१० असनेज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मुलुकभर शान्ति सुरक्षाको अवस्था खस्किएको, अपराधी राज्यभन्दा बलिया भएको हुने प्रवृत्तिको नियन्त्रण गर्न सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
सभाको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले शक्तिशाली सरकार भए पनि देशभर नागरिक असुरक्षामा बस्नुपरेको र राज्यको उपस्थिति देख्न नपाइएकामा सरकारको आलोचना गरेकी थिइन् । कञ्चनपुरको १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन् ।
सांसद देवकोटाले सरकारले जनअपेक्षालाई सम्बोधन गर्न नसकेकामा गुनासो गर्दै नागरिकलाई राज्यको अनुभूति गराउन माग गरिन् ।
यस्तै सांसद कमलाकुमारी ओलीले चाडबाडको समयमा चिनीको मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिन् । सार्वजनिक यातायातमा एकाधिकारको अन्त्य भए पनि व्यावहारिक रूपमा त्यस्तो नभएको भन्दै सरकारले प्रभावकारी काम गर्न नसकेको बताइन् । सांसद उदया शर्मा पौडेलले प्राकृतिक उपचार प्रणालीको विकास र विस्तारमा जोड दिन माग गरेकी थिइन् ।
वि.सं.२०७५ असोज १० बुधवार १७:०८ मा प्रकाशित