२५ जेठ, काठमाडौँ । मुलुकको आर्थिक रूपान्तरण हासिल गर्न साना तथा घरेलु उद्योगको विकासमा जोड दिइएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २९ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित अन्तक्र्रियामा सहभागी वक्ताले आर्थिक रूपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधारस्तम्भ लघु घरेलु तथा साना उद्योग भएको बताउँदै नीतिगत प्रष्टताको खाँचो औंल्याएका छन् ।
अर्थविद् डा।चन्द्रमणि अधिकारीले नीति निर्माण एक जीवन्त प्रक्रिया भएको बताउँदै अर्थ राजनीतिक परिवेशअनुरूप लघु घरेलु तथा साना उद्योगसम्बन्धी नीतिहरू थप प्रष्ट एवम् नियमित रूपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरू आर्थिक रूपान्तरणको संवाहक हुन सक्ने बताए ।
व्यवसायी डा पुष्पराज राजकर्णिकारले नीतिगत स्पष्टताको अभावका कारण लघु घरेलु तथा साना उद्योगको विकास हुन नसकेकामा चिन्ता व्यक्त गर्दै देशको आवश्यकताअनुसार नीति परिमार्जित गरिनुपर्नेमा जोड दिए ।
महासंघका सल्लाहकार लता प्याकुरेलले मुलुकभर रहेका लघु घरेलु तथा साना उद्योगीहरूको छाता संगठन महासंघ यस्ता उद्योगहरूको हक र हितको संरक्षण र सम्बद्र्धन गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धनमार्फत मुलुकलाई औद्योगिककरणतर्फ उन्मूख गराउने बताए ।
केन्द्रीय महिला उद्यम समितिका सभापति अञ्जु उपाध्याय, उद्यमी इन्दिरा श्रेष्ठ, महेश अग्रवाल, व्यवसायी आङदेण्डी शेर्पा, सुरेश प्रधान, उपाध्यक्ष विष्णुबहादुर लुईटेललगायतले देशका विभिन्न ५८ जिल्लामा जिल्ला महिला उद्यमी समितिको विस्तार भई ११ हजारभन्दा बढी महिला उद्यमीहरू सदस्य रहेको केन्द्रीय महिला उद्यमी समिति पनि महासंघमा क्रियाशील रहेको जानकारी दिए । महासंघमा करिब ३५ हजार उद्यमी साधारण सदस्य छन् । (रासस)
वि.सं.२०७५ जेठ २५ शुक्रवार १९:२६ मा प्रकाशित