समय आफैँलाई नङ्ग्याउन थालेको छ अचेल
विज्ञान र प्रविधिले उत्कर्ष लिइरहेको बेला
ज्ञान र चेतनाले आफ्नो इतिहास कोर्ने जमर्को गर्दा
मानिस विश्व मानवताको पाठ सिक्न तल्लीन रहँदा
समयले स्वयंलाई नङ्ग्याउन थालेको हो ।
आफ्नै अन्नजल र जीवन प्रदायिनी प्रकृतिलाई
आफू वैभवपूर्ण जीवन बाँच्ने प्रयासमा
बेच्ने प्रयास गरेर
निर्लज्जतापूर्वक
आफैँलाई नङ्ग्याइरहेको छ अचेल ।
हजारौँ निर्दोष बालबालिकाको चिहान खन्दै
आँखै अगाडि ओत र भरोसाको धरोहरलाई तहस नहस पार्दै
बालबालिका र बुबाआमालाहरुलाई रगतको आँसुमा चुर्लुम्म डुबाउँदै
विश्वलाई मानवताको पाठ पढाउने
गरिब र बालकका आँसुले द्रवित भएको स्वाङ पार्ने
आफैँलाई निर्लज्जतापूर्वक
‘युद्धविरोधी’ युद्ध गरी
आफैलाई नङ्ग्याइरहेको छ अचेल ।
नागरिकलाई सुख र सुविधाको सपना देखाउने
मानवताले तोकेका सीमारेखाहरुको पर्वाहै नगरी
जनताको आस्थाको धरोहर
जनताका दुश्मनहरुको लहैलहैमा
कसैको घर भत्काएर आफ्नो महल ठड्याई
भविष्यलाई खण्डहरमा रुपान्तरित गर्न
लाजै पचाएर
आफैँलाई नङ्ग्याइरहेका छन् अचेल ।
सामन्ती समयले हेपेको र लछारेको
हिजो दासी र अबला भएको कुँडिएको मनस्थितिमा
अहिले स्वतन्त्र हावा चलेको बेलामा समेत
हावा रोकिदिएको ठानी
आँखै अगाडि फैलिएको क्षितिजमा
सीमाहीन स्वतन्त्र उडान भर्न पाएको उन्मादमा हो वा नपाएको झोँकमा
आफैँलाई नङ्ग्याइरहेका छन् अचेल ।
मानव भएर बाँच्न नपाउँदै
जाति भएर बाँच्न चाहने
कुलीनहरुको खण्डित आदर्श पूरा गर्न
विश्वबन्धुत्वको बसन्त छाएको यो बेला
मानिसलाई सीमाहरुमा कैद गर्न
निर्माण गर्ने सिकर्मी हातहरुलाई अस्त्र बोकाउन
निर्लज्जतापूर्वक –
आफैलाई नङ्ग्याइरहेका छन् अचेल ।
इति
वि.सं.२०७५ भदौ ३ आइतवार ११:१९ मा प्रकाशित