back

बार्षिक २० करोडको दूध उत्पादन गर्ने किसान समस्यै समस्यामा

वि.सं.२०७५ पुस २७ शुक्रवार

333 

shares
GLOBAL IME AD
NTC AD

 

२७ पुस, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेका घमण्ड भट्टराईले तीन वटा गाई पालेका छन् । उनी दैनिक १८ लिटर दूध बेच्छन् । रातदिन गाईको स्याहारसुसारमा श्रीमान् श्रीमती दुबै खटिन्छन् । दूध बेचेर मात्रै भट्टराई दम्पतीलाई मासिक २४ हजार रुपैयाँ आम्दानी हुन्छ । दूध बेचेर आउने यो रकमले उनको परिवार त चलेको छ तर, बचत गरेर अन्य खर्च धान्न भने पुगेको छैन ।

उनलाई गोठभरि एक दर्जन गाई पाल्ने धोको छ । त्यसका लागि आवश्यक इच्छाशक्ति र जमीन पनि छ उनीसँग । तर, लगानी गर्ने रकम जुटाउन नसक्दा उनले व्यावसायिक गाईपालन गर्न सकेका छैनन् । सस्तो ब्याजमा ऋण लिएर गाईपालन गर्न प्रयत्न गरे पनि गाउँका जग्गा धितो लिएर बैंकले ऋण नदिँदा र सुलभ ब्याजदरमा ऋण नपाउँदा समस्या भएको उनी बताउछन् ।

“सरकारले किसानलाई हेपेको छ, किसानले उत्पादन गर्छ र त्यसलाई सबैले उपभोग गर्छन्,” उनी भन्छन् – “तर सरकारको नीति चाहीँ तिनै किसानलाई अपहेलना गर्ने किसिमको छ ।” युवालाई यो पेशामा लाग्न सरकारी नीतिले प्रोत्साहन नमिल्ने गरेको उनको अनुभव छ । भट्टराईको जस्तै दुःखेसो छ, छथर गाउँपालिका–१, आङ्दिमका किसान राजकुमार पन्तको पनि ।

चार वटा दूधालु गाई पालेर मासिक ३० हजार रुपैयाँ आम्दानी गरिरहेका पन्तले गाईपालनलाई नै मुख्य पेशा बनाएका छन् । आफूसहित अन्य दुई जनालाई रोजगारी दिएका उनी गाईपालनमा थुप्रै सम्भावना देखे पनि समस्याहरुको थुप्रो रहेको बताउछन् । “ढुवानीमा समस्या छ, उन्नत जातका घाँसमा लगानी छैन, दूध बेच्यो, भुक्तानी समयमा हुँदैन,” उनी भन्छन् ।

दुग्धजन्य व्यवसायबाट आर्थिक लाभ लिन चाहने किसानले उतिकै समस्या भोगिरहेको उनले बताए । गाउँपालिकाका हरेक वडामा गाउँ–गाउँसम्म पनि सडक पुगेको छ तर, बाह्रै महिना सवारी चल्दैनन् । पन्त भन्छन् – “सडक त छन्, तर भरपर्दा छैनन्, त्यसैले ढुवानीमा हामीले घोडाको प्रयोग गरिरहेका छौँ ।”

उनका अनुसार अहिले पनि गाउँबाट सङ्कलन केन्द्रसम्म पिठ्युँमा क्यान बोकेर दूध ढुवानी गनुपर्ने अवस्था छ । भट्टराई र पन्तजस्तै छथर गाउँपालिकाका धेरै किसानले यस्तै समस्या सुनाउँछन् । यहाँको आम्दानीको स्रोतमध्ये दूध र दुग्धजन्य उत्पादन मुख्य हुन्छ । किसानले दुग्धजन्य वस्तुबाट आम्दानी त लिएका छन्, तर थाकका थाक समस्या पनि बोकेर बसेका छन् ।

