back

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, कार्यसमिति १५१ बनाउन सुझाव

वि.सं.२०७५ भदौ २८ बिहीवार

522 

shares


२८ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टीको आन्तरिक साङ्गठनिक संरचना तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यरुपमा पार्टीको केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने कार्य सूची रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यसबाहेक मुलुकको समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ ।

यसअघिको केन्द्रीय कार्यसमिति बैठकमा नै अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन गठन गर्ने भनिएपनि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति हुन नसक्दा गठन हुन सकेको थिएन । संस्थापन पक्षले अनुशासन समितिको संयोजकमा केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेलाई जिम्मेवारी दिने तथा सदस्यमा वीरबहादुर बलायर र किशोरसिंह राठौरलाई तोक्ने तयारी गरेको बुझिएको छ । अनुशासन समितिको संयोजकमा वरिष्ठ नेता पौडेल पक्षको पनि दावी रहेको बुझिएको छ ।

पार्टी विधानको दफा २९ मा केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । विधानअुनसार केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी (सभापति, उपसभापति, दुई महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र प्रवक्ता) पदेन सदस्य हुन्छन् । यसबाहेक केन्द्रीय कार्यसमितिले आफूमध्येबाट बढीमा २२ सदस्य चयन गर्ने विधानमा व्यवस्था छ । विधानअनुसार केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्नुपर्ने काम कार्यसम्पादन समितिले गर्नेछ ।

यसअघि पार्टीले गठन गरेको केन्द्रीय कार्यसम्पादन समिति विधान विपरीत भएको भनी आलोचना भएपछि विघटन गरिएको थियो । विधानको दफा ३३ मा केन्द्रीय अनुशासन समिति गठनको व्यवस्था छ । विधानअनुसार अनुशासन समितिमा एक संयोजक र चार सदस्य रहन्छन् ।

केन्द्रीय समिति १५१ सदस्यीयसम्म बनाउने सुझाव

पार्टीको विधान समयानुकूल परिमार्जनका लागि प्रारम्भिक मस्यौदा तयार गर्ने क्रममा काङ्ग्रेसको केन्द्रीय कार्यसमिति ११० देखि १५१ सदस्यीयसम्म बनाउन सुझाव आएको छ । त्यस्तै आठ तहका पार्टी संरचना बनाउने गरी काङ्ग्रेसले विधान संशोधन मस्यौदाको तयारी गरेको छ ।

केन्द्रीय समितिमा पदाधिकारी निर्वाचित वा मनोनीत दुवै विकल्पका बारेमा समेत छलफल अघि बढेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । सङ्घीय संरचनाअनुसार पार्टीका सङ्गठनात्मक संरचनालाई पुनःसंरचना गर्न काङ्ग्रेसले विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा यही भदौ ७ गते पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

समिति गठन भएयता आफ्नो कार्यविधि स्वीकृत गरी विधान संशोधनका आधार तय गर्नुका साथै पार्टीका विभिन्न निकाय, भ्रातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिलगायत सरोकारवालाबाट सुझाव लिइसकेको छ । काङ्ग्रेस नेता एवं विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले समितिले प्रारम्भिक मस्यौदालाई तीन दिनभित्र एकीकृत गरी प्रदेशस्तरको छलफलमा लैजाने बताए । “केन्द्रीय कार्य समितिको सङ्ख्याका बारेमा प्रारम्भिक चरणमा विकल्पसहित मस्यौदा गरिरहेको छौँ, उनले भने ।

प्रदेशस्तरमा अन्तक्र्रियापछि प्रारम्भिक मस्यौदामा प्राप्त सुझावका आधारमा अन्तिम मस्यौदा तयार गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पेश गर्ने नेता लेखकले बताए । मुलुकको नयाँ संरचनाअनुसार काङ्ग्रेसले वडा तहभन्दामुनि बुथ, वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश, केन्द्र तहसम्मको संरचना र केन्द्रीय समितिभन्दा माथि महाधिवेशन तथा महासमिति रहने गरी पार्टी संरचना बनाउने बारेमा छलफल जारी रहेको उनले बताए ।

समितिले संशोधन मस्यौदालाई थप व्यवस्थित बनाउन केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरको संयोजकत्वमा संरचनासम्बन्धी, डा मीनेन्द्र रिजालको संयोजकत्वमा कार्य विभाजन र मानबहादुर विश्वकर्माको संयोजकत्वमा अन्य निकाय तथा आन्तरिक व्यवस्थापनसम्बन्धी उपसमिति गठन गरेको थियो । तीन उपसमितिले आफ्नो जिम्मेवारीअनुसारको मस्यौदा तयार गरी मूल समितिमा बुझाइसकेका छन् । समितिले प्रारम्भिक मस्यौदामा पहिलो चरणको छलफल गरिसकेको नेता लेखकले जानकारी गराए । बुधबार मात्र समितिले पार्टी सभापति शेरबहादुर देउवा, पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसँग उक्त मस्यौदामाथि छलफल गरेको थियो । उनीहरुले त्यसमा सैद्धान्तिक राय प्रस्तुत गरेको पार्टी कार्यालयले जनाएको छ ।

यही भदौ ९ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले विधान संशोधनका लागि महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ सम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

वि.सं.२०७५ भदौ २८ बिहीवार १४:३७ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी...

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

दमौली (तनहुँ) ।नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने...

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको...

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि...

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

नवलपुर । देवचुली नगरपालिका नवलपुरमा राहात दरबन्दीमा कार्यरत एक शिक्षिका...