back
CTIZAN AD

समृद्ध नेपालको मार्गचित्र – विषय प्रवेश

वि.सं.२०७५ माघ ७ सोमवार

2.2K 

shares

अरु कसैले गरिदेला या समृद्ध नेपाल कुनै दिन आफैँ होला भन्दा भन्दै संसारले स्वरूप बदल्दा पनि हामी भने जहिँ को त्यहिँ छोडीयौँ । वास्तवमा अब काम गरेर देखाउने जिम्मेवारी हामी सबैको काँधमा आएको छ । अब एक सेकेन्ड पनि ढिलो गर्नु हुँदैन । त्यसैले अब वास्तविक नेपालीले अठोट गर्नैपर्दछ ।

 

संसारका सम्मुन्नत राष्ट्रहरूको विकासक्रम अध्ययन ग¥र्यौ भने विभिन्न राजनीतिक विचारधाराहरू तथा आर्थिक मोडेलहरू आ–आफ्नो ठाउँमा स्थापित र कार्यान्वयन भएका छन् । चाहे राजतन्त्र, बहुदलीय प्रजातन्त्र, गणतन्त्र होउन या पूँजीवादी, समाजवादी, साम्यवादी ती सबैको आ–आफ्नो विकासका अभ्यासहरू गरिएका छन् । सफलताको कडी भने केवल राष्ट्रिय नेतृत्व (वास्तविक राजनेता)को राष्ट्र निर्माणप्रतिको अत्यावश्यक त्रिगुण चाहना, क्षमता र तत्परता हो, जसलाई कसी लगाउने थप द्वि–गुण ईमान्दारिता र नैतिकता जरुरी हुन्छन् भन्ने प्रष्ट छ । अरुले बनाई दिएर होइन, आफैँले स्रोत जुटाएर आफ्नै पुस्तामा फड्को मारेका विश्वका कैयौँ मुलुक र राजनेताहरू जस्तै दक्षिण अफ्रीका (नेल्सन मन्डेला), कोरिया (पार्क चुंग ही), सिँगापुर (लि क्वांग), मलेसिया (डा. महाथीर मोहम्मद), संयुक्त अरब इमिरेटस् (शेख जायेद बिन सुल्तान), चीन (माओत्सेतुंग), काजकस्तान (नुरसुल्तान नाजर्वायेभ) आदि थुप्रै उदाहरण हाम्रा सामु प्रमाणका रुपमा छन् ।

भनिन्छ, आज सिंहदरबारको अधिकार हाम्रै नगर, गाउँमा झरेको छ तर पनि व्यवहारिक रुपमा हाम्रा गाउँ नगरहरूमा अभ्यास गर्न सकिएको देखिँदैन । प्रशस्त प्राकृतिक स्रोत र सुन्दरताले धनी हाम्रो देशको गाउँ र टोल अवसरहिन, युवाविहीन, अनि रित्तो हुँदै जानेक्रम बढीरहेको छ । खेतबारी बाँझो हुँदैछन् भने हाम्रा नगरहरूमा अव्यवस्थित, भिडभाड, कोलाहल, अभाव, फोहोर, अस्तव्यस्त, आयातीत न्यून गुणस्तरका वस्तुको उपभोग र परनिर्भर अर्थतन्त्रमा जीवन गुजारा गर्नुपरेको यथार्थ हामीले भोगीरहेका छौँ । नेपालमा अझै पनि अधिकांश बसोबास र आर्थिक मेरुदण्ड ग्रामीण क्षेत्रमा नै रहेको अवस्था छ । नेपालको भूराजनैतिक अवस्थिति, आर्थिक स्रोत र सम्भाव्यताको दृष्टिकोणले पनि ग्रामीण क्षेत्र धेरै महत्वपूर्ण छ । यस परिप्रेक्षमा जबसम्म हाम्रो आफ्नै मौलिक पद्धतिमार्फत ग्रामिण क्षेत्रको पर्याप्त विकास हँुदैन तबसम्म समग्र नेपालको विकास सम्भव छैन ।

