back

गंगालालमा चारदिनको बसाईपछि अस्पताललाई सुझाव

वि.सं.२०७५ कात्तिक २४ शनिवार

285 

shares
GLOBAL IME AD
NTC AD


डा. हरिकुमार श्रेष्ठ
नागार्जुन १०, स्युचाटार, काठमाडौँ

कार्तिक १४ गते त्यहि चिसो छिंडिमा मेरी श्रीमतिको एञ्जियोग्राफीको लागि ६ घण्टा पालो पर्खेर बसेको दिनको पीडा ताजै छ । यो मेरी श्रीमति र मेरो मात्र कथा र व्यथा हैन त्यो दिन त्यहाँ मुटुसम्बन्धी विभिन्न अपरेसन तथा परीक्षणको लागि भोकभोकै दिनभरी आफ्नो पालो कुरेर बसेका १० वर्षकी बच्चीदेखि ८३ वर्षको बृद्धहरुसम्मको कथा र व्यथा हो । त्यहाँको जाडो र भोक खप्न नसकेर पोखराको ८३ वर्षीय वृद्धा बाको पीडाको चर्को आवाजले हामी त्यहाँ भएका व्यक्तिहरु नतमस्तक भएका थियौँ । तर हामीले के नै पो सहयोग गर्न सक्दथ्यौँ र । किनकि, त्यस विषयवस्तुमा हाम्रो बोलीको कुनै भाउ थिएन । त्यसैले, यदि अस्पत्ताल प्रशासनले उक्त परीक्षण कार्य सुरु हुनु करिव आधा वा एक घण्टा अगाडि सम्बन्धित बिरामीलाई बोलाउने व्यवस्था गरेमा बिरामीले थप पीडा झेल्नु पर्ने थिएन र अस्पत्तालको व्यवस्थापन पक्षमा सुनमा सुगन्ध थपिने थियो ।

२०७५ कात्र्तिक १२ गते दिउँसो करिव २ः३० बजेको थियो । दिन छिप्पिँदै सूर्यले पूर्व क्षितिजसँग पारपाचुके गरी पश्चिम क्षितिजसँग मायाप्रितिको सामिप्यता बढाउँदै थियो । मलाई यो अवस्था त्यति सहज भएको थिएन । किनकि, कार्यालयमा वार्षिक प्रगति प्रतिवेदन तयारीको चटारो उत्सर्गमा पुगेको थियो । त्यतिकैमा, मेरी श्रीमतिको फोन आयो । विशेष काम र परिस्थिति बाहेक घरबाट मलाई कार्यालय समयमा फोन आउँदैनथ्यो । किनकि, मेरी श्रीमतिलाई मेरो कार्य व्यस्थताको बारेमा राम्रै हेक्का थियो ।

मैले मोवाईल उठाएँ । उन्को स्वर निकै नै मलिन र पीडादायी थियो । बिहानसम्म केही नभएको तर एक्कासी यस्तो आवाज सुन्दा एकछिन त म अलमलमा परेँ झुक्याएकी हुन् कि भनेर । तर मलाई मेरो त्यो सोँचाईको विश्वास नै लागेन । किनकि, जीवनसँगी भएर ४ दशक बिताउँदा पनि उनको त्यस्तो स्वभाव कहिल्यै पाएको थिइन । त्यसैले मैले उनको कुरामा पूर्ण रुपमा विश्वस्त हुँदै उनको पीडामा जतिसक्दो चाँडो मलहम पट्टि लगाउने तिर लागेँ ।

वास्तवमा, उनी करेसाबारीमा हल्का काम गर्दागर्दै अचानक छात्तिमा असह्य ऐँठन भएकोले बोलीचाली र हिडडुलमा समस्या आएको कुरा उनीबाटै फोनमा मलिन आवाजमा जानकारी पाएँ । चिसो मौषमको कारण हो कि भनेर बल्लतल्ल कोठामा पुगेर शरीरमा स्वीटर थप्दा र एक गिलास तातो पानी पिउँदासमेत समस्या बीसको उन्नाइस नभएपछि मलाई फोन गरेकी रहिछन् । मैले उनीसँग सोम र बुहारी (माहिला छोरो र बुहारी) घरमा छन् कि छैनन्? भनेर सोधेको थिएँ । तर उनीहरु आज घरमा रहेनछन् र एक्ली रहिछिन् । त्यसैले, उक्त घटनापछि उनमा एक किसिमको त्रास, उकुसमुकुस, छटपटि र निराशाले छाएको पनि पाएँ ।

