१८ मङ्सिर दोहा, कतार । कतारले ग्यास उत्पादनमा आफ्नो क्षमता बढाउने लक्ष्यका साथ सन् २०१९ को शुरूमा तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) बाट बाहिरिने भएको कतारका इन्धन मन्त्री साद अल–कावीले सोमबार घोषणा गरेका छन् ।
उनले कतारको निर्णयलाई ‘प्राविधिक र रणनीतिक’ भएको बताउँदै यसको कतारलाई लगाइएको नाकावन्दीसँग कुनै सम्बन्ध नरहेको पनि प्रष्ट पारे ।
साउदी अरब हावी देखिने ओपेकमा कतार सन् १९६१ देखि सदस्य वन्दै आएको थियो । पूर्व सहयोगी मित्रराष्ट्र साउदी अरबले विगत १८ महिना यता दोहालाई बहिस्कार गर्दै आएको अवस्थामा कतारको यो निर्णय आएको हो ।
कतारले सन् २०१९ को जनवरीदेखि लागु हुनेगरी ओपेकबाट छुट्टिने घोषणा गरेको हो । इन्धनमन्त्री कावीले दोहामा सोमबार विहान एक प्रेस सम्मेलन गरी उक्त सूचना सार्वजनिक गरे ।
यद्यपि कतारको यो पछिल्लो निर्णय साउदी अरब वा यसका अन्य सहयोगी खाडी राष्ट्रसँग तनाव बढाउने उद्देश्यबाट प्रेरित भने नभएको मन्त्री कावीले जनाएका छन् ।
कतारले तेल उत्पादनलाई निरन्तरता दिने र ल्याटिन अमेरिकी मुलुकको सबैभन्दा धेरै तेल आयात गर्ने मुलुक ब्राजिललगायतका देशहरूसँग सम्झौता गरेर अघि बढ्ने कावीले बताए ।
तर आगामी दिनमा कतारको प्रमुख प्राथमिकता ग्यास उत्पादन गर्नु हो । कतार ग्यास आपूर्तिका हिसाबले विश्वको सवैभन्दा धेरै ग्यास आपूर्ति गर्ने मुलुक हो । कतारले हालको ग्यास उत्पादनलाई सन् २०२४ सम्म प्रतिबर्ष ११ करोड टन ग्यास उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै उसले ग्यास आपूर्तिलाई विशेष महत्व दिने रहने मन्त्री कावीले बताए ।
कतारले प्रतिदिन छ लाख ब्यारेल तेल उत्पादन गर्ने गरेको र यो कच्चा तेल उत्पादनका हिसाबले १७ औँ ठूलो तेल उत्पादक राष्ट्र हो ।
वि.सं.२०७५ मंसिर १८ मंगलवार १२:२५ मा प्रकाशित