२६ कात्तिक, काठमाडौँ । कांग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्ध शक्तिसंघर्ष सुरु भएको छ । उनी स्वेच्छाचारी शैलीमा चलेको ठान्दै सच्याउन दबाब दिन निरन्तर बैठक राखिएको छ । पछिल्लोपल्ट सोमबार सुजाता कोइराला निवासमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. रामशरण महतलगायत जुटे । तिनले नेतृत्वका कार्यशैलीको कडा आलोचना गरेका हुन् ।
सभापति देउवा विधान र प्रक्रिया मिची अघि बढेको जिकिरसहित संयुक्त आवाज उठाउने तयारीमा उनीहरु लागेका छन् । महामन्त्री शशांक कोइरालालाई यसमा दरिलो रुपले प्रस्तुत हुन सुझाएका छन् । दल पुरै कमजोर हुँदासमेत नेतृत्वले वास्ता नगरी आफ्नै ढंगले अघि बढेकाले चनाखो राख्न बहस आरम्भ गरिएको केन्द्रीय सदस्य शेखर कोइरालाले बताए । बैठकमा भावी नेतृत्वबारे छलफलसमेत गरेका उनले जानकारी दिए । ‘नेतृत्वले बहुमतका आधारमा गरिरहेका निर्णय, महासमिति बैठक, नतविसंघ विवादलगायत विषयमा पनि चर्चा गरियो’, उनले भने ।
स्रोतका अनुसार बैठकमा विजयकुमार गच्छदारलाई उपसभापति बनाउँदा देउवाले विधान मिचेको धारणा आएको थियो । उनीहरुले दल कमजोर भएको र त्यसको कारण सभापति भएकामा दुई मत नहुने विश्लेषण गरेका थिए, यो समाचार आजको अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।
वि.सं.२०७५ कात्तिक २७ मंगलवार ०७:३० मा प्रकाशित