म कार्यालय स्थान खुमलटारबाट कलंकी पुगेर अस्पत्ताल जान समय बढी लाग्ने भएकोले पदम (ठूलो छोरा) र सोम (माहिला छोरो) लाई फोन गरेर तुरुन्त घर गई सहीद गंगालाल अस्पत्ताल जान भन्छु भन्ने कुरा गरेर सान्त्वना दिँदै मन नहुँदा नहुदै पनिपीडाका साथ फोन राखेँ । सोहि मुताविक मैले छोराहरुलाई फोन गरी समस्याको जानकारी गरी यथासक्य चाँडो घरमा गएर बिरामीलाई सहीद गंगालाल अस्पत्ताल लैजान भने ।

किनभने, केही वर्ष अगाडिको कुरा हो, कृषि अनुसन्धान परिषदका पूर्व निर्देशक श्री विमलकुमार बानिया सर छात्ती दुखेर बी एण्ड बी अस्पत्ताल जानुभएको रहेछ । मुटुको समस्याको कारण मृत्युको दोसाँधमा भएकोले उहाँलाई जतिसक्दो चाँडो सहीद गंगालाल अस्पत्ताल जानको लागि सिफारिस गर्ने बित्तिकै करिव आधा घण्टाभित्रै उहाँ अस्पत्ताल पुग्न भ्याउनुभएकोले उपचार खर्च बढी नै लागे तापनि ज्यान जोगिएको कुरा गर्वका साथ भन्नुहुन्थ्यो । त्यसैले उहाँले छात्ती वरिपरि दुखेमा अन्य अस्पत्ताल धाउनभन्दा पनि पहिला मुटुसम्बन्धी अस्पत्ताल जान सिफारिस गर्दै आफ्नो फेसबुक वाल तथा साथीभाइ भेटघाटमा पनि सो कुरा बताउनुभएको थियो ।

सोहि बीचमा छिमेकी राधा दिदीले पनि उनको अवस्थाको बारेमा जानकारी पाउनु भएपछि घरमा आउनु भई उनको हरेस खाएको मनलाई सान्वना दिँदै छात्ती भागमा मालिस गर्दै र बेलाबेलामा लामो स्वासप्रस्वास गर्दै खोक्न पनि सल्लाह दिँदै सहयोग गर्नुभएको रहेछ । जुन कुरा आवश्यक पनि थियो । छोराहरु तुरुन्त घरमा आइपुगेपछि उक्त अस्पत्तालतिर लागेको कुराको जानकारी पाएपछि छट्पटिएको मन अलि शान्त भयो ।

मैले पनि तुरुन्त आफ्नो उक्त समस्या कार्यालयमा राखी कार्यालयबाट विदावादी भएर अस्पत्तालतिरको बाटो तताएँ । खुमलटारबाट सातदोबाटो पुगेपछि त्यहाँ भएकाकरिव पाँचजना ट्याक्सी ड्राईभरहरुसँग कुरा गरेँ तररु. एकहजार भन्दा घटिमा जान सक्दैनौ भनेर अडान लिन थाले । त्यसपछि बल्लतल्ल एकजनासँग कुरा मिल्यो मिटर पद्दतिमा जाने भनेर । सात दोबाटोबाट सहीद गंगालाग पुग्न जम्मा रु. चारसय असी लागे तापनि मैले ड्राईभरलाई सहयोगको लागि धन्यवादका साथ रु. पाँचसय हातमा थम्याई दिएँ । ट्याक्सी क्षेत्रमा भएको केही शोषक र डन ड्राईभरहरुको कारण मीटरमा जान नमान्दा वाद्य भएर यात्रीहरुले बढी पैसा तिरेर यात्रा गर्न पर्ने स्थिति भएकोले त्यस्ता ड्राइभरहरुले यात्रुहरुलाई चरम शोषण गर्दै र दुख दिँदै आएका छन् । यो समस्या सातदोबाटो क्षेत्रमा मात्रै पनि हैन सम्पूर्ण काठमाडाँै उपत्यकाको हो । जसरी बालुवा तथा गिटी उद्योगमा प्रहरी तथा केही नेतृत्व गणको हिस्सा भएको समाचार पत्रिकामा पढ्न पाइन्छ, यस व्यवसायमा पनि त्यो समस्या नहोला भनेर भन्न सकिन्न । त्यसैले, यातायात विभाग तथा गृह मन्त्रालयले यस्ता कुकार्यहरु नियन्त्रण गर्ने भनेर जति नै ढ्वाड्डफुके तापनि खै त समस्या नियन्त्रण भएको ? समस्या त सधँै ज्यूँकात्यूँ छन् । त्यसैले, हाम्रो देशमा सुशासनको कुरा त “आकाशको फल आँखा तरी मर” जस्तो भएको छ । यसमा ड्राईभर र सरकार त मुख्य जिम्मेवार भए नै, तर हामी यात्रीहरु पनि यसको केही हदसम्म जिम्मेवार छौँ । किनकि, हामीमध्ये केही यात्रीहरु ड्राईभरले जति भन्यो त्यति दिएर यात्रा गर्न तयार छौँ, नकि सम्बन्धित निकायलाई त्यसको कुनै सिकायत ।

