
सितलचिनीले कुपोषण हुन दिँदैन भने कुपोषण भइसकेका बालबालिका वा वयस्कका लागि सञ्जीवनीको काम गर्छ। तर हामी धेरैलाई यसको गुण थाहा छैन। तराईको त घरघरम र सडकका छेउमा पनि यो वनस्पति हुन्छ। तराईतिर यसलाई सोहिजन, सैजन, सजिउनका नामले भनिन्छ।
यो वनस्पतिको विशेष गन्ध हुन्छ । संस्कृतमा यसलाई तीक्ष्णगन्धा पनि भन्दा रहेछन्। भारत वा नेपालमा यसलाई कसैले मरुङ पनि भन्छन्।
विज्ञका अनुसार सितलचिनीजस्तो गुण भएको बिरुवा अर्को पाउन गाह्रै पर्छ । अनुसन्धानबाट पत्ता लागेको छ कि यसमा रहेको प्रोटिन भटमास, दूध, अन्डामा पाइने जत्तिकै गुणकारी हुन्छ र अझ कतिले त भटमासमा भन्दा बढी गुणयुक्त प्रोटिन यसमा पाउँछन्। गर्भवती आमालाई भिटामिन, फोलिक एसिड, भिटामिन सी आदि खान हामी स्वास्थ्यकर्मीले भन्छौँ। सितलचिनी खाउँ र कुपोषणबाट बालबालिकालाई बचाऔँ भन्दैनौँ। किनभने हामीलाई नै थाहा छैन, हामीलाई भान्छा घरका खानेकुराबाट पनि धेरै प्रोटिन पाइन्छ भनेर सिकाइएको छैन। घरको खानेकुराले शरीरमा प्रोटिन पुग्दैन भन्ने विज्ञापनमा विश्वास गर्छौं। अनि बट्टाका प्रोटिन किन्छौँ, घर आँगनको सितलचिनी होइन।
यो वनस्पतिबारे विश्व स्वास्थ्य संगठनले पनि पछिल्लो चार दशकदेखि अनुसन्धान गर्दै छ। अनुसन्धानबाट पत्ता लागेको छ कि सितलचिनीको पातमा कार्बोहाइट्रेट पनि हुन्छ। अर्थात् यसको पातको तरकारीले शरीरमा ऊर्जा पनि दिन्छ । यसका साथै पातमा भिटामिन सी, पोटासियम आदि पनि पर्याप्त पाइन्छ। एक शब्दमा भन्ने हो भने विभिन्न प्रकारमा भिटामिन र सूक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैमा दिएको उपहार हो यो। तर पौष्टिक उपहार नै अपहेलित छ।
अनि, स्वास्थ्य मन्त्रालयचाहिँ बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन खानुपर्छ भनेर महँगो औषधि बाँड्दै हिँड्छ। तर, समुदायलाई करेसा वरिपरि सित्तैमा पाइने सितलचिनी खान भनेर सिकाउँदैन। मोरिन्गा भनिने यो वनस्पतिलाई सायद विदेशी आएर राम्रो छ भनेपछि मात्र हाम्रा देशका नीति–निर्माताको आँखा खुल्छ कि ?