४ माघ, बेइजिङ, चीन । चीनमा मितव्ययिता सम्बन्धी नियमलाई उल्लङ्घन गरेकोमा सन् २०१८ मा करीब एक लाख व्यक्तिलाई कारवाही गरिएको छ ।
दल र सरकारको बानीमा सुधार गर्ने अभियानस्वरूप आठ बुँदे मितव्ययिता संहिता अन्तर्गत वर्षभरमा ९२ हजार २१५ व्यक्तिलाई कारवाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीका भ्रष्टचार विरोधी उच्च निकायले बताएको छ ।
उनीहरूलाई विभिन्न ६५ हजार ५५ मुद्दामा मितव्ययी नबनेको ठहर गरी कारवाही प्रक्रिया अधि बढाइएको चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन अनुगमन तथा राष्ट्रिय पर्यवेक्षण केन्द्रीय आयोगद्वारा बिहीबार वेबसाइटमा प्रकाशित सूचनामा उल्लेख छ ।
दण्डित हुनेमा छ जना प्रान्तीय तथा मन्त्रीस्तरीय अधिकारी रहेका बताइएको छ । उनीहरूमाथि अनाधिकृत व्यक्तिलाई कल्याणकारी तथा अन्य विभिन्न सहायता दिएको वा उपहार तथा नगद घुस लिएको आरोपमा कारवाही गरिएको हो ।
उनीहरूले गैरकानूनी रूपमा सामान खरीद गरेको तथा सरकारी गाडीको दुरूपयोग गरेको तथा सार्वजनिक रकम भोज तथा पाटीमा प्रयोग गरेको ठहर गरी कारवाही अघि बढाइएको हो ।
गत डिसेम्बरमा मात्र विभिन्न नौ हजार ३५० मुद्दामा १३ हजार ४११ जनालाई सन् २०१२ देखि कार्यान्वयनमा ल्याइएको मितव्ययिता कानून उल्लङ्घनको अभियोगमा कारवाही गरिएको हो ।