२४ मंसिर, म्याग्दी । विद्यालयबाट घर फर्किदा आमा मैयाँ किसानले साँधुरो कोठामा डोरीले पासो लगाएर झुन्डिएको देख्दा १० बर्षिया सुस्मितालाई नजिकै रहेको बेनी नगरपालिको खवराको लभ्लीहिल खसेर थिचेजस्तै भयो । चरम गरिबीका कारण छोराछोरीलाई पेटभेरी खाना समेत दिन नसक्ने अवस्थाकी मैयाँले घरमा कोही नभएको मौका छोपी खाटको छेउमा डेढबर्षको छोरालाई साक्षी राखी आत्महत्या गरेपछि चारैजनाको बिचल्ली भएको छ । बैदेशिक रोजगारमा रहेका बुबासंग घरायसी विवाद र गरिबीका कारण आत्महत्या गरेपछि नाबालक सहित चार छोराछोरीले विहान–बेलुकी हातमुख जोड्न समेत ठुलै यूद्ध जिते जस्तै भएको छ । जन्मदिने आमाले सधैको लागी छोडेर गएपछि बुबा समेत नियमित सम्पर्कमा नआउँदा मावली हजुरआमा र मामासंगै बसेका चार बालबालिकाले विद्यालय समेत जादैनन् ।
१४ बर्षिया अस्मिता, ११ बर्षिया सुस्मिता, ४ बर्षकी अमृता र २ बर्षकी अमृतले मंसिरको चिसो रात, नजिकै रहेका म्याग्दी खोलाबाट चलेको सिरेटोले मुटु नै कमाउने गरी जाडोमा खाली खुट्टा, एकसरे लुगा लगाउनुपर्ने बाध्यता रहेको छ ।बेनीबजार नजिक रहेको हाँडेभीरमा एउटै साँधुरो कोठामा रहेका एउटा खाट र चिसो भुईमा ६ जना सुत्ने गरेको सुस्मिताकी हजुरआमा पुतलीले बताईन् । ‘छोरीले आत्महत्या गरेपछि बिचल्ली भएको छ,‘एक छाक खाएर भोकै सुत्छौ’ उनले भनिन् ।
रोजगारीको खोजीमा खाडी गएका ज्वाईको कमाईले ऋण तिर्ने समेत मुस्किल भएको बताउँदै जाडोमा तातो लुगा समेत नभएको बताईन् ।‘जिवितै भएपनि नर्क जस्तै लाग्छ,‘तपाईले यहाँ क्यामेराले के खिच्नुहुन्छ ?’उनले आँखाभरी आँसु निकाल्दै भनिन् ।बृद्ध अवस्थामा रहेका भाई गोरे किसानले दैनिक ज्यालामजदुरी गरी कमाएको आम्दानीले चामल किन्ने गरेपनि चामल सकिएपछि भोकै रात काट्नुपर्ने बाध्यता रहेको बताईन् ।
‘एउटीले पेट्रोल पम्म काम गर्छिन्,‘विद्यालय पठाउन पनि सकिँन, अरुले पनि घरमै दिन विताइरहेका छन’ उनले भनिन् ।नजिकै रहेको विद्यालयमा पठाउन आवश्यक पर्ने लत्ताकपडा, पुस्तक लगाएतका साम्रागी खरिद गर्ने एक पैसा पनि नभएको उनको गुनासो छ ।‘विदेशिएका ज्वाईले पैसा पठाउँदैनन्,‘दसैंतिहारमा पनि फोन आएन, छोराछोरी रुँदै बसे’उनले गुनासो गरिन् । बेनीका सुनचाँदी ब्यवसायी लीला बहादुर बानियाँको जग्गामा ब्लक र टिनको छाप्रो हालेर बसेपनि आर्थिक अवस्थाका कारण भाडा समेत नलिने गरेको उनले बताईन् । दैनिकजसो भोकै सडकमा निस्किने बालबालिकालाई म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले खाजा दिने गरेका छन् ।