७ माघ, टोकियो, जापान । विश्वका सबैभन्दा वृद्ध मानिस मासानो नोनाकाको आइतबार निधन भएको छ ।
विमानको आविष्कार गर्ने राइट्स दाजुभाइभन्दा दुई वर्षपछि जन्मेका नोनाकाको ११३ वर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
गिनिज वल्र्ड रेकर्डसका अनुसार नोनाकाको जन्म सन् १९०५ को जुलाईमा भएको थियो । उनको जन्म अल्वर्ट आइन्स्टाइनद्वारा प्रतिपादन गरिएको सापेक्षताको सिद्धान्तको प्रकाशन हुनुभन्दा केही महिना पहिले भएको थियो ।
गत वर्ष स्पानियार्ड फ्रान्सिसको नुनेज ओलिभेराको मृत्यु भएपछि वृद्ध जीवित मानिसमध्ये सबैभन्दा पाका व्यक्तिका रूपमा गिनिजले नोनाकालाई औपचारिक मान्यता दिएको थियो ।
“हामीलाई विश्व प्रसिद्ध जापानी नागरिक नोनाकाको निधनले दुःखी तुल्याएको छ । उहाँ शनिबारसम्म सामान्य जीवन बिताइरहेका थिए । परिवारका सदस्यलाई समेत कुनै बोझ नबनीकन आइतबार देहत्याग गरेका छन्,” उनकी नातिनी युकोलाई उद्धृत गर्दै क्योदो समाचार समितिले जनाएको छ । छ भाइ र एक बहिनीकी धनी नोनाकाले सन् १९३१ मा विवाह गर्नुभएको थियो । कालान्तरमा उनी पाँच सन्तानका बाबु बनेका थिए ।
उनले आफ्नै गाउँमा ‘हट स्प्रिङ इन’ (होटेल) सञ्चालन गरेका थिए । उनकोे जीवनको उत्तराद्र्धमा टेलिभिजनमा कुस्ती हेर्ने र मिठाई खाने सोख रहेको पारिवारिक स्रोतले बताएको छ ।
सामान्यतया जापानीहरूको दीर्घ जीवन हुने गर्दछ । विश्वका धेरै वर्षसम्म बाँच्ने मानिसको सूचीमा कैयौँ जापानी नागरिकको सूची रहेको बताइने गरिन्छ ।
जापानी नागरिक जिरोमी किमुरा, जसलाई सबैभन्दा धेरै बाँच्नेमध्येका व्यक्तिका रूपमा मानिन्छ, को ११६ बर्षको उमेरमा सन् २०१३ मा निधन भएको थियो ।
प्रमाणित रूपमा इतिहासमा सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सका जेनी लुइस कालमेन्टको सन् १९९७ मा १२२ बर्षको उमेरमा निधन भएको थियो ।