर्वाधार बजार, यातायात, संकलन, भण्डारण र प्रशोधन उद्योग आदीको विकासहुँदै गर्दा यसले कृषिको विकसलाई टेवा पुग्दछ । त्यति मात्र होइन पर्यटन, उद्योग लगायतका हरेक क्षेत्रको विकासले कृषिको विकासलाई टेवा पुग्दछ भने कृषि विकासको कार्य पनि ती सवै क्षेत्रको विकासको आधार बन्दछ ।

    प्राकृतिक सम्पदाको बरदान भएको नेपालमा अनेकन विश्वमा दुर्लभ कृषि उत्पादन र जडिबुटिको संभावना छ । जैविक विविधताको अनुपम सौंदर्य छ । कृषि पर्यटन, उद्यमशिलता, अध्ययन अनुसन्धानको समेत यसले महत्व राख्दछ । नेपाल सभावना नै संभावना भएको देश हो । सानो क्षेत्रफलभित्र पनि संसारका सबै किसिमका जलवायु, अनेकन जैविक विविधता र प्रचुर पानीकोे सौभाग्य हामीसँग छ । पानीको अभाव भएको र जमिनसमेत प्रचुर नभएको ठाउमा समेत कृषिको विकास भएको अवस्थामा हामी साच्चै सहज परिस्थीतिमा छौं ।

    जलवायु र भूधरातलीय विविधताका कारण विश्वका अन्य ठाउँमा उत्पादन गर्न नसकिने वा दुर्लभ खाद्य बस्तुको यहाँ उत्पादन गर्न सकिन्छ । यसबाट हामीले तुलनात्मक लाभका, दुर्लभ, स्वाथ्यबद्र्धक तथा प्राङगारिक उत्पादनको फाइदा लिन सक्छौं । यी बस्तुको बजारमा कम प्रतिस्पर्धा हुने हुनाले मुल्य समेत बढी प्राप्त हुन्छ । पहाड र हिमाली क्षेत्र उत्पादनका लागि चुनौति होइन संभावना हुन् । नेपालको भौगोलिक स्थिति अनुरुपको तुलनात्मक लाभका उत्पादन गरिनु नै कृषि विकासको आधार हुन सक्छ । पहाडिया र हिमाली भेगको खेति पर्यटनको पनि आधार हो । पहाडमा कृषि पर्यावरणीय तथा प्राङगारिक खेतिको लागि विशिष्ट लाभ छ । जैविक प्राङगारिक खेति मार्फत नगदे वाली, जडिबुटि, फलफुल तथा तरकारीको नेपालमा अत्यन्त ठूलो संभावना छ । हिमाली र पहाडी भुभाग पशुपन्छीपालनको अत्यन्त महत्वपूर्ण आधार बन्न सक्छ ।

    नेपालमा फलफुल र जडीबुटी खेतिको ठुलो संभावना छ । यो आजसम्म हामीले कम ध्यान दिएको क्षेत्र पनि हो । हामीले फलफुललाई समेत महत्वपूर्ण खाद्यान्नको रुपमा लिएमा यसले षोषणमा ठूलो सुधार ल्याउन तथा देशका बाझो भएका, खेर गएको जमिनको उपयोग गर्दछ । खेतवारीका ढिक, आलि, पाखो पखेरा आदीमा घाँस लगाउनाले हरियाली, स्वच्छता तथा आर्थिक समेत लाभ लिन सकिन्छ । यसले पशुपालनलाई समेत प्रवद्धन गर्दछ । यो खाद्य सुरक्षा र आम्दानीको हिसावले पनि निकै महत्वपूर्ण छ । तर यसमा हाम्रो ध्यान जान सकेको छैन । नदी, पोखरी र ताल तथा चिसो पानीमा पाइने माछा विश्वमै मुल्यवान् छ । तर हामीले व्यवसायिक रुपमा यसको विकास गर्न सकेका छैनौं । कृषिलाई व्यवसायिता तर्फ नलगी तथा यस पेशामा आधारीत जनसंख्यामा विशिष्टीकरण नगरेसम्म हाम्रो अर्थतन्त्रमा सुधार आउन सक्दैन । त्यसैले कृषिमा आश्रित जनसंख्या अन्य विकल्पको विकाससँगै घट्दै जान्छ र घट्नुपर्छ । कृषिमा आधारीत अर्थतन्त्र परम्परागत समाजको विशेषता हो । नयाँ प्रविधि, व्यवसायिक सोच तथा अतिरिक्त उत्पादनले मात्र यस क्षेत्रको मुहार फेर्न सक्दछ ।

