
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकले संगठनको १२ औं महाधिवेशनको मिति घोषणा गरेको छ ।
संघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा राजधानीमा बसेको भनिएको बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपूरमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा १००१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको छ भने उनकै संयोजकत्वमा नियमावली तयारी समिति गठन गरिएको छ। समितिले ५ दिनभित्र नियमावली तयार पार्नुपर्नेछ ।
यस्तै अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीको संयोजकत्वमा महाधिवेशनबाट पारित गर्ने नीति तथा कार्यक्रम समिति गठन गरिएको छ भने उपाध्यक्ष नविन राईको संयोजकत्वमा विधान मस्यौदा तयार गर्न विधान समिति गठन गरिएको केन्द्रीय सदस्य आरसी भट्टराईले जानकारी दिए ।
बैठकले अध्यक्ष नैनसिंह महरले विधि, विधान विपरित गरेका मनोनयन खारेज गरेको घोषणा समेत गरेको छ । विधान बमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमतबाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको भट्टराईले जानकारी दिए ।
महाधिवेशन सम्पन्न गर्नका लागि नेविसंघले साउन ३ देखि मतदान नहुँदासम्मको लागि कार्यतालिका समेत तय गरेको छ ।
वि.सं.२०७५ असार २७ बुधवार १९:५९ मा प्रकाशित