२६ मंसिर, काठमाडौं । सरकारले कृषि तथा कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा मुलुकमा एकवर्षमै दुई अर्ब रुपैयाँको कागती आयात भएको छ । राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा भारतबाट दुई अर्ब १५ करोड रुपैयाँको कागती आयात भएको आजको नागरिक दैनिकमा समाचार छ ।
केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत राजेन्द्र कोइरालाले यो तथ्यांक अझ धेरै हुनसने बताए । ‘कागती मात्र दुई अर्व बढीको आयात भएको छ,’ उनले भने, ‘सुन्तला जातका अन्य वस्तुको आयात अझ धेरै छ ।’ कागती सुन्तला जातमा पर्ने फलफूल हो ।
ओसिलो पाखामा फल्ने, अचार र चियामा बढी प्रयोग हुने कागती आयातले कृषिजन्य वस्तु आयातको डरलाग्दो तस्बिर देखाएको छ । कृषि प्रधान देश भएर पनि नेपालीको भान्सामा प्रयोग हुने धनियाँदेखि खाद्यान्न सम्म विदेशी उत्पादनकै भर पर्नुपर्ने अवस्था छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको चार महिनामा नौ अर्ब ४० करोड ४७ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको तरकारी मात्र आयात भएको छ ।
वि.सं.२०७५ मंसिर २६ बुधवार ०८:१३ मा प्रकाशित



























