११ पुस, बोगिबिल, भारत । भारतले मङ्गलबार उत्तरपूर्वी राज्य आसाममा रहेको सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ को उद्घाटन गरेको छ । पुलको सञ्चालनले भारतको चीनसँगको संवेदनशील मानिएको सिमानामा सुरक्षालाई प्रत्याभूत गर्न नयाँ बाटो खुलेको भारतीय अधिकारीले जनाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रम्हपुत्र नदीमा बनाइएको ४.९ किलोमिटर लामो बोगिबिल पुलको एक भब्य समारोहबीच उद्घाटन गर्नुभएको छ । पुल निर्माण गर्न करिब दुई दशक लागेको र निर्माण खर्च ८० करोड अमेरिकी डलर खर्च लागेको भारतीय अधिकारीले बताएका छन् ।
दिब्रुगढ शहर नजिकै बनाइएको उक्त पुलका कारण चीनसँग नाका रहेको अरुणाञ्चल प्रदेशमा सुरक्षाका लागि सैन्य गतिविधि पु¥याउन सहज हुनेछ ।
भारतले चीनसँग १९६२ को युद्धमा सेनालाई सहज तैनाथ गर्न नसक्दा अरूणाञ्चल प्रदेशको केही भूमि गुमाएको बुझाइ भारतीय पक्षको रहेको छ ।
पुलले ६० टन बराबरको वजन धान्नसक्ने दाबी गरिएको छ । जसका कारण युद्धका लागि आवश्यक लडाकू जेटलाई पुलमा नै अवतरण गर्न सकिनेछ ।
भारतले रणनीतिक सुरक्षाका लागि महत्व राख्ने ९.१ किलोमिटर लामो अर्को एउटा पुलको पनि सन् २०१७ मा निर्माण सम्पन्न गरेको थियो ।
वि.सं.२०७५ पुस ११ बुधवार १०:५५ मा प्रकाशित