११ मङ्सिर, नयाँ दिल्ली । माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले अर्को महिना भारतको भ्रमण गर्ने भएका छन् ।
पद बहाली गरेको दश दिनभित्रै उनी भारत भ्रमणमा आउने निर्णय भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
भारतको विदेश मामिला मन्त्रालयका उच्च अधिकारीका अनुसार सोलिह आगामी डिसेम्बर १७ तारिखका दिन भारत भ्रमणमा आउने भएका हुन् ।
नयाँ दिल्लीमा सोमबार दुई देशका विदेश मन्त्रीहरूका बीचमा छलफल भएपछि भ्रमणको टुङ्गो लागेको समाचारमा जनाइएको छ ।
मन्त्रीद्वयले दुई देशको जारी कार्यक्रमहरूका साथै नयाँ सहकार्यका क्षेत्रका बारेमा पनि छलफल गरेका भारतीय विदेश मन्त्रालयले जनाएको छ । उनीहरूले आर्थिक सहयोग आदानप्रदान, व्यापारीक सम्बन्ध र दुईपक्षीय हितका बारेमा पनि कुराकानी गरेको बताइएको छ ।
वि.सं.२०७५ मंसिर ११ मंगलवार ०९:२६ मा प्रकाशित