
१० माघ, चितवन । पाठेघरको मुखको क्यान्सर निको भएका बिरामीले रोग लुकाउन नहुने बताएका छन् । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बुधबार यहाँ आयोजना गरेको पाठेघरको मुखको क्यान्सर विजेताहरुको जमघटमा सहभागी महिलाले सो कुरा बताएका हुन् ।
माडी नगरपालिका–७ कीर्तनपुर निवासी ४६ वर्षीया गोमालक्ष्मी आचार्यलाई विसं २०७२ माघमा पाठेघरको मुखमा क्यान्सर देखिएको थियो तर अहिले उनलाई यो रोग निको भएको चिकित्सकले बताएका छन् । आफूमा रोग देखिँदै गर्दा महीनावारी हुने समयभन्दा अगाडि नै रगत आउने, पेट दुख्ने, पिसाब गन्हाउने भएपछि अस्पताल आएको आचार्यले बताए । समयमै अस्पताल आएकाले रोग पत्ता लागेर नियमित चिकित्सकको सल्लाहअनुसार उपचार गर्दै जाँदा अहिले पुरै निको भएको भन्दैे नयाँ जीवन पाएकोमा उनी खुशी हुुन्थे ।
उपचारका क्रममा बाहिरी सेकाइ २३ पटक र भित्री सेकाइ तीन पटक गरेको बताउँदै आचार्यले समस्या लुकाएर बस्नुभन्दा चाँडो समाधान गर्दा जितिने बताए । पहिला आफूलाई क्यान्सरका बारेमा केही जानकारी नभए पनि रोग देखिएपछि हरेश नखाइ उपचार गर्दा निको भएको जानकारी दिँदै उनले भने, “रोग लागेपछि लुकाएर बसेको भए म आज यहाँ हुन्थे कि हुन्थिनँ तर अहिले सबैका अगाडि छु ।” रोग लागेको थाहा भएपछि परीक्षण गरे क्यान्सरजस्तो रोग पनि निको हुने उनको भनाइ थियो ।
भरतपुर महानगरपालिकाको फूलबारी निवासी ७० वर्षीया खुमाया आले समयमै यो रोगबार थाहा हुँदा आफू बच्न सकेको बताए । आलेलाई आजभन्दा चार वर्षअघि पाठेघरको मुखको क्यान्सर देखिएको थियो । शुरुमा त उनी डराए । अब मरिन्छकि भन्ने पनि भयो तर उपचारका क्रममा निको हुँदै गएर अहिले आनन्द भएको उनले बताए ।
“रोग लुकाएको भए यो बूढी बाँच्थी की बाँच्थिन” उनले हाँस्दै भने, “समयमै उपचार पाएकाले मैले क्यान्सर जिते ।” शुरुमा सेतो पानी बग्ने, खानेकुरामा गन्ध आउने, आँखा तिरमिराउने, खुट्टा झमझमाउनेजस्ता लक्षण देखिए पनि अहिले त्यो नरहेको आलेले बताए । सुन्दा डर लाग्ने रोग भए पनि समयमै उपचार गरे निको हँुदोरहेछ भन्दै उनले आफ्नो समस्या लुकाएर नराख्न सबैलाई आग्रहसमेत गरेका छन् । गाउँ छिमेकमा पनि केही समस्या देखिए अस्पताल जान आफूले सुझाव दिँदै आएको जानकारी दिँदै उनले रोग लाग्यो भनेर चिन्ता लिने हो भने चितामा पु¥याउने हुँदा रोग लागेपछि उपचारमा लाग्नु उत्तम रहेको बताए ।
भरतपुर महानगरपालिका–१२ बसोबास गर्दै आउनुभएकी ४९ वर्षीया देवीकुमारी तामाङ अहिले पहिलेको जसरी नै घरमा काम गर्दै आएका छन् । उनलाई गत वर्ष भदौमा पाठेघरको मुखको क्यान्सर देखिएको थियो । अहिले रोग निको भएको छ ।
वि.सं.२०७५ माघ १० बिहीवार १०:३५ मा प्रकाशित