११ पुस, वासिङटन । संयुक्तराज्य अमेरिकाको बाल्टिमोर प्रहरीले रकेट लन्चरसमेतका झण्डै दुई हजार थान हातहतियार जनतासँग खरिद गरेको छ । अमेरिकाको पूर्वीक्षेत्रमा रहेको बाल्टिमोर नगरमा हिंसात्मक घटना बढ्दै गएपछि प्रहरीले आम जनतासँग रहेका त्यस्ता हातहतियार किनेर फिर्ता लिएको हो ।
गत साता सञ्चालित तीन दिने अभियानका क्रममा गैरकानुनी समेतका हातहतियार खरिद गरिएको प्रहरीले जनाएको छ । यस सहरमा लगातार चार वर्षदेखि बर्सेनि ३०० जनाभन्दा बढी व्यक्तिको एकअर्का विरुद्ध आक्रमणबाट मृत्यु भएको छ ।
एकजना प्रहरी प्रवक्ताले प्रहरी अधिकृतले एक हजार ८६० वटा हातहतियार सङ्कलन गरेको जानकारी दिए । नगरका मेयरले ट्वीट गरी एउटा रकेट लन्चरसमेत बरामद भएको जनाए ।
अधिकारीले ठूलो म्यागजिन लाग्ने हतियारको २५ डलर, ह्यान्डगन र राइफलको १०० डलर, अर्ध स्वचालित राइफलको २०० डलर र स्वचालित राइफलको ५०० डलर दिने घोषणा गरेका थिए ।
बाल्टिमोर नगर परिषद्का अनुसार यो अभियानका लागि दुई लाख ५० हजार डलर बजेट व्यवस्था गरिएको थियो । स्थानीय “बाल्टिमोर सन” अखबारले उक्त कार्यक्रम समय, रकम र स्रोतको बर्बादी भनी टिप्पणी गरेको छ ।
प्रहरी प्रमुख गेरी गटलले नगर निवासीसँग बन्दुक नै नभएको अवस्थामा बन्दुकको प्रयोगबाट हुने हत्या र हिंसात्मक घटनामा स्वतःकमी आउने बताए ।
अमेरिकी संविधानको दोस्रो संशोधनले मानिसलाई हतियार राख्न पाउने अधिकार दिएको छ र अमेरिकी एक तिहाई घरपरिवारमा हातहतियार रहेको छ ।
स्वास्थ्य अधिकारीका अनुसार, संयुक्तराज्य अमेरिकामा सन् २०१७ मा हातहतियारको प्रयोगबाट झण्डै ४० हजार मानिसको मृत्यु भएको थियो ।
वि.सं.२०७५ पुस ११ बुधवार १६:२९ मा प्रकाशित