पाकिस्तानका सवा दुई करोड बालबालिका विद्यालय बाहिर
२९ कात्तिक, इस्लामाबाद । पाकिस्तानका दुई करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
ह्युमन राइटस् वाच (एचआरडब्लू)ले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार विद्यालय बाहिर रहेका बालबालिकामध्ये बालिकाहरूको सङ्ख्या धेरै रहेको छ ।
विद्यालय बाहिर रहेका बालिकामध्ये पाँच बर्षदेखि ११ वर्षका बालिकाको सङ्ख्या ३२ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । सोही उमेर समूहका बालकको सङ्ख्या भने २१ प्रतिशत रहेको छ ।
विभिन्न विद्यालयमा गरिएको अध्ययनका आधारमा प्रतिवेदन तयार पारिएको समाचार बुधबार स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।
विद्यालयको शुल्क, अन्य खर्च, विद्यार्थीलाई दिइने दण्ड, असुरक्षा, शैक्षिक संस्थाको अवस्था, पढाईमा जबरजस्तीलगायतका कारणले उनीहरू विद्यालय बाहिर रहेको अध्ययनले देखाएको छ ।
वि.सं.२०७५ कात्तिक २९ बिहीवार १०:५६ मा प्रकाशित