एकातिर मन र मस्तिस्कभरी कालो बादल मडारिँदै पीडाको चट्याड्ड परिरहेको थियो भने अर्कोतिरअनेक सोँचाईको कुम्भमा डुबुल्की मार्दै साथ आधा घण्टापछि म अस्पत्ताल पुगेँ । मलाई यति छोँटो दुरीको यात्रा पनि निकै नै लामो र पट्यार लाग्दो भयो । म अस्पत्तालमा पुग्दा मेरी श्रीमति र छोराहरुको पीडाले पिल्सिएको रचिम्सिएको मुहारमा केही खुशीको लहर आएको अनुभूति उनीहरुको मुहारमा सजिलै पढ्न सक्दथेँ । अस्पत्ताल पुग्नुभन्दा अगाडि मेरी श्रीमतिले अब जीवन यत्तिकैमा बिसर्जन हुने भयो र कसैसँग पनि भेट्न नपाउने भएँ भनेर आएको सोँचाई मसँग राख्दा उनको आँखामा आँसु टिल्पिलिँदै पिलपिल बग्न थालेकोले मेरो आँखा पनि रसाउन थालिसकेको थियो तापनि मैले कठोर मन पार्दै सम्हालेर राखेको थिएँ । सायद त्यो दिन उनको तेस्रो पुनर्जन्म भएको थियो । त्यसैले आफ्नो मनको पीडालाई मरिच झैँ खुम्च्याएर भए पनि पीडा र चिन्ताको सागरमा नडुबी मनलाई शान्त पार्न अनुरोध पनि गरेँ । तर पीडाको ज्वालाभित्र दन्किएको मन शान्त पार्न त्यति सहज कहाँ थियो र ।

जे होस्, त्यहाँ पुग्ने बित्तिकै उनलाई ईमर्जेन्सी कक्षमा भर्ना गरी तुरुन्तै उपचार सुरु गरीसकिएको रहेछ । जुन निकै नै सह्रानीय पक्ष तियो । हैन भने, मुटुजस्तो जटिल समस्याबाट बिरामी कति समय तड्पिएर बस्न पर्दथ्यो होला । ईमरजेन्सी वार्डलाई बिरामीको चाप थेग्न हम्मेहम्मे परेकोले एउटै बेडमा पनि २।२ जनाको दरले उकुसमुकुस र पीडाको साथ बिताउनुपर्ने वाद्यता नै थियो । मुटुका बिरामी त्यहि माथि सानो बेडको कारण निकै नै उकुसमुकुसिएका थिए । यदि अस्पत्तालमा सधैँजसो त्यस्तै चाप हुने हो भने गुणस्तरीय सेवाको लागि ईमर्जेन्सी वार्डको क्षमता अभिवृद्धि गर्न नितान्त जरुरी छ ।

ईमर्जेन्सी वार्डमा बिरामीको चापको कारण मानिसहरुको चहलपहल पनि चर्कै नै हुने भइहाल्यो । कतिपय मानिसहरु मृत्युको दोसाँधमा देखिन्थे भने कतिपय सामान्य प्रक्रितिका पनि देखिन्थे उनीहरुको हाउभाउबाट । कतिपय बिरामी कुरुवाहरुको मलिन अनुहारका साथ गहभरी आँसु देखिन्थ्यो । तर “आफू नमरी स्वर्ग देखिँदैन” भने र्झै उनीहरुको पीडाको चुरो कुरो त बाहिरबाट हाम्रो नाङ्गो आँखाको मूल्याङ्कनबाट मात्रै त के थाहा हुन्थ्यो र ।

