BizPati

  • आज : २०७६ आषाढ ११ गते
    Headlines :

    भनिदेउन प्रिय, तिमि को हौ, कहाँ छौ ?

    पुरुषोत्तम ढकाल आश्विन १०, २०७३

    purushotam-dhakal

     

    जान्दिन म तिमीलाई
    को हौ तिमि ज्ञात र ज्ञान पनि भएन मलाई
    आखिर को हौ तिमि?
    मैले कहिल्यै सोधिन र खोजिन पनि
    आखिर यो मात्र मोहनी होकी? सम्मोहन वा समाधिको एउटा यात्रा,
    हेक्कै रहेन मलाई तिम्रो दर्शनभेटको त्यो तिथि, मिति र पल
    निर्मल जल जस्तै मिठो, ठिहीको ताप जस्तै पोषिलो
    भूगोलको खण्ड-खण्ड फलिरहने फुलिरहने र झुलिरहने
    नदीको छाल जस्तै मथिएको मन्थन
    तर निराकार तिमि ।

    सुर्योदय जस्तै
    तिम्रो दर्शनाभिलाशी थिइन भन्दिन म
    मैले हेर्नु-नहेर्नु फगत मेरो भ्रम
    तिमि नित्य उदाउछौ र अज्ञात कुनै पल म भित्र उदाएछौ
    मेरो मन मन्दिरमा उदाएछौ
    र त्यो तिम्रो पहिलो दर्शनमै डुबुल्कीमार्न पल्केको म
    असहज हुनुपर्ने थियो स्वास प्रस्वास डुब्ने नियतिमा
    तर मेरो यो पल, स्वर्णिम आनन्दको मोक्ष भावमा, निरन्तर निराकार
    गहिरो-गहिरो सागरमा नित्य डुबिरहेको छु
    यो तिम्रो दर्शन मृगतृष्णा पनि होइन रहेछ
    चिमोटेर-निमोठेर, तन-मन
    ब्युझाएको छु मेरो म
    जिन्दगीको यो सप्तरंगी इन्द्रेणीसंगै
    गहिरो, झन् गहिरो-गहिरो प्रेम सागरमा बहदै नित्य डुबिरहेको छु
    थाहा छैन तिमि को हौ, के हौ
    उदाएको हेक्का छैन, अस्ताउने कसरी
    निरन्तर, स्वर्णिम आनन्दको अनुभूतिले
    डुबिरहेको, पग्लिरहेको र बहिरहेको मेरो जिन्दगी
    तिम्रो दर्शनको दर्शनाभिलाशी
    जहाँ, आफै हराएर, पाउदछु सर्वत्र
    यतै, कतै तर सर्वत्र छौ, निराकार तिमि
    भनिदेउन प्रिय, तिमि को हौ, कहाँ छौ ?
    २५ सेप्टेम्बर, २०१६

    ६०४ पटक
    प्रतिकृया दिनुहोस्