
८ कात्तिक, काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७४ को ‘पद्मश्री साधना सम्मान’ तथा पद्मश्री साहित्य पुरस्कार हस्तान्तरण गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानले पद्मश्री साधना सम्मान २०७४ को सम्मानपत्र तथा नगद २ लाख बरिष्ठ साहित्यकार ताना शर्मालाई हस्तान्तरण गरेका थिए भने साहित्यकार नयनराज पाण्डेलाई नगद २ लाख सहितको पद्मश्री साहित्य पुरस्कार हस्तान्तरण गरेका थिए ।

विगत ६ दशकदेखि नियात्रा, समालोचना, आख्यान, अनुवाद र सम्पादनमा विशिष्ठ योगदान दिएको भन्दै झर्रोवादी अभियानकर्ता समेत रहेका शर्मालाई दीर्घ साधकको उपमा दिदैं अध्यक्ष लामिछानेले सम्मान गरेका थिए । त्यसैगरी कुशल आख्यानकार, निबन्धकार तथा चलचित्र पटकथाकारका रुपमा परिचित नयनराज पाण्डेलाई ‘यार’ संस्मरणका लागि २ लाख नगद सहित साहित्य पुरस्कार हस्तान्तरण गरिएको थियो । लोभलाग्दो भाषा र उत्तम लेखन शिल्पी भएका पाण्डेले कथाका पात्रहरुको सम्मान गरिएको भन्दै कथाभित्रका पात्रले गौरव गर्नुपर्ने बताएका थिए ।
अन्तरहृदयदेखि स्नेह उद्गार भन्दै सर्जक ताना शर्माले राष्ट्रलाई मुटुको ढुकढुकी ठानेर साहित्य लेखन हुनुपर्ने बताएका थिए ।

साहित्य पुरस्कारका लागि गतवर्ष ५ वटा पुस्तक मनोनयन गरेको प्रतिष्ठानले यो वर्ष देखी १० वटा पुस्तक मनोनयन गर्ने योजना सार्वजनिक गरेको थियो । अध्यक्ष जीवा लामिछानेका अनुसार प्राविधिक कारणबश पुरानो निर्णय कार्यान्वयन हुन नसकेकोले यो वर्षदेखि सर्टलिस्ट घोषणा प्रक्रिया स्थगीत गरिएको छ ।
सरल भाषा, छरिता वाक्य र तीक्ष्ण व्यंग लेख्न नयनराज पाण्डे समय, समाज र सन्त्रासबाट विशिष्ठ पहिचान बनाएका छन् । २०७४ को संस्मरणात्मक कृति ‘यार’ ले मित्रता, प्रेम र परीवारमा हुने घात प्रतिघात र विचलनलाई सुन्दर ढंगले चित्रण गरेको छ । त्यसैगरी पद्मश्री साधना सम्मानबाट सम्मानित विद्धान व्यक्तित्व ताना शर्मा बेलायततिर बरालिदाबाट ख्याति कमाएका व्यक्ति हुन् । भाषाशास्त्री बालकृष्ण पोखरेलका अनुसार नेपाली नियात्राका पिता नै ताना शर्मा हुन् ।
गैरआवासीय नेपाली अभियानका संस्थापक जीवा लामिछाने उद्यमी तथा सामाजिक अभियन्ताको अलावा साहित्यीक व्यक्तित्वका रुपमा स्थापित हुँदै आएका छन् । नेपाली साहित्यको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने उद्धेश्यले उनका बाबुआमाको नाममा स्थापना गरिएको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रत्येक वर्षको कोजाग्रत पूर्णिमाको दिन साधना सम्मान तथा साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।
वि.सं.२०७५ कात्तिक ८ बिहीवार १३:३५ मा प्रकाशित






