छोराहरु अस्पत्तालमा कहिले औषधी व्यवस्थापन त कहिले प्रयोगशालातिर दौडधुपमा व्यस्त थिए । उनीहरुको कार्य प्रभावकारीता प्रसंशनीय नै रह्यो । अस्पत्ताल पुगेदेखि नै औषधी चलाउन थालेकोले मेरी श्रीमतिको पीडा बीसको उन्नाईस भइसकेको रहेछ । उनको भनाइ अनुसार बोल्न र हिँड्न समस्या थियो तर उपचारको केही समयपछि बोल्न सहज र पीडा कम भएको अनुभूति गर्न थालेकी रहिछन् । परीक्षणको नतिजा आएको केही समयमै डाक्टरहरुको राउण्ड सुरु भयो । मेरो मन, मस्तिस्क र आँखाहरुले उनै डाक्टरलाई चियाउँदै उनीहरुको निर्णयको प्रतिक्षामा थियो । सुरुमा डा. बिराटलगायत तीन जना डाक्टरहरुले हेरे तापनि पछि डा.सुवोध कंशाकारले परीक्षण प्रतिवेदन हेर्दै र बिरामी जाँची भन्नुभयो कि बिरामीमा “हर्ट एट्याक” को संकेत भएकोले केही दिन भर्ना गरेर अनुसन्धान तथा उपचार गर्नुपर्छ भन्नुभयो । सोही कुराबमोजिम त्यहाँका नर्सहरुको जानकारी अनुसार त्यहाँ उपलब्ध हुने तीन किसिमका कोठाहरुमध्ये मैले मध्यम तहको कोठा छनौट गरेँ । किनकि, एक त बिरामीसँग हामी २ देखि ३ जनासम्म कुरुवा बस्नुपर्ने स्थिति थियो भने अर्को त मेरो कथा र बेथा भिन्दै किसिमको थियो, चिसोको एलर्जी । त्यसैले वार्ड नं. २ को तताउन मिल्ने सिड्डो कोठामा भर्ना गरियो ।

उपचार निकै नै राम्रोसँग हुँदै गयो । बिरामीमा सुधारको लक्षण उनको बोली र हाउभाउबाट पनि अन्दाज गर्न सकिन्थ्यो । उक्त वार्डका डाक्टर, नर्स र कर्मचारीहरु आफ्नो कामप्रति निकै नै बफादार, ईमान्दार र मृदुभाषी पाएँ । म उहाँहरुले गर्नुभएको सेवा भावनालाई आत्मैदेखि सलाम गर्दछु । आशा छ, अन्य वार्डका विरामीहरुले पनि यस्तै सेवा पाइरहेका छन् ।

सायद कतिपय सरकारी अस्पत्तालमा कामगर्ने कतिपय नर्सहरु र उनीहरु पनि एकै कलेजबाट अध्ययन गरेका हुनुपर्दछ । तर सरकारी अस्पत्तालमा सेवा गर्ने कतिपय नर्सहरुले बिरामीको कसरी सेवा गर्नुपर्छ भन्ने कुराको हेक्का राख्नै सक्दैनन् । उनीहरुको रुखो बोलीबाट बिरामीहरु पुन अस्पत्ताल फर्केर जान चाहँदैनन् तर बाध्यता छ । यो एकदम विडम्बना हो । त्यसैले, उनीहरु बीचको कार्यशैलीमा किन यस्तो फरक देखिन्छ भनेर अध्ययन गरी समाधान हुन जरुरी छ । सरकारी अस्पत्तालका केही त्यस्ता नर्सहरुको कारण सोहि क्षेत्रमा काम गर्ने राम्रा नर्सहरुको छबीमा समेत धब्वा लाग्न पुगेको छ । जुन अवस्था सुधारको लागि नर्सहरु आफैँले पनि पहल गर्न जरुरी छ ।