हाम्रो देशको अर्थतन्त्र बैदेशिक सहायता र विप्रेषण (Remittance) मा निर्भर अर्थात् परनिर्भर रहेको कुरामा दुई मत छैन । विदेशी पूँजीमा निर्भर राज्य र विदेशको पैसामा निर्भर कमजोर समाज कुनै पनि बेला धराशायी हुन्छ । सामाजिक सोचमा सकारात्मक परिवर्तन, विवेकशील जागरण र उद्यमी समाज निर्माण गरेर आफैँ सबल नभई समुन्नत नेपालको परिकल्पना गर्नु व्यर्थ छ । युरोप, अमेरिका, कोरिया, अरब, अष्ट्रेलिया, जापान अफ्रिका या अन्य कुनै पनि देशको मोडेल नेपालमा प्रयोग गर्न खोज्नु सम्मुनत नेपाल प्राप्त गर्ने व्यवहारिक बाटो नहुन सक्छ । किनकी अन्य देशको भौगोलिक वस्तुस्थिति, प्राकृतिक स्रोत र सम्पदा, मानवीय प्रवृत्ति, सामाजिक संस्कार तथा बनावट, उपभोग प्रवृत्ति, भू–राजनैतिक परिस्थिति, आर्थिक संरचना, प्राविधिक एवम् विविध पक्षहरू फरक फरक हुन्छन् । एउटा धु्रवसत्य चाहिं के हो भने दिगो र समुन्नत नेपालको निर्माण नेपाली आफैँले, आफ्नै प्रयासबाट र हाम्रो आफ्नै स्थानीय मौलिक विशेषता बोकेको विकास मोडेलद्वारा मात्र सम्भव छ ।

कुनै पनि देश समृद्ध हुनुको पछाडी पर्याप्त भौतिक पूर्वाधारको विकास र औद्योगीकरण हुनु नितान्त जरुरी छ । हाम्रो देशको बृहत् आर्थिक सूचकहरू एवम् सामाजिक आर्थिक(Socio-Economic) वस्तुस्थिति अध्ययन गर्दा केहि पृथक धारबाट अगाडी बढ्नु पर्ने अवस्था देखिन्छ । छरिएर रहेको निर्वाहमुखी अर्थतन्त्रलाई बृहत् उत्पादन, उपभोग, विनिमय र वितरण (Mass Production, Consumption, Exchange and Distribution) सिर्जना गरेर अर्थतन्त्रको दिगो विकास गर्न जरुरी छ । अधिकांश विद्यमान नेपाली उद्यमीहरू आधुनिक विश्व आर्थिक प्रतिस्पर्धामा दौडन सक्ने अवस्थामा छैनन् । हाम्रो निर्वाहमुखी अर्थतन्त्रलाई कम्तिमा भौतिक पूर्वाधार सम्पन्न बनाउन र साधन तथा स्रोतमा पहुँच नपुग्नेहरूका बीचमा स्रोत पु¥याउन राज्यले हात नफिजाई  (Hands on) अर्थतन्त्रले गति लिन सक्ने अवस्था अहिलेसम्म देखिएको छैन । यद्यपी पूर्णरुपमा राज्यको नियन्त्रणबाट अबको अर्थतन्त्रलाई चलाउनु उचित पनि हुँदैन । निजी क्षेत्रलाई सम्भव भएसम्म सशक्त (Activate) गर्न सरकारले हात खुकुलो(Hands off) गर्न अनिवार्य छ । पूँजीवाद अथवा समाजवादको नितान्त सैद्धान्तिक धारबाट बाहिर निस्केर राम्रा पक्षको समायोजन गर्दै मुलुकमा प्रभावकारी भूमिका खेल्न सक्ने नेतृत्वसहित सरोकारवालाहरूको सक्रियतामा सहभागितात्मक सामाजिक उद्यमशीलतामार्फत अर्थव्यवस्थामा गति लिन जरुरी हुन्छ । राज्यले आर्थिक एवम् सामाजिकरुपमा पछाडी परेका क्षेत्र र नागरिकले लगानी गर्न नसक्ने क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई उत्प्रेरित गराउन विशेष भूमिका निर्वाह गर्नुपर्छ । परिस्थिति अनुसार राज्यको हात कसिलो र खुकुलो बनाई अर्थव्यवस्थालाई निश्चित गति दिनुपर्दछ । आवश्यकता अनुसार सरकारले(Public), सर्वसाधारणले (People) तथा संयुक्त (Public Private Partnership) लगानीमा सामाजिक उद्यमशीलता (Social Enterpreneurship) लिएर विस्तारै निर्वाहमुखीबाट दिगो (Subsistance to Sustainable Economy) आर्थिक रुपान्तरण गरी औद्योगीकरण गर्नु आजको आवश्यकता हो ।

