१८ पुस, चितवन । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा १७ सदस्यीय नेपाल हात्ती खेल सङ्घ गठन गरिएको छ ।
राष्ट्रिय खेलकूद परिषद्ले सङ्घ पुनर्गठन गर्दै नयाँ समिति गठन गरेको हो । राखेपको पुष ७ गतेको निर्णय अनुसार हात्ती खेल संघ गठन गरि जिम्मेवारी तोकिएको हो ।
यसअघि चितवनकै बद्री अधिकारीको अध्यक्षतामा सङ्घ गठन गरिएको थियो । राखेपको पुस ७ गतेको निर्णयअनुसार हात्ती खेल सङ्घ गठन गरी जिम्मेवारी तोकिएको हो ।
तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा घनश्याम श्रेष्ठ, उपाध्यक्षमा दीपक भट्टराई र योगेश अधिकारी, महासचिवमा राममणि खनाल, सचिवमा दीपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा बबिता चौधरी रहेका छन् । पदाधिकारी सबै चितवन सौराहाका होटल तथा पर्यटन व्यवसायी हुन् । सदस्यमा टीका गिरी, ठाकुरमान श्रेष्ठ, केशव आचार्य, भुपालदास श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ तथा राखेपका दुई प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका एक प्रतिनिधि, चितवन राष्ट्रिय निकुञ्जका एक तथा निजी हात्ती धनीका एक प्रतिनिधि रहने गरी समिति गठन गरिएको छ ।
उनको कार्यकालमा नेपालको हात्ती खेलको विकास र विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा मुलुकको छवि थप माथि जाने विश्वास लिएको राखेप सदस्य सचिव केशवकुमार विष्टद्वारा जारी मनोनयनपत्रमा उल्लेख छ ।
सङ्घ हात्तीका खेल सञ्चालन गर्दै नेपालमा यसको संरक्षणमा जुट्नेछ । यसअघि हात्तीसँग सम्बन्धित खेल क्षेत्रीय होटल सङ्घले सञ्चालन गर्दै आएको थियो ।
आगामी तीन महीनाभित्र अधिवेशन गरेर नयाँ कार्यसमिति गठन गरिने घिमिरेले जानकारी दिए ।
उनकै संयोजनमा हालै सौराहामा १५ औँ हात्ती महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । हात्तीको संरक्षण सँगसँगै पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसारका लागि आयोजना गरिएको प्रतियोगितामा विभिन्न देशको सहभागीता थियो । अन्तर्राष्ट्रिय हात्तीपालो प्रतियोगिता हेर्न नेपालसहित विदेशी पर्यटकसमेत सहभागी भएका थिए । हात्तीको प्रयोग गरी मान्छेले खेलिने सो प्रतियोगिता विदेशी पर्यटकका लागि निकै लोकप्रिय मानिन्छ ।
वि.सं.२०७५ पुस १८ बुधवार १२:२१ मा प्रकाशित