सहीद गंगालाल अस्पत्ताल परिसर, कोठाहरु, क्यान्टिन तथा चर्पीहरुसफा सुग्घर थियो । बाहिर निकै नै व्यवस्थित सुन्दर बगैँचा थियो, जुन कुनै तारे होटलको भन्दा कम थिएन । त्यसैले, बिहान र दिउँसो मानिसहरु रमाउँदै बसिरहेका वा घुमिरहेका हुन्थे । अझ, बिहानपख चराहरुको चिरवीर आवाजले बाहिरी वातावरण निकै नै रमणीय बन्न पुग्दथ्यो । तर हामीले अधिकांश सरकारी अस्पत्तालमा हे¥यौँ भने यो सुविधा पाउँदैनौँ । कतिपय सरकारी अस्पत्तालको शौचालयमा त झन् पस्न नसक्ने दुर्गन्ध र फोहर हुन्छ । प्रत्येक वर्ष बजेट आउँछ जान्छ, समस्या जस्ताको तस्तै हुन्छ । गगन थापा स्वास्थ्य मन्त्री हुँदा एक अभियान थालिएको थियो, त्यो पनि तुहियो क्यारे । गरे के हुँदैन भन्ने कुराको पाठ यो अस्पत्तालबाट सिक्न सकिन्छ । तर यहाँ पनि अपवादस्वरुप केही क्षेत्रको व्यवस्थापन पक्ष भने निकै नै कमजोर देखियो, जुन सुधार गर्न आवश्यक छ ।

वास्तवमा, अस्पत्तालमा फोहर फाल्नको लागि विभिन्न किसिमका ड्रमहरु (खेर गएको खानाजन्य वस्तु, कागजजन्य, प्लाष्टिकजन्य, इ.) फाल्नको लागि व्यवस्थित किसिमले उचित स्थानमा राखिएको थियो । तर उक्त ड्रमहरुमा फोहर फाल्ने कार्य भने व्यवस्थित थिएन र छ्यासमिसे तरिकाले फालिएको थियो । यो खास गरेर अज्ञानता तथा लापर्वाहीको कारणले भएको देखियो । त्यसैले, अस्पत्तालमा जाने तथा भर्ना भएर बस्ने व्यक्ति तथा सहयोगीहरुलाई यसको बारेमा जानकारी दिन जरुरी छ । सकिन्छ भने बाहिर डिस्प्ले बोर्ड राखेर पनि यो बारे जानकारी दिन सकिन्छ ।

अर्को कुरा, एञ्जियोग्राफी, एञ्जियोप्लाष्टी तथा अन्य अपरेसनमा जाने बिरामी तथा सहयोगी कुरुवा कक्ष उचित किसिमको छैन भने त्यहाँ कार्यतालिको अस्तव्यस्ताले दिउँसो ३ बजे परीक्षण वा अपरेसन गरिने बिरामीलाई बिहान ९ बजेदेखि चिसो छिँडिमा भोकभोकै कुर्न लगाइन्छ । कार्तिक १४ गते त्यहि चिसो छिंडिमा मेरी श्रीमतिको एञ्जियोग्राफीको लागि ६ घण्टा पालो पर्खेर बसेको दिनको पीडा ताजै छ । यो मेरी श्रीमति र मेरो मात्र कथा र व्यथा हैन त्यो दिन त्यहाँ मुटुसम्बन्धी विभिन्न अपरेसन तथा परीक्षणको लागि भोकभोकै दिनभरी आफ्नो पालो कुरेर बसेका १० वर्षकी बच्चीदेखि ८३ वर्षको बृद्धहरुसम्मको कथा र व्यथा हो । त्यहाँको जाडो र भोक खप्न नसकेर पोखराको ८३ वर्षीय वृद्धा बाको पीडाको चर्को आवाजले हामी त्यहाँ भएका व्यक्तिहरु नतमस्तक भएका थियौँ । तर हामीले के नै पो सहयोग गर्न सक्दथ्यौँ र । किनकि, त्यस विषयवस्तुमा हाम्रो बोलीको कुनै भाउ थिएन । त्यसैले, यदि अस्पत्ताल प्रशासनले उक्त परीक्षण कार्य सुरु हुनु करिव आधा वा एक घण्टा अगाडि सम्बन्धित बिरामीलाई बोलाउने व्यवस्था गरेमा बिरामीले थप पीडा झेल्नु पर्ने थिएन र अस्पत्तालको व्यवस्थापन पक्षमा सुनमा सुगन्ध थपिने थियो ।

