back

‘फूल’

वि.सं.२०७५ कात्तिक २४ शनिवार

807 

shares
GLOBAL IME AD
NTC AD

फूललाई हाम्रो प्रारम्भिक सिकाई प्रक्रियाको प्रथम र प्रमुख केहि शब्दहरु मध्ये एक शब्द मान्न सकिन्छ । कुनै बालकले छिट्टै ’फूल’ शब्द उच्चारण गरेको र फूलको आकृति बनाएको हामीले देखेका छौ । घरआँगन करेसा र फुलबारीमा फुलिरहेका रङ्गिचङ्गी फूल नियाल्दै र हेर्दै हुर्कदै गर्दा हामीमा बाल्यकाल देखिनै फूलप्रति रुची र आकर्षण बढ्दै गएको हो भनेर भनिन्छ । सुन्दर फूल मन नपराउने र फूलमा आकर्षित नहुने मानिस को होला र ?

पुराणमा बिष्णुका नाभिबाट निस्केको कमलको फूलबाट ब्रह्माजी उत्पन्न हुनभएको कथा छ । लक्ष्मी,सरस्वती र धेरै देवीदेवताहरु साथै भगवान बुद्धका धेरै तस्बिरहरु फूलमै आसिन भएको भेट्टिन्छन् । पूजा अनुष्ठानहरुमा फूल नै चाहिने र मन्दिर देवालयहरुमा फूलका आकृतिहरु कुदिएका हुन्छन । जसबाट फूल आध्यात्म र धर्मसंग जोडिएको पबित्र वस्तुपनि हो भनेर भन्न सकिन्छ ।

चित्रकारीमा फूलका चित्र कोरिएका र धेरै गीत कबिताहरुमा फूलकै सुन्दरता वर्णन गरिएकोले कला र सहित्यमा फूलको महत्वपूर्ण स्थान छ भने विभिन्न बैज्ञानिक अध्ययन अनुसन्धान र खाद्य पदार्थ उत्पादनमा फूलको विषेश स्थान भएको हामी पढ्न, देख्न र अनुभव गर्न सक्छौं ।

संसारका सबै स्थानहरु जस्तै घर,जंगल, बाटो, पानी, मरुभुमी र काँडा बीचपनि फुल्ने, सानोठूलो, धनीगरिब, महल र झुपडी सबैतिर हाँसिरहने, फुलिरहने फूल के हो ? वास्तवमा ! यसको परिभाषा र व्याख्या कसरी गर्ने ?

आम मानिस, प्रकृतिविद्, वनस्पतिविद्, वैज्ञानीक अध्ययन, अनुसन्धानकर्ता, दार्शनिक कबि साहित्यकार र अरु फूल प्रेमीहरुले फूलको बारेमा विभिन्न भावना, धारणा र व्याख्याहरु अभिव्यक्त गरेको पाईन्छ । कसैले त वास्तवमा फूल के हो भनेर भन्न असंभव छ भनेर पनि भन्ने गर्छन । यसै सन्दर्भमा जेफÞ सुल्ज भन्छन, “फूल के हो ? हामिलाई थाहा छैन ।’

नाओमी सुनसिक लेख्छिन -“फुलीरहेको फूल देखेर मलाई यस्तो लाग्छ कि म मेरो आत्माको रहस्य खोलिरहेकि छु । अब म शब्दमा यस्को बयान कसरि गरुँ ?’

