back

राष्ट्रपतिज्यू तपाइकै चाहना हो त १८ करोडको गाडी चढ्ने ?  

वि.सं.२०७५ मंसिर ४ मंगलवार

180 

shares
NTC AD

हो, महामहिम राष्ट्रपतिज्यू  जुन देशका जनताले भोको पेट भर्ने सहज अवस्था अझै आइसकेको छैन, जाडोमा कठ्याग्रीएको नांगो शरीर छोप्न एकसरो लुगा छैन, शिक्षाको अभावमा विकृति अंगाल्न बाध्य भएका छन्, रोजगारी नभएका कारण लाखौं नेपाली अर्काको देशमा श्रम गर्न बाध्य छन् भने  देशमै भएका  कतिपय युवाहरु सहि ब्यबस्थापनको अभावमा हत्या, हिंसा बलात्कारमा लागेको पाइएको छ ।

 

हिजो मात्र युट्युवमा हेरेकी थिए, ओमानका राजा अगाडि पछाडि पचासौं गाडि र सुरक्षाकर्मीको मोटरसाइकल सहितको  दस्ताले घेरिएर कतै जाँदै थिए । लाग्यो राष्ट्र नायकहरुको सुरक्षाका लागि जुन देशमा पनि यस्तै हुँदोरहेछ । हाम्रोमा पनि कहिलेकाँही भिआइपीको बन्दोबस्तिको कारण सर्वसाधारणले सडकमै ज्यान गुमाउने अवस्था  समेत आएको पाइन्छ ।

अनि मैले सम्झिए तपाईलाई महामहिम राष्ट्रपतिज्यू ।  हिजोमात्र तपाइका लागि १८ करोडको सवारी किन्ने तयारीमा सेना  भन्ने समाचार  राष्ट्रिय दैनिकमा छापिएका थिए ।  मनमा एकछिन  तरंग पनि ल्यायो  के हाम्री राष्ट्रपति विद्यादेवी भण्डारीले १८ करोडको गाडीको माग गर्नु भएकै हो त ?

हुन त जनताद्धारा चुनिएका प्रतिनिधिबाट राष्ट्रपतिमा दोश्रोपटक चुनिनु भएकी तपाईका प्रतिनिधिहरु पनि   स–साना भएपनि यस्ता कुराबाट अछुतो नरहेको समाचार आजभोली मेडियामा मात्र नभएर सामाजिक संजालमा पनि छ्याप छ्याप्ती आउँछन् ।  कुनै नगरपालिकाका उपमेयरले  कुनै एनजीओका कार्यक्रममा जाँदा आफूमात्र नभएर ड्राइभरका लागि पनि भत्ता माग्न पठाएको,  कुनै कार्यक्रमको उद्घाटन वा कार्यक्रममा जाँदा बस्न भिआइपीले स्विटरुम मात्र नभएर  खाना पनि उच्चकोटीका माछा वा मासु के खाने भनेर उनका पिएले अर्डर दिने गरेको,  अनि विदेशमा जाँदा त्यहाँ श्रम गरिरहेका नेपालीहरुलाई मलाई यो मोडलको ल्यापटप, यो मोडलको आइफोन मात्र नभएर नेपाली जनताको घरमा पुग्दा रातो भालेको मासुले स्वागत मागेको जस्ता कुराहरु  प्रसस्त आउने गरेका छन् ।

त्यतिमात्र कहाँ हो र महामहिमज्यू जनप्रतिनिधिले गाडी र मोटरसाइकल नचल्ने ठाउँमा पनि  ती साधन किनेर काठमाडौंमा राखेर चलाउने गरेको  कुराहरु यी कानमा ठोक्किरहन्छन् प्राय  ।

महामहिमज्यू १८ करोडको  गाडीको सेट  तपाईलाई चाहिएको हो या होइन्,  यातफेरि  भविष्यवाणी नै गरेर किन नहोस् तपाइको सुरक्षामा गम्भीर भएर नेपाली सेनाले १८ करोडको गाडी किन्ने हिसाब निकालेको हो भन्ने कुरो तपाइकोे आफ्नो मुखले नबोल्दा सम्म नेपाली जनताको  सोधाइ र चिन्ता बढिरहन्छ राष्ट्रपतिज्यू । देशको औकात हेरेका नेपाली जनता तपाइले  ‘१८ करोडको गाडी चढ्ने मेरो रहर होइन,’ भनेको सुन्न चाहेका छन् ।   यतिबेला नेपाली  जनताले आफूमा पीडाबोध गरिरहेका छन् ।  ‘हामीलाई नुनसम्म किनेर खान सहज छैन, खानका लागि अन्नको गेडो छैन, औषधिको पातो छैन, शिक्षाको उज्यालो छैन, तर हाम्री देशकी कम्युनिष्ट राष्ट्रपति जो अहिले राष्ट्रपतिको आसनमा भएपनि  त्यतिबेला त समाजवादको सपना देखेर त्यसको विचार बोकेर वर्षौ कुनै  दलको राजनीति गरेर आएकी थिइन्, उनले १८ करोडको गाडीमा चढेर नेपाली जनताको  यस्तो पीडा कसरी हेर्न सक्छिन् ?’ भनेर ग्नगुनाहट बढेका छन ।

The first female president of Federal Republic of Nepal.

