
२१ असोज, काठमाडौं । आइसिसी टी–२० विश्वकप अन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले थाइल्यान्डलाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायुमास ओभलमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १ सय ७२ रन जोडेको हो । नेपालका लागि करण केसीले नटआउट ४० रन जोडे । उनले १४ बलमा २ चौका र ४ छक्का प्रहार गरे । करणले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए । सोमपाल कामी ४ रनमा नटआउट रहे ।
मध्यक्रमकका ब्याट्सम्यान शरद भेषवाकरले ३४ रन जोडे । उनले २८ बलमा २ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले २६ बलमा ३० रन जोडे । उनले ३ चौका प्रहार गरे । आरिफ शेख ८ र कप्तान पारस खड्का ५ रनमै आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्ल पनि ७ रनमै आउट भएका थिए ।
ओपनर अनिलकुमार साहले २५ रन जोडे । उनले १७ बलमा ५ चौका प्रहार गरे । अर्का ओपरन विनोद भण्डारीले १८ बलमा २ चौका र १ छक्काको मद्दतले १५ रन बटुले।
बलिङमा थाइल्यान्डका पायथुस सनगार्डले ४ विकेट लिए । उनले शरद, दीपेन्द्र, पारस र आरिफलाई आफ्नो सिकार बनाएका थिए ।
यसअघि नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा आयोजक मलेसियालाई समान ८–८ विकेटले पराजित गरेको थियो ।
प्रतियोगितामा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । एसियाका पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिने छन् ।
यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन् । एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए । दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणबाट २ टिम मात्र अन्तिम चरणका लागि छनोट हुनेछन् ।
अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ । १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।
वि.सं.२०७५ असोज २१ आइतवार १४:३७ मा प्रकाशित


























