५ पुस, लण्डन, बेलायत । बेलायतको युरोपेली संघ (ईयू) बाट बहिर्गमनपछि ईयू क्षेत्रबाट बेलायत आप्रवासनबारे बेलायतको प्रस्ताब बुधबार सार्वजनिक गरिएको छ । तर व्यवसायिक समूहहरूले ब्रेक्जिट सम्झौता गरिनु पहिले आप्रवासनबारे लिइने कडा नीतिले बेलायती अर्थतन्त्रलाई समस्या पार्नसक्ने भनी यस विषयमा संवेदनशील बन्न आग्रह गरेका छन् ।
बेलायती गृहमन्त्री साजित जाबिदले भने “ब्रेक्जिटपछि ईयू सदस्य राष्ट्रहरूबाट बेलायत आउने नागरिकलाई भिसाको व्यवस्था गरिनेछ र नयाँ नियमानुसार योग्यताका आधारमा प्रवेश गर्न पाइने व्यवस्था गरिनेछ । तर राष्ट्रियताका आधारमा होइन । यसले ईयू र ईयूबाहेकका व्यक्तिहरूलाई बेलायत प्रवेशमा समानता ल्याउनेछ ।”
यो कूल आप्रवासन समस्यालाई व्यवस्थित गर्न र दीर्घकालीन सामाधानको बाटो तय गर्ने महत्वपूर्ण आधार बन्नेछ, उनले बीबीसी रेडियोसँगको कुराकानीमा बताए । उनले थपे, “यो नयाँ नीति आप्रवासीको जनसङ्ख्यालाई घटाउने कुनै विशेष लक्ष्य भने होइन ।”
उनले भने, “नयाँ नियमले स्वदेशी कामदारलाई प्राथमिकता दिने र आप्रवासी श्रमिकमाथि थप दबाब भने पर्नेछ ।”
वि.सं.२०७५ पुस ५ बिहीवार ०९:१० मा प्रकाशित