८ असोज, काठमाडौँ । दशैँका लागि अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुल्ला भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले मंगलबारदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको हो ।
यसअघि नै सरकारले असोज ५ गते देखि नै दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सार्वजनिक गरेको भएपनि व्यवसायीहरुले पेट्रोलियम पदार्थ बढेको भन्दै भाडा बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै आफ्ना माग सरकारले पुरा नगरेसम्म टिकट खुल्ला नगर्ने अडान राख्दै आएका थिए । व्यवसायीहरुको अडानपछि आइतबार सरकारले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । यससँगै यातायात व्यवस्था विभागले नयाँ भाडा दर सार्वजनिक गरेको छ ।
दशैँ नजिकँदै जाँदा अग्रिम टिकट बुकिङ खुल्ला नहुँदा दशैँ मनाउन घर फर्कनेहरुमा अन्यौलता देखिएको थियो । दशैँ मनाउन काठमाडौँबाट झण्डै १२ लाख राजधानीबासी गाउँ फर्कने गर्दछन् ।
वि.सं.२०७५ असोज ८ सोमवार १५:३६ मा प्रकाशित