१ मंसीर, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ का वार्ड सचिव टिकाराम आचार्य यतिबेला इलाका प्रहरी बुटवलको खोरमा थुनिएका छन् ।
अन्धविश्वास र विकृतिलाई हटाएर सामाजिक न्याय दिने शपथ सहित सरकारी सेवामा प्रवेश गरेका सचिव ‘बोक्सी बकाउने’ अपराध गरे बापत आफै खोरमा पुगेका छन् ।
वडा सचिव टिकाराम आचार्य, उनकी पत्नि कमला आचार्य र छोरी प्रतिज्ञा आचार्यको सल्लाह बमोजिम छोरी प्रतिज्ञा विरामी भएको बहाना बनाई लामो समयदेखि छिमेकी रहदै आएका ललिता केसी र डम्मर कुमारी न्यौपानेलाई छोरीको उपचारका लागि भन्दै घरमा आमन्त्रण गरीन्छ । विचरा ललिताले आफ्नी नर्स छोरी रस्मितालाई पनि सँगै लिएर गइन् ।
विरामीको ब्लडप्रेसर जाँचेर सक्नासाथ नर्सले रिर्पोट गर्न के लागेकी थिइन्, वडा सचिव एक्कासी मनपरी बोल्न थाले, ‘तिमी दुई आइमाइ बोक्सी हौं’ भन्दै श्रीमती र छोरीलाई उक्साए । अनि अल्सरको रोगले पीडित डम्बरी न्यौपानेलाई बकाउनका लागि कुटपीट गरे । कुटपीट घटना आक्रोश र आवेगमा सामान्य भन्न सकिएला तर नेपाल सरकारको जिम्मेवार राष्ट्रसेवकले यस्तो अन्धविश्वासमा रहेर गरेको घृणित अपराध सामान्य थिएन । पीडितहरुले ड्राइभर टोलको समुदायिक प्रहरी विट र रामबजार चौकी हुँदै इप्रका बुटवल पुगे ।
वडासचिवले फकाउने र धम्क्याउने दुवै अस्त्र प्रयोग गरे । चल्तिको पार्टीका नेता र दलाल मार्फत् पैसा पेलेर मुद्दा मिलाउछु भन्दै उल्टो धम्काए । तर, प्रहरीले यस्तो शर्म लाग्दो केशलाई यताउता गर्न चाहेन ।
वडा सचिवको यो कर्तुत र पछिल्लो अवस्थाबारे इप्रका बुटवलका डिएसपी दिल बहादुर मल्ले भने ‘प्रहरीले कसैको दवावलाई होइन, कानुनलाई मान्छ । कानुन अनुसार नै कारबाही हुन्छ ।’
वि.सं.२०७५ मंसिर १ शनिवार १५:३० मा प्रकाशित