१६ पुस, सियोल । उत्तर कोरियाका नेता कीम जोङ–अनले कोरियाली प्रायःद्वीपमा शान्ति र समृद्धि निर्माण गर्ने प्रयत्नलाई सन् २०१९ मा समेत निरन्तरता दिने बताउनुभएको छ । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनलाई नयाँ वर्षका अवसरमा पठाएका सन्देशमा उत्तर कोरियाको यस्तो प्रतिबद्धता प्राप्त भएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेता कीमले लामो समयदेखि जारी विवादलाई साम्य बनाउन दुबै कोरियाका नेताले व्यावहारिक कदम अबलम्बन गरेको पनि बताएका छन् । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका प्रवक्ता कीम इ–काइयोमले संवाददाताहरूलाई भने, “अध्यक्ष कीमले राष्ट्रपति मूनलाई आइतबार लेख्नु भएको चिठी प्राप्त भएको छ ।”
“कोरियाली प्रायःद्वीपमा शान्ति र समृद्धिका निम्ति मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” कीमको पत्रमा उल्लेख छ । “एक वर्षमा तीन पटक भेटघाट भएको र त्यसक्रममा सम्बन्ध सुधारका लागि व्यावहारिक कदमहरू चालिएका छन् । सैनिक तनाव र युद्धको त्रासबाट दुबै देशका जनतालाई मुक्त गर्न हामीहरू सक्षम भएका छौं ।”
राष्ट्रपति कार्यालयका प्रवक्ताले अध्यक्ष कीमले यस वर्षको अन्त्यभित्रै सियोलको भ्रमण गर्ने आफ्नो प्रतिज्ञा पूरा गर्न नपाएकोमा दुःख लागेको बताएको जानकारी दिए ।
“अध्यक्ष कीमले सन् २०१९ मा राष्ट्रपति मूनलाई समयसमयमा भेट गर्न इच्छुक रहेको बताउनुभएको छ । साथै, शान्ति र समृद्धिका विषयमा छलफललाई अगाडि बढाउन इच्छुक रहनुका साथै मिलेर नै कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणको अभियान सफल बनाउने कीमले बताउनुभएको छ,” राष्ट्रपति कार्यालयका प्रवक्ताले बताए ।
यसैबीच, दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता कीम जोङ–इनबाट व्यक्त आणविक निःशस्त्रीकरण प्रतिको प्रतिबद्धतालाई स्वागत गरे । उनले संयुक्तराज्य अमेरिकासँग रोकिएको आणविक निःशस्त्रीकरण वार्ता पुनः शुरु गर्न नेता कीमको प्रतिबद्धताले थप बल पुग्ने बताए ।
वि.सं.२०७५ पुस १६ सोमवार १०:०० मा प्रकाशित