हो, महामहिम राष्ट्रपतिज्यू  जुन देशका जनताले भोको पेट भर्ने सहज अवस्था अझै आइसकेको छैन, जाडोमा कठ्याग्रीएको नांगो शरीर छोप्न एकसरो लुगा छैन, शिक्षाको अभावमा विकृति अंगाल्न बाध्य भएका छन्, रोजगारी नभएका कारण लाखौं नेपाली अर्काको देशमा श्रम गर्न बाध्य छन् भने  देशमै भएका  कतिपय युवाहरु सहि ब्यबस्थापनको अभावमा हत्या, हिंसा बलात्कारमा लागेको पाइएको छ । महामहिमज्यू  नेपालमा घटेका धेरै अपराधमा  गरिबी प्रमुख कारण हो भन्न म कत्तिपनि हिचकिचाउदीन् । हो, महामहिमज्यू, तपाइ त्यस्तो देश अनि तिनै जनताको अभिभावक  हुनुहुन्छ । भनिदिनुुुस् महामहिमज्यू तपाइलाई कसरी सुहाउँछ । बजेट र अबस्था नजरअन्दाज गर्दै  जाडोमा तातो र गर्मीमा चिसो  मात्र  नभएर औधि सुविधायुक्त गाडिमा चढेर कालो शिसाभित्र कालो चश्माले आफ्ना नागरिकको पीडा हेर्न ? तपाइ सम्झनुहोस् त महामहिमज्यू अनि शान्त भएर कल्पना गर्नुहोस् तपाइका देशका नागरिकको तपाइका छोराछोरीको हालत कस्तो छ भनेर ।

हो, पक्कै पनि तपाइ यो राष्ट्रको महामहिम राष्ट्रपति,  तपाइको कुनै दल पनि छैन यतिबेला । तपाइ सबै नागरिकको अभिभावक । तपाइको नजरमा कोही काखा अनि कोही पाखा पनि हुनुहँदैन् भन्ने हाम्रो सोँच हो ।   सदैव सार्वभौमसत्तासम्पन्न नेपाल राष्ट्र कसैको अधिनमा पनि छैन  । कसका कारण तपाइलाई पल–पल सुरक्षा थ्रेट छ  र तपाइलाई बचाउनका लागि राज्य वा नेपाली सेनाले पैसाको खोलो बगाएर जनताले तिरेको करबाट  तपाइका लागि  १८ करोड पर्ने महंगा गाडी किनेर  सुरक्षा दिनुपरोस् ।

तपाइ त  बुद्धको देशको राष्ट्रपति, जहाँ  नेपाली जनतामा अद्भुत साहस र धैर्यता  रहेको छ । दशवर्षे जनयुद्ध मार्फत  आफ्ना हजारौ सन्तानको बलिदानी दिएर पनि तपाइलाई राष्ट्रपतिको कुर्सीमा पु¥याएर खुसी बनेर बसेका यिनै  नेपाली जनता हुन ।  अभावै   अभावका बिचमा पनि देशमा शान्तिको कामना गर्दै सुन्दर भविष्यको कल्पना गर्दै  अनि आसा गर्दै बाँचिरहेका जनता  तपाइकै देशका होइनन् र राष्ट्रपतिज्यू के तपाइले यी जनताका लागि यति पनि त्याग्न सक्नुहुन्न ?  यति पनि भन्न सक्नुहुन्न  कि, मलाई विलासीतामा जीवन बिताउनु छैन भनेर ।

हुन त, राष्ट्रपतिज्यू तपाइको शितलनिवासस्थित घरभित्र के – के  कुरा हुन्छन्, के–के समस्याबाट तपाइ घेरिनु भएको छ भन्ने कुरा नेपाली जनतालाई थाहा नहुन सक्छ र मलाइ पनि । तपाइकै भलो नचाहानेले पनि तपाइको जीवन बिलासीतामा  ढल्किएको भनेर प्रचार गर्न पनि सक्छन् । महामहिमज्यू, नेपाली जनताको बाध्यता नै यस्तो हो कि भित्री कुरा, गुदी कुरा बुझाइदिने  जनको कमी छ । बाहिर जे आयो त्यसैमा रमाउने  अनि दुःखी बन्ने नेपाली जनताको नियति बनेको छ ।

अहिले पनि पीडामा छन्  नेपाली जनता ।  तपाइको १८ करोडको कार किन्ने चाहना रहेको समाचार बाहिरीदा । त्यसैले  गरिब देशको धनी राष्ट्रपति दरीएर आँसुमा  रमाइरहेका नेपाली जनताको विलासी अभिभावक बन्ने चाहना छोडिदिनुस् महामहिम ज्यू । यदि तपाई सुरक्षाको थ्रेटमा हुनुहुन्छ भने, तपाइ भनिदिनुहोस् मात्र, नेपाली जनता तपाइलाई सुरक्षा दिनका लागि आफ्नो ज्यानको आहुति दिन पछि पर्ने छैनन् । तर, तपाइेको  जीवनस्तर   धनी देश र धनी जनताका राष्ट्रपति भन्दा पनि गरिब देशको गरिब जनताको राष्ट्रपतिकै रुपमा  सुहाउछ अहिले । देश पनि गरीब राख्ने र राष्ट्रपतिलाइ पनि गरीबिमा खुम्च्याउने  मेरो आशय हैन सबै मिलेर देश धनि बनाउने र राष्टपतिलाइ ५०  करोडको गाडी किन्ने सपना धेरै नेपालीको छ ।

त्यसैले महामहिमज्यू १८ करोडको गाडीको यर्थाथता आज नै प्रेस वक्तव्य निकालेर जनतामाझ ल्याइदिनुस् । तपाइको आफ्नै चाहना हो कि यात फेरि तपाइका आसेपासेले तपाइको लोकप्रियता घटाउन लागि परिरहेका छन् वा सांचिचकै कुनै बाध्यता छन भन्ने कुरा जनतालाई  बुझाइ दिनुस् महामहिमज्यू । नेपाली जनता जान्न चाहान्छन्, के तपाइकै चाहना हो त १८ करोडको गाडी चढ्ने ?

वि.सं.२०७५ मंसिर ४ मंगलवार १२:१५ मा प्रकाशित

ADBL AD