२९ मंसिर, जेनेभा । संयुक्त राष्ट्रसङ्घको अधिकार प्रमुखले लोकतान्त्रिक गणतन्त्र कङ्गोमा विपक्षीमाथि सरकारी सुरक्षाकर्मीहरूले गरेको आक्रमणको शुक्रबार निन्दा गरेका छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा विपक्षीले निकालेको प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि कङ्गोमा राजनीतिक विवाद बढ्दो छ ।
“विपक्षीले निकालेको ¥यालीमा सरकारी पक्षले सुरक्षाकर्मीको प्रयोग गरेको घटनाले मलाई चिन्तित बनाएको छ,” राष्ट्रसङ्घको मानवअधिकार उच्च आयुक्त मिसेल बाचेलेटले वक्तव्यमा भनेका छन् ।
उनले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारको पूर्ण सम्मान गर्न पनि सरोकारवालाहरूलाई आह्वान गरेका छन् ।
यस्ता हस्तक्षेपले निष्पक्ष र विश्वसनीय निर्वाचनमा असर पर्नेतर्फ पनि उच्च आयुक्त मिसेलले ध्यानाकर्षण गराएका छन् ।
सरकारी पक्षको हस्तक्षेपकै कारण राजनीतिक विवाद बढ्दै गएकाले आउँदो डिसेम्बर २३ तारिखमा मतदान गर्नेगरी तय भएको निर्वाचन नै अप्ठ्यारोमा परेको विश्लेषण गरिएको छ ।
विपक्षीहरूले गरेको प्रदर्शनमा बिहीबार प्रहरीले हस्तक्षेप गरेर गोली प्रहार गर्दा एक किशोरको मृत्यु भएको थियो ।
यसअघि गत हप्ता पनि विपक्षी समर्थकले गरेको एक कार्यक्रममा गोली प्रहार हँुदा पाँच जनाको मृत्यु भएको थियो ।
विपक्षीतर्फका उम्मेदवार मार्टिन फायुलुको स्वागतका क्रममा पूर्वी दक्षिणी क्षेत्रमा आयोजित एक कार्यक्रममा भेला भएकामाथि गोली प्रहार भएको थियो ।
एकपछि अर्को आक्रमण र हिंसाका घटना बढ्दै गएपछि देशभित्र र बाहिरबाट कङ्गोको सरकारको चर्को आलोचना भइरहेको छ ।
वि.सं.२०७५ मंसिर २९ शनिवार ०९:५५ मा प्रकाशित