२८ मंसिर, काठमाडौं । सशस्त्र द्धन्द्धका घाइते कुलप्रसाद भट्टराई बिहीबार विहान नौ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री राम बहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो–उनको झोलामा भेटिएको मेटासिट । प्रहरीले उनको साथबाट ‘सुसाइड नोट’ समेत फेला पारेको छ ।
सरकारले घाइतेको उपचार र सुविधाका लागि गरेको सम्झौता पालना नगरेकाले विरोधस्वरुप विष शेवन गर्न लागेको उनले बताए । गत मंसिर ५ गते उनले गृहमन्त्रीकै सामुन्ने विष सेवन गरेका थिए । तत्कालै अस्पताल पु¥याइयो ।
चारदिनको उपचारपछि महाराजगन्जस्थित प्रहरी अस्पतालबाट डिस्चार्ज गरियो । त्यसपछि उनी रत्नपार्कको शान्ति वाटीकामा अनशन बसे । प्रहरीले उनलाई पक्रेर एक रात राखेको थियो । उनी भोलीपल्टै सशस्त्र द्धन्द्धका अन्य घाइतेसहित गृहमन्त्रालय पुगेका थिए । गृहमन्त्रीका सल्लाहकार सुर्य सुवेदीको उपस्थितिमामा लिखित सम्झौता पनि गरे ।
‘सरकारले जनयुद्धका मजस्ता घाइतेको पीडा सुन्दैन भने बाँचेर के अर्थ ? सरकारले झुटो आश्वासन दियो, त्यहि भएर मर्न खोजेको हुँ’ उनले भने । गृहमन्त्रीका सल्लाहकार सुवेदीले घाईतेको उपचार र जिविकोपार्जनका विषयमा लिखित सम्झौता कार्यान्वयनका लागि मन्त्रिपरिषद् प्रस्ताव लैजाने तयारी छ,’ उनले भने । बिहीबारको घटनाारे उनले अनभिज्ञता दर्शाए ।
वि.सं.२०७५ मंसिर २८ शुक्रवार ०८:३१ मा प्रकाशित