छथर गाउँपालिकाबाट किसानले दैनिक सरदर ५ हजार लिटर दूध बिक्री गरिरहेका छन् । गाउँपालिका क्षेत्रभित्रका अधिकाँश दूध यहाँको छथर दुग्ध उत्पादक सहकारी संस्थाले सञ्चालन गरेको चिस्यान केन्द्रमार्फत खरिद–बिक्री भइरहेको छ । गाउँपालिका क्षेत्रका हमरजुङ, फाक्चामारा, पञ्चकन्या, सुदाप, ओख्रे र आङिदमका किसानले करीब एक दर्जन सहकारीहरुले सञ्चालन गरेका सङ्कलन केन्द्रमार्फत चिस्यान केन्द्रमा दूध पठाउँछन् ।

यहाँ उत्पादित दूध स्थानीय छुर्पी उद्योगहरु, धरान डेरी र हिलेस्थित डेरीले खरिद गर्दैआएका छन् । दूधबाटै छथर गाउँपालिकाका किसानले मासिक ५० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिरहेका छथर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बुद्धि खुलालले बताउनुभयो । उनले भने – “किसानले आम्दानी पनि लिइरहेका छन् तर, त्यसबाट जति आम्दानी लिन सकिने हो, त्यति चाँही लिन सकेका छैनन् ।” दूध ढुवानी गर्ने कृषि सडकहरु बाह्रै महिना सवारी सञ्चालन गर्न योग्य छैनन् ।

किसानलाई विना धितो सस्तो ब्याजमा ऋण पाउने व्यवस्था छैन । उन्नत जातका गाई खरिद गर्न प्रतिगोटा डेढ लाख रुपैयाँसम्म पर्छ । बीउका लागि साँढेहरु उपलब्ध छैनन् । कृत्रिम गर्भाधानका लागि प्रविधिज्ञहरु छैनन् । उन्नत जातका घाँस र आधुनिक प्रविधिको गोठ व्यवस्थापनमा किसानलाई प्राविधिक ज्ञान छैन । किसानका समस्याबारे बताउँदै अध्यक्ष खुलालले भने – “धेरै समस्या छन् जुन प्रत्यक्ष÷अप्रत्यक्ष छन् । सामान्य ढङ्गले समाधान हुने समस्यामा पनि सरकारी निकायको चासो गएको छैन ।”

जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामध्ये सबैभन्दा धेरै दूध उत्पादन हुने क्षेत्र छथर नै हो । यसबाहेक लालीगुराँस नगरपालिका र म्याङलुङ्ग नगरपालिकामा पनि गाईपालन गर्ने किसानहरुको सङ्ख्या बढ्दो छ । मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकामा उत्पादन भएको दूधले स्थानीय मागलाई नै धान्न सकेको छैन ।

म्याङलुङ्गमा किसानले उत्पादन गरेका दूधले बजारको मागलाई धान्न सकेको छैन । लालीगुराँस नगरपालिकामा उत्पादित दूध किसानले दुग्ध विकास संस्थानलाई बिक्री गर्दैआएका छन् । सडक राम्रो नभएको भन्दै संस्थानले छथर क्षेत्रमा उत्पादित दूध लैजान नमानेको किसानको गुनासो छ । “दूध त निजीले पनि लैजान्छन्, तर पैसा ढिलो दिन्छन्, कतिले दिँदैनन्,” सोल्माका किसान दिलकुमार लिम्बुले भने ।

