६ असोज, काठमाडौँ । यस वर्षको कृषि रत्न पुरस्कार विभिन्न क्षेत्रका सात जनालाई प्रदान गरिएको छ ।
एग्रो टाइम्स मासिक पत्रिकाको छैठौँ वर्ष पुगेको अवसरमा आज रोहित थापा, घननाथ महत्तो, अम्बिकाप्रसाद अधिकारी, रीता बस्ताकोटी, अजय तामाङ, योगेन्द्रबहादुर खड्का र उमानाथ पौड्याललाई प्रदान गरिएको छ ।
प्रदेश नं ३ दोलखाकी सांसद रोशनी खड्काले उनीहरूलाई सम्मान गर्दै कृषिको दिगो विकासले मुलुकको अर्थतन्त्र बलियो हुने बताइन् ।
कार्यक्रममा कृषि तथा पशुपछी विकास मन्त्रालयका सहसचिव डा योगेन्द्रकुमार कार्कीले कृषि र कृषकका बीचमा पत्रिकाले पुलको काम गरेकोमा खुशी व्यक्त गरे ।
किसानको आकर्षण खुमल–४ धानप्रति
नेपालमा सबैभन्दा बढी किसानले लगाउने खुमल–४ जातका धानको बीउमा विभिन्न किसिमका समस्या देखिए पनि किसानको आकर्षण कम भएको छैन ।
चामल र पराल दुबै नरम र धेरै उत्पादन हुने गुणका कारण किसानले खुमल–४ नै रोप्न चाहने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ ।
केही वर्षदेखि नार्कले किसानलाई मसिनो चामलमा खुमल–१० सिफारिस गरे पनि उनीहरुले खुमल–४ नै खोज्ने गरेको बाली विज्ञान महाशाखामा कार्यरत वैज्ञानिक राजेन्द्र भट्टराईले बताए ।
खुमल–४ मा रोगले बढी आक्रमण गरेकोले यहाँबाट खुमल– १० मा जोड दिइएको हो । उनले भने, “खुमल–४ प्रति किसानको जुन विश्वास छ, त्यसैले अर्को रोप्न चाहादैनन् ।”
खुमल–४ लाई नार्कले विसं २०४४ मा सिफारिस गरेको थियो । तीन दशक नाघ्दासमेत यही जात किसानको पहिलो रोजाइँ बनिरहेको छ । धेरै फल्दा बोट नढल्ने र सुख्खा सहने गुण यो जातमा पाइन्छ । उनले भने, “घीउ हालेजस्तै मीठो भात हुन्छ, भन्दै किसान यही माग गर्छन ।”
कुनै पनि बीउ लामो समयसम्म लगाउँदा त्यसमा भएका गुण विस्तारै हराउँदै जाने र रोगले चाँडो आक्रमण गर्ने वैज्ञानिक भट्टराईले बताए ।
खुमल–४ ले खुमल–१० भन्दा प्रतिहेक्टर एक टन भन्दा बढी उत्पादन दिन्छ । खुमल–१० प्रतिहेक्टर झण्डै पाँच टनसम्म उत्पादन दिन्छ । खुमल–४ ले औसत छ टन उत्पादन दिन्छ । उनले भने, “किसानले धेरै खालका गुण खोज्ने भए पनि सबैभन्दा बढी उत्पादन दिने जात नै रुचाएको पाइन्छ ।’
बाली वनस्पति महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली लामो समययदेखि खुमल–४ न्यूनतम मापदण्डका रुपमा रहेको बताए । महाशाखाले मध्यपाहाडका लागि धानको नयाँ बीउ विकास गर्दा कम्तीमा खुमल–४ बराबर गुण हुनु आवश्यक मानिन्छ । कुनै पनि बीउले कति उत्पादन दियो भन्दा खुमल–४ बराबर छ, वा छैन भन्ने हेरिन्छ । सुख्खा सहने, रोग प्रतिरोगी क्षमता र ढल्ने वा नढल्ने र पराल कस्तो हुन्छ भन्ने त्यही मापण्डलाई आधार बनाएर अध्ययन गरिन्छ ।
वि.सं.२०७५ असोज ६ शनिवार २०:२२ मा प्रकाशित