
१४ असोज, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनाको व्यापार घाटा सवा दुई खर्ब भन्दा बढी पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकका अनुसार भदौ महिनासम्म वैदेशिक व्यापारघाटा २ खर्ब १७ अर्ब ६४ करोड ७५ लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५ दशमलव ७४ प्रतिशतले व्यापारघाटा वृद्धि भएको हो । गत आर्थिक वर्षको भदौ महिनासम्म व्यापारघाटा १ खर्ब ४९ अर्ब ३४ करोड २९ लाख ६ हजार रुपैयाँ थियो ।
भदौ महिनामा विभिन्न देशहरुबाट २ खर्ब ३२ अर्ब ३४ करोड ६६ लाख १२ हजार रुपैयाँको वस्तु तथा सामान आयात भएको भन्सार विभागले जनाएको छ । अघिल्लो वर्षको तुलनामा ४२ दशमलव ५९ प्रतिशतले आयातमा वृद्धि भएको हो । आर्थिक वर्ष २०७४÷७५ मा १ खर्ब ६२ अर्ब ९४ करोड ९१ लाख ४४ हजार रुपैयाँको सामग्रीहरु विभिन्न देशहरुबाट नेपाल भित्रिएको थियो । यस अवधिमा सबैभन्दा धेरै अर्थात कुल आयातको ३५ दशमलब ७१ प्रतिशत पेट्रोलियम पदार्थको आयात भएको छ । यस्तै दोस्रो नम्बरमा फलाम तथा स्टीलजन्य सामाग्रीहरु आयात भएको छ । दुई महिनाको अवधिमा कुल आयातको २५.६७ प्रतिशत स्टील तथा स्टील जन्य सामाग्री आयात गरिएको छ । यस्तै अन्य धेरै आयात हुने सामाग्रीहरुमा घरायसी प्रयोगका सामाग्रीहरु, सवारी साधन र तीनका पार्टपुर्जाका साथै हवाई पार्टपुर्जा रहेका छन् ।
यस्तै दुई महिनाको अवधिमा निर्यातमा समेत सुधार देखिएको छ । अघिल्लो वर्ष नेपालबाट विभिन्न देशहरुमा १३ अर्ब ६० करोड ६२ लाख ३८ हजार रुपैयाँको सामान निर्यात भएकोमा यस वर्ष ८ दशमलव ०३ प्रतिशतले बढेर १४ अर्ब ६९ करोड ९० लाख २० हजार रुपैयाँको सामग्रीहरु निर्यात भएको भन्सार विभागले जनाएको छ ।
वि.सं.२०७५ असोज १४ आइतवार ०९:०५ मा प्रकाशित