पेरिस म्युजियम अफ  नेचुरल हिस्ट्रीका प्राध्यापक मार्क आंद्रे सेलो भन्छन–“फूल कुनै बोट वा विरुवामा देखिने यौन अंग हो । जस्को साहयताले विरुवाले आफ्ना सन्तान वा नस्ल उत्पादन गर्छ ।’

केविन ड्रुकास लेख्छन्– “फूल प्राकृतिक विकास प्रक्रियाको त्यो निरन्तरता हो जस्ले विगतका बीस करोड़ वर्षहरुमा लामो यात्रा गरेको छ । फूल रुखमा र पहाडमा उक्लेको छ । गहिराईमा लुकेको छ । किरा र ढुसीहरुसंग लडाँई लडेको छ । असलमा फूलले यो धर्तीका हरेक कुनालाई आफ्नो राज्य बनाएको छ ।’

क्रिस्टी हार्डेज लानियस भन्छन–“फूल कुनै बोट विरुवाको त्यस्तो हिस्सा हो जस्तो कुनै मानवको कोमल र बोलिरहेको सुन्दर आँखा ।’ वैलेरी वेकफील्ड लेख्छिन्–“फूल जादू हो । सुन्दरता हो र अरु धेरै कुरा हो ।’ त्यस्तै फिलोमिना चार्ट लेख्छिन्– “बिना फूलको यो संसार उजाड, उदास, दुखी र अंध्यारो हुन्थ्यो होला ।’

विश्वमा मानव सभ्यताको विकाससँगै जन्म पश्चात मृत्यपर्यन्तका विभिन्न सँस्कार र दैनिक कृयाकलापहरुमा मानव जातिलाई आवश्यक पर्ने प्रकृतिले दिएको विशेष र अनमोल उपहार नै फूल हो । अर्को अर्थमा भन्नुपर्दा प्रकृतिको आत्मा, धर्तीको मुस्कान र सबैको खुशी अनि सृष्टिको निरन्तरता हो फूल । असल स्वभावको प्रतिक पनि हो फूल ।

हामिले फूलबाट सिक्ने कुरा भनेको फूल जस्तै छोटो जीवन बाँचेपनि अरुको उपयोगिता र खुशीको लागि आफूलाई त्याग गर्दै बिना स्वार्थ आफ्नो वरिपरी सुगन्ध र सुन्दरता छर्नु हो । कुनै फूलले आफ्नो छेउमा फुलेको अर्को सुन्दर फूलसंग प्रतिस्पर्धा नगरि आफै फुलिरहे जस्तै आफैमा फुल्ने र परिष्कृत हुने गुण पनि फुलबाट सिक्न सकिन्छ । फुल्नु र खुल्नु नै यस्को स्वभाव हो। जँहा कोमलता हुन्छ ।

कसैले प्रशंसा गरोस् नगरोस् । कोहि छेउमा आओस् वा नआओस् । कसैले सुभाष र सुन्दरता लिओस् वा नलिओस् बस फुलिरहने,मुस्कुराई रहने अनि जस्तोसुकै स्थान र वातावरणमा पनि फुल्ने र समायोजन हुने गुण र विशेषता फूलबाट सिक्न सकिन्छ ।

हरेक मान्छेको मनलाई खुशी बनाउने, वरीपरिको वातावरणलाई सुगन्धित,आनंदित र प्रफुल्लित बनाउन सहयोग पुर्याउने र शहरीकरणसंगै प्रकृतिसँग अलग्गिदै गरेको मानवजातिलाई प्रकृतिसंग नजिक बनाउने सुन्दर चिज हो फूल । त्यतिमात्र नभएर अर्थ र व्यवसायसंग पनि जोडिएको यस्तो महत्वपूर्ण फूललाई व्य्वशायिक र बिस्तारित रुपया उत्पादन गर्न तर्फ किन नलाग्ने !

