७ मंसिर काठमाडौ । भारतले नेपालको एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको छ । भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्याङ्दी –२ जलविद्युत आयोजनाको लाइसेन्स ११ वर्ष ‘होल्ड’गरेको थियो । त्यही आयोजना उसले अहिले तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ । ६ सय मेगावटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको हो ।
यो बेचबिखनलाई लगानी बोर्डले समेत स्वीकृत गरिसकेको छ । लाइसेन्स बेचेबापत प्राप्त हुने रकम भारत लैजान जीएमआरले राष्ट्र बैंकले स्वीकृत पाउन लागेको छ । बेचबिखनको तारतम्य नेपाल सरकारको आशिक लगानी रहेको बुटवल पावर कम्पनी बीपीसी ले मिलाएको हो ।
जीएमआरले उक्त रकम लैजान राष्ट्रबैंकले स्वीकृत दिन लागेको राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक भीमष्मराज ढुंगानाले बताए । लगानी बोर्डबाट स्वीकृत भइ आएकोले राष्ट्र बैंकले पनि स्वीकृत दिने अन्तिम प्रक्रियामा छ , ढुंगानाले बिहीबार अन्नपुर्णसित भने,राष्ट्र बैंकले स्वीकृति दिन्छ ।
जीएमआरले लाइसेन्स बेच्ने समझदारीपत्र एमओयु गरेकाले लगानी बोर्डको स्वीकृति मागेको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । जीएमआर काम गर्न सकिएन भन्दै आयो । वित्तीय सहयोका लागि पनि बेच्नुपर्ने भनेपछि हामीले पनि स्वीकृति दियौँ, अधिकारीले भने । आजको अन्नपुर्ण दैनिकबाट ।
वि.सं.२०७५ मंसिर ७ शुक्रवार ०७:५८ मा प्रकाशित