अन्तमा, कार्तिक १५ गते बिहान करिव ११ बजेतिर डा. सुबोध कंशाकार र उनको टीम बिरामी भेटघाटमा आए । एञ्जियोग्राफीको नतिजाको आधारमा मुटुको तीन मुख्य नशाहरुमध्ये डिस्टल लेफ्ट एन्टेरियर डिसेण्डिड्ड आर्टरी ९ीब्म्० नशाको करिव ४० प्रतिशत भाग साँघुरिन लागेको भन्ने कुरा भए तापनि हाललाई अन्य उपचार प्रविधि अपनाउनुभन्दा पनि औषधीको प्रयोग गर्ने गरी कार्तिक १५ गते दिउँसो डिस्चार्ज गरी एकहप्तापछि पुनः परीक्षणको लागि अस्पत्ताल जाने गरी घर फर्की उपचार प्रक्रिया नियमित रुपमा अगाडि बढाएका छौँ । यसको लागि खास गरेर, खानपीनमा पनि सुधार गर्न जरुरी पर्दोरहेछ । जस्तै : घरमै तयार गरेको अन्नजन्य खाना, खोस्टासहितको दाल तथा गेडागुडी, हरियो सागसब्जी, फलफूल, माछा, कुखुराको मासु, अण्डाको सेतो भाग, नुन कम, दिनको २ कप जति चिल्लो कम भएको दूध (तर हटाएको), महीजस्ता खानेकुरा खाने, र रातो मासु, चिल्लो बढी भएको दूध, दही तथा दूधजन्य परिकार, गुलियो पदार्थ, रक्सीजस्ता खाने बस्तु नखाने । आशा गरेको छु कि उनको स्वास्थ्यमा अवस्य सुधार हुनेछ ।

त्यस्तै गरेर, मेरो विचारमा मुटु आसपासमा समस्या आएमा तुरुन्तै कुनै पनि मुटु परीक्षण गर्ने अस्पत्ताल लैजान जरुरी छ । यदि मुटु परीक्षण पश्चात मुटुको समस्या नभएमा मात्र अन्य परीक्षणको लागि लैजान उचित देख्दछु । यसले, अन्य व्यक्तिहरुमा पनि भविष्यमा पर्न जाने यस किसिमको दुर्घटनामा सहयोग पुग्ने देख्दछु ।

मेरो चार दिनको अस्पत्तालको बसाईको सम्झनाको आधारमा भन्नुपर्दा व्यवस्थापनका केही सानातिना पक्ष बाहेक समग्र पक्ष निकै नै राम्रो पाइयो । त्यसैले, यस लेखमा औँल्याइएका केही कमी कमजोरीहरु सुधार भएमा अस्पत्तालको गुणस्तरमा “सुनमा सुगन्ध” हुनेछ र बिरामीहरु मानसिक रुपबाट पनि पीडामुक्त हुनेछन् । जसले गर्दा स्वास्थ्य उपचार प्रभावकारी भई बिरामीको स्वास्थ्य सुधारमा पनि सकारात्मक प्रभाव पर्ने देख्दछु ।

वि.सं.२०७५ कात्तिक २४ शनिवार १६:०५ मा प्रकाशित

प्रकृतिसँग मानव सम्बन्ध

प्रकृतिसँग मानव सम्बन्ध

१. पृष्ठभूमि विश्व ब्रह्माण्डमा देखिने, नदेखिने, सजीव, निर्जीव, चल, अचल,...

नेपालमा खाद्य तथा पोषण सुरक्षाको चुनौती

नेपालमा खाद्य तथा पोषण सुरक्षाको चुनौती

१. पृष्ठभूमि नेपालको लागि कृषि जनजीविकाको प्रमुख आधार हो ।...

नेपालबाट चीनमा भैंसी मासु निकासी : सम्भावना, चुनौती, र रणनीतिहरू

नेपालबाट चीनमा भैंसी मासु निकासी : सम्भावना, चुनौती, र रणनीतिहरू

नेपाल कृषि प्रधान देश हो, जहाँ पशुपालनले विशेष भूमिका खेलेको...

जलवायु परिवर्तन र यसको असर

जलवायु परिवर्तन र यसको असर

१. पृष्ठभूमि जलवायु परिवर्तनलाई आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र प्राकृतिक...

विदेश जानै पर्ने दबाबमा नेपाली युवा

विदेश जानै पर्ने दबाबमा नेपाली युवा

काठमाडौँ । पल्लाघरे काकाको छोरी अमेरिकाको लागि उडेकी मात्र के...