३० असोज, काठमाडौ । दक्ष जनशक्तिको अभाव, सरकारको न्यून लगानी र कम जनचेतनाका कारण मानसिक स्वास्थ्य उपचार असहज बन्दै गएको छ । एकातिर मानसिक समस्यालाई रोग नमान्ने सामाजिक दृष्टिकोण छ भने अर्कातिर यसको उपचारका लागि जिल्ला अस्पतालमसम्म पनि सुविधा नपुगेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
राजनीतिक तथा आर्थिक अस्थिरता, भूकम्प र बैदेशिक रोजगारीमा हुने समस्याका कारण नेपालमा बर्सेनी मानसिक रोगका विरामीहरु बढिरहेका छन् । बढ्दो बिरामी चापलाई थेग्न विशेषज्ञ र अस्पताल नहुँदा उपचारमा समस्या हुने गरेको हो । कतिपय बिरामीले रोग लुकाउनेसमेत गरेका छन् ।
रोग लुकाएर बस्ने गरेका कारण आत्महत्याका घटनाहरु पनि बढिरहेका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार तीन वर्ष अघि ४ हजार सातसयले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेको संख्या बढेर यसवर्ष ५ हजार ३ सय ४६ पुगेको छ । मनोचिकित्यकका अनुसार ८० प्रतिशत कारण मानसिक समस्या नै हो ।
वि.सं.२०७५ असोज ३० मंगलवार ०८:०८ मा प्रकाशित