“हामी किसानले उत्पादन गर्छौँ तर, त्यसको उचित बजार व्यवस्थापन गर्न सरकारले सघाएन,” उनले गुनासो गरे । दुग्ध विकास संस्थानले पनि किसानलाई प्रोत्साहन मिल्ने गरी काम गर्न नसकेको उनले बताए । दुग्ध उद्यमी किसानहरुको ठूलो आशा छ स्थानीय तह र जनप्रतिनिधिहरुमाथि । अहिले स्थानीय सरकारको रुपमा रहेका गाउँपालिका र नगरपालिकाहरुमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई समस्या राख्न सजिलो भएको छ । तर जनप्रतिनिधिले भने किसानका समस्यामा केन्द्रित हुन मेसो पाएका छैनन् । जिल्लाका कुनै पनि स्थानीय तहले दूध उत्पादक किसानलाई लक्ष्य गरी खास कार्यक्रम राखेका छैनन् । किसानले जनप्रतिनिधिहरु मार्फत उत्पादित दूधको बजारीकरण, विना धितो सस्तो ब्याजमा ऋण, अनुदान, कृत्रिम गर्भाधानको व्यवस्था, उन्नत जातका गाई र घाँस खरिदका लागि अनुदान, उन्नत गोठ निर्माणमा अनुदानलगायतको व्यवस्था गर्न माग गरेका छन् । किसानहरुको मागबारे थाहा पाएर पनि पहिलो वर्ष केही गर्न नसकिएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताए ।

आगामी वर्ष किसान लक्षित कार्यक्रमहरुलाई प्राथमिकता राखेर आफ्नो कार्यकालमा सिङ्गो गाउँपालिका गाईपालनको विशेष पकेट क्षेत्रको रुपमा विकास भइसक्ने उनले बताए । जिल्लाका किसानले वार्षिक बीस करोड रुपैयाँ भन्दा बढीको दूध उत्पादन गर्ने गरेका थिए । किसानले आर्थिक वर्ष २०७३÷७४ मा मात्रै २४ करोड रुपैयाँ बराबरको दूध उत्पादन गरेका जिल्ला पशुसेवा कार्यालयको तथ्याङ्क छ । सो वर्ष जिल्लामा ६ हजार ७० मेट्रिक टन दूध उत्पादन भएको थियो जसको सरदर बजार मूल्य २४ करोड २८ रुपैयाँ भन्दा बढी हुन्छ । आर्थिक वर्ष २०७२÷७३ मा २३ करोड ९२ लाख रुपैयाँको मात्रै दूध उत्पादन भएको थियो ।

जिल्लामा उत्पादन भएको दूधमध्ये करीब ७ हजार २ सय लिटर दूध दैनिक रुपमा जिल्ला बाहिर निर्यात हुने गरेको कार्यालयका पशु विकास अधिकृत लोकनाथ ढुंगानाले बताउनुभयो । यहाँको दूध दुग्ध विकास संस्थान विराटनगर, जीवन विकास डेरी, कामधेनु सहकारी संस्था, तरहरा लगायत ठाउँहरुमा निकासी हुन्छ । आर्थिक वर्ष २०७३÷७४ मा जिल्लाबाट १० करोड २२ लाख रुपैयाँ बराबरको दूध जिल्ला बाहिर निकासी भएको कार्यालयको तथ्याङ्क छ । कार्यालयका अनुसार जिल्लामा उत्पादन भएकामध्ये २ हजार ५५५ मेट्रिक टन दूध मात्रै जिल्लाबाहिर निकासी भएको हो । यहाँ दूध प्रतिलिटर सरदर ४० रुपैयाँका दरले किनबेच भइरहेको छ ।
जिल्लाका किसानले उत्पादन गरेको दूध सहकारी संस्था र चिस्यान केन्द्र गरी ३६ भन्दा बढी स्थानबाट दैनिक सङ्कलन हुने गरेको छ । जिल्लामा हाल १० वटा व्यावसायिक कृषि फार्म खुलेका छन् । जिल्लामा २०५१ सालमा इलामबाट उन्नत जातका गाई ल्याएर गाईपालन शुरु गरिएको थियो ।

कार्यालयका अनुसार जिल्लामा २ हजार २०३ वटा उन्नत जातका सहित ६५ हजार ८ सय ५५ वटा गाई पालिएका छन् । यस्तै, १५ हजार ८०३ वटा उन्नत जातका सहित ४३ हजार १७३ वटा भैँसी पालिएका छन् ।

वि.सं.२०७५ पुस २७ शुक्रवार १४:४४ मा प्रकाशित

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

काठमाडौँ, ५ जेठः जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान...

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष...

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...