
१६ कात्तिक, भोजपुर । रुद्राक्षलाई महँगो मूल्यमा किन्ने चिनियाँ व्यापारीलाई गाउँ पस्न रोक लगाएपछि यहाँका किसान मारमा परेका छन् ।
षडानन्द नगरपालिका क्षेत्रमा बर्सेनी करोडौको रुद्राक्ष लैजाने चिनियाँ व्यापारीलाई गाउँ पस्न रोक लगाएपछि किसानले उत्पादन गरेको रुद्राक्ष कारोबारमा समस्या आएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
रुद्राक्षको दाना टिप्ने सिजनमै नगरपालिकाले ल्याएको यस्तो नीतिले किसानले उत्पादन गरेको रुद्राक्षको माग घटेको छ । भदौ पहिलो साता नगरपालिकामा जिल्ला प्रशासन कार्यालय, जिल्लाका सरक्षा निकाय र नगरपालिकाको संयुक्त बैठकले विदेशी व्यापारीको सुरक्षाका लागि गाउँ पस्न रोक लगाउने निर्णय गरेको थियो । यो निर्णयपछि किसानहरुले सोचे अनुसारको रुद्राक्ष व्यापार गर्न नपाएको गुनासो गरेका छन् ।
‘प्रहरीले बर्सेनी नियमित रुपमा आइरहने चिनियाँ वयापारीलाई गाउँ पस्न रोक लगाएको छ’, दिङ्लाका प्रेम राईले भने, ‘बजारमै लगेर दाना देखाउँदा उनीहरुले राम्रो मूल्यमा लान मान्दैनन् ।’
वि.सं.२०७५ कात्तिक १६ शुक्रवार ०८:०३ मा प्रकाशित