‘विहानै आउँछन्,‘ग्यारेजमा आउने चालकले पैसा र खानेकुरा दिन्छन्’ श्रेष्ठले भने । उनका अनुसार लुगा समेत नलगाई आउने गरेका बालबालिकालाई संरक्षणको आवश्यकता रहेको बताए। उनले चिसो भुईमा खेल्ने गरेकाले कलिलै उमेरमा दुई बालबालिका विरामी पर्ने चिन्ताले उद्धारको प्रयास गरेपनि विदेशमा रहेका ज्वाईको अनुमति लिनुपर्ने बताएपछि रोकिएको बताए । हाँडेभिर आसपासमा रहेकाले खाजा, ग्यारेजमा आउने चालकले समेत अवस्था दयनीय देखेर सहयोग गर्ने गरेपनि तत्काल उद्धारको आवश्यकता रहेको स्थानीयको भनाई छ ।
रित्तै खुट्टा, एकसरे लुगा
डेढबर्षको उमेरमा आमाले छोडेर गएपछि अमृतको खुट्टामा जुत्ता परेको छैन् । आमाको काखमा गुटुमुटु सुत्ने अमृतले घरका अन्य सदस्यले जस्तै एकछाक पनि पेटभरी खान पाउँदैनन् । प्रचण्ड गर्मीमा लगाउने लुगा जस्तै उनले पातलो लुगा, रित्तै खुट्टामा दिदी अमृतासंगै गाडीको टायरभित्र खेल्दै गरेको अवस्थामा भेटिएका अमृतले तीनदिन देखि भात समेत खान पाएका छैनन् । कोठामा चालम भएपनि तरकारी किन्ने पैसा नभएपछि विस्कुट र चाउचाउ मागेर खाएका छन् ।
अमृतको हातमा रहेको चाउचाउ स्थानीय एक होटलकी मालिकले दिएकी थिईन् । चामल नहुदाँ चिउरा र पानी समेत खाएर बस्ने गरेको उनीहरुको भनाई छ । ‘मागेर चलाउनु पर्ने बाध्यता छ,‘गरिबीका कारण उमेर बढ्दै गएका नातीनीहरु असुरक्षित हुन्छन भन्ने डर छ,‘प्रलोभनमा पारेर कसैले दुरुपयोग गर्छन भन्ने चिन्ता लाग्छ’ गोरे किसानले भने ।
उनले विरामीका कारण केहीदिन ज्यालामजदुरीम जान नसक्ने अवस्थाले घरमा चुल्हो समेत बल्न नसकेको बताए । नजिकै बग्ने म्याग्दी खोलाको चिसोमा न्यानो कपडाको अभावले सुत्ने बेलामा ओड्ने कपडा समेत नभएको बताए । धन कमाउनका लागि खाडी लागेका छोरीज्वाई दुईबर्ष वितिसक्दा समेत घरमा खर्च नपठाएको र नफर्केका कारण खान लगाउन समेत माग्नुपर्ने अवस्था आएको उनले गुनासो गरे । बालबालिकालाई शरणको याचना समेत गरेका छन् । म्याग्दीलाई गतबर्ष ३९ औ साक्षर जिल्ला घोषणा गरिएपनि विद्यालय उमेर समुहका चारजना बालबालिका शिक्षा विकास तथा समन्वय कार्यालय नजिक भेटिएका छन् ।
वडास्तरमा विद्यालय उमेर समुहका बालबालिका विद्यालय जाने गरेको तथ्याङक देखाउने गरिएपनि वास्तविकता फरक रहेको जानकारहरु बताउँछन् । जिल्लाको तथ्याङ्क अनुसार म्याग्दीको कुल जनसङ्ख्या एकलाख २५ हजार ९४४ मा घरधुरी सर्वेक्षणको तथ्याङ्क अनुसार म्याग्दीमा १६ देखि ६० वर्ष उमेर समूहका ८२ हजार ८२६ जनसङ्ख्यामध्ये ७९ हजार ७३९ जना नागरिक साक्षर बनेको दावी समेत गरिएको थियो ।
वि.सं.२०७५ मंसिर २५ मंगलवार ०९:४६ मा प्रकाशित