दक्षिण अमेरिकाका कोलम्बिया, ईक्वेडर, अफ्रिकाका केन्या,ईथियोपिया र हाम्रो नजिकैको मलेशिया जस्ता देशहरु पुष्प गुच्छा उत्पादन र निर्यातमा अग्रणी मानिन्छन भने नेदरल्यान्ड, क्यानडा, अमेरिका जस्ता देशहरुका केहि क्षेत्रहरुमा फुल्ने फूलको सुन्दरता हेर्न धेरै स्वदेशी बिदेशी पर्यटकहरु जाने गर्छन नेपालमा लालीगुराँस फुलेको हेर्न गएजस्तै ।

विदेशका प्राय ः विद्यालयहरुमा फूल सम्बन्धी अध्ययन गर्ने व्यवस्था हुन्छ भने विश्वाबिद्यालयहरुमा फ्लोरिकल्चर विभाग हुन्छन् । स्थानिय सरकारले पनि व्यक्तिगत र व्यवसायिक रुपमा फूल उत्पादन गर्न चाहनेहरुलाई परामर्श, सहयोग र तालिम दिने व्यवस्था गरेको हुन्छ । नेपालले यसो गर्न किन नसक्ने ?

नेपालमा पनि व्यवसायिक फूलखेती तर्फ आकर्षण बढिरहेको छ । नेपालका धेरैजसो जिल्लाहरु जस्तै झापा, दाङ, चितवन, धादिङ, काभ्रे, नुवाकोट र काठमान्डौ उपत्यका वरिपरि र अन्य भुभागहरुका करिब १५५ हेक्टर जमिनमा फूलको व्यवसायिक खेति गरिएको र गत वर्षभन्दा यस वर्ष बढि फूल उत्पादन भएको समाचार प्रशंसनिय हो । सुन्दरता र आनन्दको लागि सबैले आफ्नो घर आँगनमा फूलहरु फुलाउने र सामाजिक संजालमा शेयर गर्ने प्रचलन पनि बढिरहेबाट विस्तारै प्लाष्टिकका फूलहरु विस्थापित हुदै जानेछन र वातावरण स्वच्छ र शुन्दर हुनेछ ।

ढकमक्कै फूलहरु फुलेको र फूल धेरै उपयोग हुने सुन्दर चाड तिहारको मौसम छ । फूलको माग बढिरहेको छ । यो तिहारमा नेपालमा २२ लाख सयपत्री फूलको मालाको माग भएकोमा १९ लाखको पूर्ति नेपालबाटै हुने र ३ लाख माला मात्र भारतबाट आयात हुदै गरेको तथ्यांकलाई सकारात्मक मान्नुपर्छ । अझ मखमली फूलमा त नेपाल आत्मनिर्भर रहेछ ।

फूल खेतिमा लागेकालाई प्रोत्साहन,आर्थिक प्राविधिक सहयोग र बजारको व्यवस्थापन,आधुनिक प्रबिधी प्रयोग गरि नेपालको माटोमा उत्पादन हुने फूलका बिउहरु उत्पादन गर्ने र अरुहरुलाई पनि त्यसतर्फ लाग्न प्रेरित गर्नसके छिटो प्रतिफल दिने सजिलो र रमाईलो फूल खेती नेपालका बाँझा खेत र त्यसै अनुत्पादक बसिरहेका पल्टिङ गरिएका घडेरीहरुमा पनि हुने र धेरै मान्छेहरु स्वरोजगारको बाटोतर्फ अग्रसर भई आर्थिकोपार्जन गर्न सक्नेछन् ।

गाउँ र सहरहरूका प्रत्येक घरले एक वा दुई छायाँ वा शीतल दिने बोटबिरुवा रोपेर हुर्काउनु पर्ने नीति नियम बनाउने,घरहरूमा फुलबारी र बरबगैचा अनि प्रत्येक टोल र छिमेकको नजिकै पार्क उद्यानहरूको बिकास निर्माण गर्ने,सड़क छेउमा फलफुलका बोटबिरुवा रोप्ने र तिनीहरूको संरक्षण संबर्द्धनमा जनता र स्थानीय सरकार मिलेर काम गर्ने हो भने हरियाली कायम राख्न, सम्पुर्ण वातावरण सुन्दर र स्वच्छ बनाउन सकिन्छ र सबैको कल्याण हुनेछ ।

वि.सं.२०७५ कात्तिक २४ शनिवार १२:३० मा प्रकाशित