७ पुस, अल्जेर्स । अल्जेरियाली तटमा शुक्रबार एउटा डुङ्गामा आगलागी हुँदा २० आप्रवासी बेपत्ता भएका छन् ।
सुरक्षा स्रोतलाई उद्धृत गर्दै अल्जेरियाको राष्ट्रिय समाचार संस्था (एपीएस) ले जनाएनुसार डुङ्गामा २९ आप्रवासी यात्रु थिए ।
घटनापछि तत्कालै उद्धारमा जुटेका स्थानीय, तालीम प्राप्त गोताखोर र सुरक्षाकर्मीले घटनास्थलबाट नौ जनालाई उद्धार गरेको समाचारमा जनाइएको छ । तीमध्ये दुई बालबालिका रहेका छन् ।
उद्धारगरिएका मध्ये केहीलाई आगोले डढाएकोले सामान्य घाइते भएको अधिकारीहरूले बताएका छन् ।
“उद्धार गरिएकाको अवस्था स्थिर रहेको छ,” पश्चिमी अल्जेरियाको एउटा अस्पतालका निर्देशक मोहम्मद सायबले भन्नुभयो । उद्धार गरिएकालाई त्यही अस्पतालमा लगेर उपचार गराइएको छ ।
समाचारमा जनाइएनुसार डुङ्गामा रहेका सबै जना अल्जेरियाका हुन् । आगलागी भएपछि यात्रु उफ्रिएर भागेका थिए । आगो के कारणले लाग्यो भन्ने अहिलेसम्म एकीन हुन सकेको छैन ।
वि.सं.२०७५ पुस ७ शनिवार ०९:४१ मा प्रकाशित