युनाईटेड किरात अर्गनाईजेसन अफ अमेरिका न्यू ईङगलैण्ड च्याप्टरको आयोजनामा यहि डिसेम्बर २२ का दिन न्युहेम्प्शायर राज्यको म्यानचेस्टरमा यलम्बर साँझको कार्यक्रम हुने भएको छ ।
प्रकृतिपूजक किरात राईहरूको महान चाडहरू उभौली र उधौली साकेला भूमी पुजा वार्षिक रुपमा दुईपटक गरिने र मंसिरे पूर्णे अन्तर्गत पर्ने यस उधौली साकेलाको अवसरमा यो कार्यक्रम गरिने भएको हो ।
वैशाखे पूर्णिमा अन्तर्गतको उभौली साकेला भूमी पूजामा प्राकृतिक प्रकोप र रोगब्याधीले नसताओस् तथा खेतीपाती राम्ररी सप्रियोस् भनी प्राकृतिक शक्तिको लागी भूमी पूजागरी पितृहरूको आशिर्वाद माग्दै,साकेला नाचीने गरिन्छ । साथै उधौली साकेला भूमिपुजामा उक्त वर्षको वर्षाको समयमा लगाईएको अन्नबाली सकुसल भित्र्याउन सफल भईएको,प्राकृतिक प्रकोप र रोगब्याधीहरू नलागी बाली सप्रेको भनी पूनः उनै प्रकृती (भूमी) र सिप्तुलुङ्गमा बिराजमान पितृहरूप्रति कृतज्ञ हुदै उधौली साकेला भूमीपूजा श्रध्दा पूर्वक मनाउने गरिएको छ ।
यो “उधौली साकेला भूमिपूजा“ र किरात बंशका प्रथम राजा तथा किरात येलेदोङ्ग संम्बतका प्रबर्तक यलम्बरको स्मृतिमा स्थापित यलेदोङ्ग सम्बत वर्ष–५०७८ को शुभअवसरमा ‘यलम्वर साँस्कृतिक साँझ’ मनाइने भएको छ । न्यू ईङगलैण्ड च्याप्टर सभापति मुक्ति नारायण राईका अनुसार यलम्बर जन्मजयन्ती र उधौली लाई एकिकृत रूपमा आयोजना गरी एक आपसमा शुभकामना आदान–प्रदान गर्दै भब्यरूपमा साँस्कृतिक कार्यक्रम समेत गर्ने कार्यक्रम रहेको छ ।
सभापति राईका अनुसार सम्पूर्ण न्यू ईङ्लैण्डबासी नेपाली दाजुभाई, दिदीबहिनीहरू तथा बिभिन्न संघरसंस्थाहरूहरुको अतिरिक्त न्युहेम्प्शायर राज्यको गभर्नर क्रिस सुनुनु ,सिनेटर लो डी अल्सनड्रो र स्थानीय कांग्रेस म्यानहरु समेतलाई निमन्त्रणा गरिएको छ ।
सदाझैं यसपटक पनि सबै महानुभावहरुको सहयोग,सद्भाव र न्यानो मायाको अपेक्षा गरिएको सभापति राइले बताएका छन् ।
वि.सं.२०७५ मंसिर २८ शुक्रवार ०९:१० मा प्रकाशित