एकातर्फ, हाम्रो गाउँ र नगरमा नत प्रभावकारी आर्थिक क्रियाकलाप छ, नत दक्ष जनशक्ति, न प्रशिक्षण, न रोजगारी, नत उद्यमशीलता नै छ र न त कुनै पद्धति नै विकास गरिएको छ । अर्काेतर्फ, राजनीतिमा नेतृत्व गर्नेहरूको समेत नत आफ्नै कुनै निश्चित पेशा छ, न आफ्नो ईलाकामा के को निमित्त कसरी नेतृत्व गर्ने भन्ने प्रष्ट दृष्टिकोण छ, न आवश्यक शैक्षिक एवम् व्यवसायिक दक्षता छ, नत आफ्ना दलका सदस्यहरूको निमित्त कुनै रोजीरोटीको बन्दोवस्त गर्ने आधार नै छ । अर्काे पक्ष, प्रत्येक सेकेन्ड सेकेन्डमा यो गतिशील संसार परिवर्तन भइरहेको छ अनि सोहि गतिमा अहिलेको नयाँ पुस्ता पलपलको परिवर्तन सँगसँगै अद्यावधिक (Update) भइरहेको छ । यो गतिशील पुस्ताको समाजलाई आर्थिक, सामाजिक, प्रशासनिक, राजनैतिक, वैज्ञानिक र वातावरणीय पक्षमा दिगो रुपमा सञ्चालन र व्यवस्थापन गर्न सक्ने राजनीतिक र प्रशासनिक नेतृत्व चाहिएको हो, न कि केवल कुनै राजनीतिक पार्टीको झन्डा बोक्ने र पृष्ठपोषण गर्ने नेता अनि जागिरे मानसिकता । अबको पुस्ताले बुझेको यथार्थ के हो भने भावना, कोरा सिद्धान्त र आदर्शले मात्र राष्ट्रको उन्नति सम्भव छैन । संसारमा विज्ञानले कल्पना नै नगरेको फड्को मारिसकेको छ । एउटा घरको कोठामा बसेर संसारको हरेक व्यक्तिको कम्प्युटर र हातहातको मोबाइलबाट सम्पूर्ण क्रियाकलाप नियमन र नियन्त्रण गर्न विज्ञान सक्षम भैसकेको छ । संसार नियन्त्रण गर्न एउटा बटन नै काफी भैसकेको छ । हामीले पनि अब त बैज्ञानिक, प्राविधिक, आर्थिक, प्रशासनिक र सामाजिक विकासका इन्द्रियहरू खोल्नै पर्छ । त्यसैले अब हामीले पनि उच्च प्रविधिको सर्वर, सफ्टवयेर र अन्य पद्धति प्रयोग गरेर अर्थतन्त्र, प्रशासन र राजनीतिमा निजी र व्यक्तिगत प्रभावलाई निस्तेज गर्ने संयन्त्र स्थापित गर्नै पर्छ । संसारमा प्रतिपादित नयाँ नयाँ प्रविधि भित्र्याउनु, व्यवस्थापन गर्नु र उन्नत पद्धतिमार्फत हरेक क्षेत्रमा विकासको ढोका खोल्नु आजको आवश्यकता हो । बदलिँदो विश्व परिस्थितिसँग समन्वय गर्दै देशलाई समृद्धिको मार्गमा लैजान न बन्द हड्ताल, न टायर बाल्न, न हतियार उठाउन र न त गोला बारुद नै पड्काउनु जरुरी छ । केवल ज्ञान, बुद्धि, विवेक अनि संयम भएर काम गर्ने समाज स्थापित गर्नु, अरुको भर पर्ने र बिना परिश्रम नवधनाढ्य बन्न चाहने विद्यमान विकृत संस्कार बदल्नु, आधुनिक प्रणाली बसाल्नु, अनि जवाफदेहि र जिम्मेवार प्रशासनिक र राजनीतिक नेतृत्व निर्माण गर्नु हाम्रो दायित्व हो । अबको रुपान्तरण रिभोल्युसन होइन इभोल्युसन गर्ने हो । Innovationर Motivation बाट Promotion मा जाने बाटो खोज्नु हो । तँ र म, अनि तेरो र मेरो, जात–भात र वादलाई बिर्सेर हामी र हाम्रो पुस्ता, समाज र देशलाई उन्नती गर्न नयाँ ढङ्गले काम गर्न जरुरी छ । किनभने अहिलेको विश्व परिवेशमा दु्रतगतिमा आफ्ना देशको रुपान्तरण गर्ने मुलुकहरू नै वाद, जात र भात भन्दा माथी उठेर समृद्धिको ढोका खोल्न सफल भएका छन् ।

