
२६ असोज, काठमाडौँ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निमार्ण सम्बन्धमा विज्ञहरुले कमभन्दा कम पर्यावरणीय क्षतिमा निर्माण कार्य तत्काल अघि बढाउन सुझाव दिएका छन् ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको ‘पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन’ उपसमितिको आजको बैठकमा यस क्षेत्रका जानकारहरुले तत्काल विमानस्थल निर्माणका लागि अत्यावश्यक रुखमात्र काट्नुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा उपसमितिका संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल काट्नैपर्ने रुख मात्र काट्नुपर्ने र पर्यावरणीय पक्षलाई पनि ध्यान दिनुपर्ने बताए । वातावरण मैत्रीसँगसँगै विकास पे्रमीको पनि आवश्यकता रहेकोमा जोड दिँदै उनले वातावरण विषयका बहसले विकास कार्यमा विवाद ल्याउन नहुने विचार व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री नेपालले मुलुकमा विकासका ठूला आयोजनामा अवरोध गर्ने गलत संस्कृति रहेकाले त्यसलाई तोड्नुपर्ने बताउँदै विकासमा अब ढिलाई गर्ने छूट कसैलाई नभएको धारणा व्यक्त गरे । विकासका कार्यमा हुने वातावरणीय क्षतिपूर्तिका लागि सँगसँगै व्यापक रुपमा वृक्षरोपण गर्नुपर्नेमा उनको जोड थियो ।
बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले प्रस्तावित निजगढ विमानस्थलका बारेमा विस्तृत जानकारी गराउनुका साथै हालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढेको यात्रु र विमानको चापका कारण पनि निजगढ विमानस्थल तत्काल बनाउनुको विकल्प नभएको तर्क गरे । वन प्राविधिक सङ्घ बाराका अध्यक्ष राजदेवप्रसाद यादवले रुख कटान हुने परिमाणका बारेमा अनावश्यक हल्ला फिजाइएको भन्दै निजगढ विमानस्थल निर्माणको समाचारले स्थानीय जनता खुशी र उत्साही देखिएको बताए ।
प्रस्तावित विमानस्थलले ओगटेको जम्मा क्षेत्रफल आठ हजार ४५ हेक्टर छ । प्रस्तावित क्षेत्रलाई सरकारले विमानस्थल निर्माणस्थल भनी घोषणा गरिसकेको छ । विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआए) अनुसार एक हजार ९०० हेक्टरमा मात्र आधारभूत संरचना निर्माण हुनेछ ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले विमानस्थल निर्माण हुने भनिएको स्थानमा महत्वपूर्ण वनजङ्गल र जैविक विविधता भएका आयोजनास्थल केही दक्षिणतर्फ सार्नुपर्ने सुझाव दिए ।
वातावरण अभियन्ता चन्दा राणाले मुलुकमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता भए पनि निजगढ विमानस्थल क्षेत्रमा रहेका रुख र जैविक विविधता कसरी जोगाउने भन्ने सम्बन्धमा पनि सबैको ध्यान जान जरुरी रहेको धारणा व्यक्त गरिन् ।
विमानस्थल निर्माण क्षेत्रमा अवस्थित जङ्गल सालको वन, कडा काठको वन र खयर, सिसौको वनमा वर्गीकरण गरिएको छ । आयोजना क्षेत्रमा तथा त्यसको वरपर जम्मा २३ विभिन्न प्रजातिका स्तनधारी प्राणी र करीब ५०० प्रजातिका चरा पाइन्छन् । आयोजना क्षेत्रमा पर्ने टाङ्गिया, मतियानी र काठघाट बस्तीमा एक हजार ६१० घरधुरीको बसोबास छ ।
यस विमानस्थलको पूर्वसम्भाव्यता अध्ययन सन् १९९५ मा गरिएको थियो । धेरै सम्भाव्यस्थानको अध्ययन गरिएकामा बारामा अवस्थित यो क्षेत्र सबैभन्दा उपयुक्त पाइएको हो । यस विमानस्थलको निर्माणको प्रथम प्रस्तावमा अन्तराष्ट्रिय नागरिक प्राधिकरणको मापदण्डअनुसारको धावन मार्ग, ट्याक्सी मार्ग, टर्मिनल र एप्रोनलगायतका आवश्यक परिवहन तथा सञ्चार सुविधा भएको अन्तराष्ट्रिय विमानस्थल रहनेछ ।
दोस्रो प्रस्तावमा आधुनिक यातायात सुविधा, समानान्तर धावन मार्ग, ट्याक्सी मार्ग, एयरलाइन्स सेटअप, हयाङ्गर, सञ्चार, खानेपानी आपूर्ति, ढल व्यवस्थापन र अन्तराष्ट्रिय विमानस्थल नजिकै सुविधायुक्त होटल, लजसहितको विमानस्थल शहरको विकास रहेको छ ।
वि.सं.२०७५ असोज २६ शुक्रवार ०८:३८ मा प्रकाशित