१० असोज, काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्याबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिले गुपचुपमा प्रतिवेदन बुझाएको छ ।
समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई बाहिरै राखेर समिति संयोजक हरिप्रसाद मैनालीले गृहमन्त्री राम बहादुर थापालाई बुझाएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
प्रतिवेदनमा प्रहरीका कमजोरी औल्याइएको श्रोतले जनाएको छ । प्रतिवेदनले गम्भीर प्रकृतिका घटनामा तत्कालै प्रहरीले ‘एक्सन’ नलिँदा ठूलो रुप लिएको उल्लेख छ । समितिका एक सदस्यले भने, ‘निर्मला बलात्कारपछि हत्याको अनुसन्धानमा तत्कालीन कन्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टले चासो नदेखाउनुले घटनाबारे पूर्वजानकार रहेको हुन सक्ने आशंका व्यक्त गरिएको छ ।’
विष्टमाथि अनुसन्धान गर्दा थप प्रमाण फेला पर्नेमा ढुक्क हुन सकिने समितिले यकिन गरेको छ ।
वि.सं.२०७५ असोज १० बुधवार ०७:४० मा प्रकाशित