राष्ट्रले ठूलो मूल्य चुकाएर राजनैतिक परिवर्तन गरेपनि तदनुरूप प्रशासनिक संरचना परिवर्तन हुनसकेको छैन । नेपाल सरकारले समृद्ध नेपाल निर्माणको निमित्त गरेका प्रयासहरू, नेपालको संविधानका प्रावधानहरू, दिगो विकासका लक्ष्यहरू २०१५–२०३०, अल्पविकसित राष्ट्रको सूचिबाट विकासशील राष्ट्रमा लैजाने सम्बन्धी इस्तानबुल कार्ययोजना २०११, दक्षिण एशियाली विकास लक्ष्य तथा नेपालको आवधिक योजनाहरूका लक्षित उपलब्धि हाँसिल गर्न विभिन्न सरकारी संयन्त्र एवम् संरचनाहरू, जस्तैः विभिन्न आयोग, मन्त्रालय, विभाग साथै केन्द्र, प्रदेशदेखि स्थानीय तहसम्मका नीतिगत तथा सेवा कार्यालयहरू स्थापना गरेर सार्वजनिक सेवा, विकास निर्माण र उद्यमशीलताको निमित्त आधारशीला खडा गरेको छ । ती आधारशीलाहरूको विवेकशील ढङ्गबाट प्रभावकारी सञ्चालन, कार्यान्वयन र उपलब्धि हाँसिल गर्ने जिम्मेवारी सचेत नागरिकको हो, अर्थात् समृद्ध नेपाल निर्माणका अभियन्ताहरूको दायित्व हो ।

अरु कसैले गरिदेला या समृद्ध नेपाल कुनै दिन आफैँ होला भन्दा भन्दै संसारले स्वरूप बदल्दा पनि हामी भने जहिँ को त्यहिँ छोडीयौँ । वास्तवमा अब काम गरेर देखाउने जिम्मेवारी हामी सबैको काँधमा आएको छ । अब एक सेकेन्ड पनि ढिलो गर्नु हुँदैन । त्यसैले अब वास्तविक नेपालीले अठोट गर्नैपर्दछ ।

“अब हामीले नगरे अरु कसैले पनि हाम्रो लागि गरिदिँदैन । हामी संसारको जुन कुनामा छौँ, त्यहाँबाट जे क्षमता छ त्यो लिएर अगाडी सरौँ । हिम्मत र उर्जा लिएर एकजुट भएर अगाडी बढौँ, भोली होइन, भरे होइन, अहिल्यै हाम्रो राष्ट्र निर्माणको जिम्मेवारी बोकौँ र काम थालौँ । अवश्य पनि हामी शान्त र समृद्ध नागरिक बन्न सक्छौँ, हाम्रै यहि जीवनमा । हाम्रो विवेकको सकेसम्म सकरात्मक अन्तरदृष्टि खोलौँ र कर्म गरौँ । नेपाललाई एक सम्पन्न मुलुकको सूचीमा सूचिकृत गरेर मात्र जीवनबाट विश्राम लिऔँ ।”  क्रमश :…

(लेखक जगन्नाथ काफ्लेद्वारा लिखित ‘समृद्ध नेपालको मार्गचित्र’ पुस्तकबाट साभार गरिएको हो । संघीय नेपालको समृद्धिका लागि उनको यो पुस्तक अत्यन्त उपयोगी छ ।)

 

पुस्तकका सम्बन्धमा संघीय मन्त्रालयका सचिव दिनेशकुमार थपलिया भन्छन्-

समग्र विकासलाई दिशाबोध गर्ने व्यवहारिक दस्तावेज

 

 

वि.सं.२०७५ माघ ७ सोमवार ०९:४३ मा प्रकाशित

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...