    पहाडी कृषि, मिश्रीत र पारिवारिक कृषि नेपालको लागि समस्या होइनन् संभावना हुन् । अहिले संसार यसतर्फ नै मोडिदै छ । नेपालको सामाजिक र सांस्कृतिक परिवेश पनि कृषिका लागि अति उपयुक्त छ । हाम्रा संस्कार, चाड र परम्परागत संस्थाले कृषिको विकासलाई सहज बनाउछ । हामीसँग विउका अनेकन प्रजाति छन् । पशुपन्छीका थुप्रै नश्ल छन् । यसबाट तुलनात्मक फाइदा लिन तथा आनुवंश सुधार गर्न सहज बन्दछ । एकै बाक्यमा भन्दा हामी विउ उत्पादनबाट विश्वमा परिचीत हुन र आम्दानी गर्न सक्छोैं ।

    कृषिको विकासका लागि ठुला योजना, अरवौ लगानी वा कम्पनी खोज्नु पर्दैन । यदि प्रयाप्त तलव र आम्दानी हुने हो भने हामीसँग भएकै कृषिमा जानकार जनशक्ति देशमा पाइन्छ । देशलाई आत्मनिर्भर बनाउन र अरवौंको आयात प्रतिस्थापन गर्न हामीले जस्तै सहज अरुलाई हुँदैन । हामीले इजरायलको मरुभुमिमा कृषिको विकासको कुरा सुनेका छौं । थुप्रै देशमा स्याउ नफल्न सक्छ । मसला उत्पादन नहुन सक्छ । तर हामीले मुख्य रुपमा प्रयोग गर्ने धेरै खाद्यान्न यही उत्पादन गर्न सकिन्छ । आत्मनिर्भर कृषिले पनि नेपालको अरवौं व्यापार घाटा कम गर्न सक्छ ।

    त्यसलै हाम्रो दृष्टिकोणलाई बदलौं । जैविक प्राङगारिक कृषि, पर्यावरणीय कृषि, पारिवारिक कृषि, बहुवाली कृषि, पहाडीय तुलनात्मक लाभको कृषि हाम्रा सवल पक्ष हुन् । यसलाई बदल्ने दुष्प्रयत्नले नै हाम्रो कृषि भताभुङ्ग भएको हो । कृषि बन, कृषि पर्यटन, कृषि अनुसन्धान लगायतका क्षेत्रमा हामीमा ठुलो संभावना छ । विउको सुधार र विकास, पशुपालन, कृषि उत्पादनका सामान्य परिकार, कृषि उद्यमशीलता आदी कुरामा ध्यान दिए कृषिबाट हामी समृद्धीको यात्रामा सजिलै अगाडी बढ्न सक्छौं । त्यसैले जहाँ सजिलै गर्न सकिन्छ र संभावना छ त्यसमा ध्यान दिई लगानी र कार्यक्रम ल्याउने नगरेमा बेकार लगानी र प्रयास खेर जान्छ भन्ने पाठ सिकेर अव संभावनाको क्षेत्रमा केन्द्रित हुन आवश्यक छ ।

    लेखकः  किसान अधिकारकर्मी हुन् ।

    ११७० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad