back

क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ४ अध्यक्षमा गोपाल जिसी चयन

वि.सं.२०७५ मंसिर २० बिहीवार

399 

shares
IME Limited
NTC AD


२० मंसिर, पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ प्रदेश नं ४ को भेला भव्य रुपमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाको भवनमा बिहीबार सम्पन्न भएको भेलाले नवदृष्टि डटकमका प्रधान सम्पादक गोपाल जिसीको नेतृत्वमा एक सदस्य पछि थप्ने गरी ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । सदस्यहरुमा नेपाल पत्रकार महासंघ नवलपुरका सदस्य सञ्जय तिवारी, वर्गदृष्टि साप्ताहिकका संवाददाता राजेन्द्र सुवेदी, रेडियो कुसुमका समाचार वाचक निर्मल पौडेल, दाउन्ने साप्ताहिककी संवाददाता शोभा जिसी, रेडियो वुर्तिवाङका सुमन विश्वकर्मालगायत रहेका छन् ।

भेलाको उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष इन्द्र राउतले मैनबत्ती बालेर गरेका थिए । भेलामा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव रामकुमार श्रेष्ठ, केन्द्रीय समितिका कार्यालय सदस्य लोकराज जैसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, महासंघका कास्की शाखा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण बास्तोला लगायतका पत्रकार नेताहरुको उपस्थिति रहेको थियो भने क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा ४ नं.प्रदेश सचिव श्रीनाथ अधिकारी, सोही पार्टीका पिविएम तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ४ नं. प्रदेश संयोजक केशबहादुर परियार, पार्टी केस नारायण अधिकारी, पार्टी कास्की सचिव कर्णबहादुर पुन, क्रान्तिकारी बुद्धिजीबी परशुराम कोइराला लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

‘राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा पत्रकारको भूमिका’ विषयक अन्तक्र्रिया समेत राखिएको भेलालाई सम्बोधन गर्दै भेलाका विशेष अतिथि क्रान्तिकारी माओवादीका नेता श्रीनाथ अधिकारीले पत्रकारहरुले देश र जनतालाई केन्द्रमा राखेर पत्रकारिता गर्नुपर्ने विचार व्यक्त गरे । उनले भने, “क्रान्तिकारी माओवादीको भर्खरै सम्पन्न बैठकले नेपालमा क्रान्तिको आवश्यकता रहेको ठहर गरेको छ र सोही अनुसार क्रान्तिकारी क्रियाकलाप पनि गरिरहेको छ । अहिले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल अवस्थामा रहेका छन् । यी समस्याहरुको समाधानका लागि क्रान्तिको विकल्प छैन । पत्रकारहरुले देश र जनतालाई केन्द्रमा राखेर कलम चलाउन जरुरी छ ।”

भेला तथा अन्तक्र्रियाका प्रमुख अतिथि तथा संगठनका अध्यक्ष इन्द्र राउतले मूलधारका मिडियाहरुले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई स्थान नदिने गरेको चर्चा गर्दै मिडियाका कन्टेन्टहरु कर्पोरेट हाउसहरु, बहुराष्ट्रिय कम्पनी, सत्ता र शक्तिको प्रभाव अनुसार निर्धारण हुने गरेको आरोप लगाए । उनले भने, “अहिले सरकारी कार्यालयहरुमा कालापानी–लिपुलेक, सुस्ता लगायत १० हजार वर्ग किमीभन्दा बढी नेपाली भूमि गायब पारिएको नक्सा झुण्ड्याइएको छ, भ्रष्टाचारले सीमा नाघेको छ, महंगी र कर वृद्धिले जनताको ढाड सेकेको छ, तर त्यस्ता समाचारहरुलाई मूलधारका मिडियाहरुले स्थान दिएका छैनन् । मिडियाहरु आवाजविहीनहरुको आवाज बन्नुपर्नेमा सत्ता र शक्तिवालाहरुको मुखपत्र जस्ता बनेका छन् ।”

अध्यक्ष राउतले सरकारले ल्याएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी संहिताहरु तत्काल खारेज नगरे क्रान्तिकारी पत्रकार महासंघको नेतृत्वमा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।
राउतले प्रेस काउन्सीलले ल्याउन लागेको इलेक्ट्रोनिक मिडिया वर्गीकरण प्रस्तावले साना तथा स्वरोजगार मिडियाहरुलाई निषेध गर्ने र मुठ्ठीभर ठूला मिडियाको मात्र पक्षपोषण गर्न खोजेकोले वर्गीकरण नीति साना लगानी तथा स्वरोजगार मिडिया मैत्री बनाउनुपर्ने पनि धारणा राखे । उनले भने, “साना तथा स्वरोजगार मिडियाहरुले आफ्नो अस्तित्व धान्न अब उनीहरुसँग संघर्षबाहेक अन्य विकल्प छैन ।”
उनले विद्युतीय कारोबार ऐन लगाएर सरकारले समाचार लेखेकै कारण पत्रकारहरुको हातमा हत्कडी लगाउने गरेको भन्दै त्यो ऐन खारेजी हुनुपर्ने समेत बताए ।
भेलालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका ४ नं. प्रदेश संयोजक केशबहादुर परियारले सिंहदरबारको भ्रष्टाचार गाउँ गाउँसम्म महामारीको रुपमा फैलिएको चर्चा गर्दै सरकारले दुई तिहाईको दम्भ देखाएर जनतामाथि निरंकुशता लाद्ने हो भने जनता बन्दुक उठाउन बाध्य हुने चेतावनी दिए ।
भेलामा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव रामकुमार श्रेष्ठ, केन्द्रीय समितिका कार्यालय सदस्य लोकराज जैसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण बास्तोला, कान्तिपुर दैनिक तथा टिभीका कास्की प्रमुख लालप्रसाद शर्मा लगायतले क्रान्तिकारी पत्रकार महासंघको प्रदेश भेलाको सफलताको शुभकामनाका साथै नेपालको पत्रकारिता सत्ता, शक्ति र कर्पोरेट हाउसहरुको प्रभावबाट मुक्त हुनुपर्ने धारणा राखेका थिए ।
गोपाल जिसीले अध्यक्षता गरेको उक्त भेलाको सञ्चालन संगठनका केन्द्रीय सदस्य राजेन्द्र सुवेदीले गरेका थिए ।
क्रान्तिकारी पत्रकार महासंघले सबै प्रदेश र जिल्लाका भेला सम्मेलन सम्पन्न गर्ने अभियानसंगै पेशागत हकहितसँग सम्बन्धित मागहरु अगाडी सारेर संर्घषलाई समेत संगसंगै लैजाने बताउँदै आएको छ । साथै महासंघको प्रदेश नं ४ ले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ ।

वि.सं.२०७५ मंसिर २० बिहीवार २०:१४ मा प्रकाशित

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको...

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा कार्यबाहक मेडिकल सुपरिडेन्टेन्ट डा. केशव...

मौसम परिवर्तनसँगै गर्मी बढेपछि अस्पतालमा बिरामीको चाप

मौसम परिवर्तनसँगै गर्मी बढेपछि अस्पतालमा बिरामीको चाप

तनहुँ । मौसम परिवर्तनसँगै गर्मी बढेपछि यतिबेला जिल्लाको सदरमुकामस्थित दमौली...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा...

सडक सञ्जालमा जोडियो ढोरपाटन

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग)...

आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने

आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग...