८ पुस, पोखरा । भरतपोखरी विकास मञ्च कास्कीद्वारा शनिबार आयोजित माटो परीक्षण शिविरमा पोखरा महानगरपालिका–३३ भरतपोखरीका ६५ स्थानको माटो परीक्षण गरिएको छ ।
कृषकको हितलाई दृष्टिगत गर्दै आयोजित शिविरमा माटोको पहिचान गरी उत्पादकत्व वृद्धिका लागि परामर्श सहयोग उपलब्ध गराइएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए । वडास्तरीय कृषि सञ्जालको प्रवद्र्धन एवं बाघमारा बहुद्देश्यीय सहकारी संस्था लि, सुरक्षा बहुद्देश्यीय सहकारी संस्था लि, भरतपोखरी साना किसान कृषि सहकारी संस्था लि, भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लि र जनहित कृषि सहकारी संस्था लिलगायतका संस्थाको सहयोगमा शिविर आयोजना गरिएको थियो ।
वडा अध्यक्ष शिवप्रसाद आचार्यले कृषिको व्यावसायिक विकासका लागि कृषकमा माटोको उत्पादकत्वबारे अवगत हुनुपर्ने बताउँदै यस किसिमका शिविरबाट कृषक लाभान्वित बन्ने विश्वास व्यक्त गरे । माटो परीक्षणका क्रममा अधिकांश स्थानको माटोमा अम्लियपन कम रहेको पाइएको बताउँदै माटो विज्ञ टीकादत्त घिमिरेले कोषे बालीको विस्तार र गोठे मलको प्रयोग बढाउनुपर्ने सुझाव दिएका थिए ।
मञ्चका महासचिव गणेशप्रसाद ढकाल, सल्लाहकार केशरप्रसाद निर्दोषी, केशवप्रसाद आचार्य, कार्यक्रम संयोजक ऋषिमाया लामिछानेलगायतले शिविरले यस क्षेत्रका कृषकलाई आफ्नो जमीनको उत्पादकत्व र माटोको वास्तविक अवस्थाबारे जानकारी भएको उल्लेख गरे ।
वि.सं.२०७५ पुस ८ आइतवार ०७:३७ मा प्रकाशित