back

पशु बिमाप्रति पर्वतका कृषकको आकर्षण बढ्दै

वि.सं.२०७५ माघ ११ शुक्रवार

480 

shares
GLOBAL IME AD
NTC AD

११ माघ, पर्वत ।  व्यावसायिक गाईपालन गरिरहेका पर्वतका अधिकांश कृषक पशु बिमाप्रति आकर्षित बन्दै गएका छन् ।

जिल्लाको फलेबास–१० कुर्घाका बुद्धिराम शर्माको फार्ममा एक वर्षयता तीन बिमा कम्पनीका प्रतिनिधि पुगे । गाईको बिमा गर्नुस भन्दै गएकासँग उनले धेरै सोधपुछ गरे । फाइदा हुने बुझेपछि उनले गोठका सबै गाईको बिमा गराए । शर्माजस्तै कुर्घाका दर्जन व्यावसायिक किसानले आफूलाई सुविधा र सहज हुने कम्पनी रोजेर गाई, भैँसी र बाख्रालगायतका बिमा गरेका छन् ।

पछिल्लो समय बजार विस्तारमा ध्यान दिइरहेका बिमा कम्पनी पशु बिमाका योजना लिएर गाउँगाउँमा पुग्न थालेका छन् । पशुको बिमा गर्दा बिमा कम्पनीलाई त्यसवापत लाग्ने शुल्कको ७५ प्रतिशत रकम सरकारले दिन थालेपछि कम्पनीको सक्रियता बढ्न थालेको छ ।

अहिले पर्वतका सबै स्थानीय तहका गाउँगाउँमा बिमा कम्पनी किसानको गोठगोठमा पुग्ने गरेका छन् । घरघरै पुगेर कम्पनीले आफ्ना नयाँ कार्यक्रमबारे जानकारी गराउन थालेपछि किसान पनि पशु बिमाप्रति आकर्षित हुन थालेका हुन् ।

पशु बिमा गरेपछि एक वर्षभित्र पशु मरेमा त्यसको मूल्यको ९० प्रतिशत रकम कम्पनीले किसानका घरमै पुगेर दिन थालेपछि किसानमा पशु बिमाको लहर चलेको छ । भैँसीको बिमा गरेका किसानले दोहोरो सुविधा पाउने कम्पनीका कर्मचारी बताउँछन् । “किसानले जुन प्रयोजनका लागि पालेका पशु हुन्छन्, सोहीअनुसार बिमा दाबी भुक्तानी हुन्छ”, प्रभु इन्स्योरेन्स कम्पनीका कर्मचारी शङ्कर तिवारीले भने, “दूध उत्पादनमा पालेका गाई–भैँसी बाली नगए पनि ५० प्रतिशत रकम दाबी भुक्तानी हुन्छ ।” गत वैशाखयता पशुको बिमा गर्दा पशुपालक किसानको समेत बिमा हुने भएकाले पनि पछिल्लो समय किसान बिमाप्रति बढी आकर्षित हुन थालेको पाइएको छ ।

व्यावसायिक रूपमा पशुपालक किसानले बिमा गरेपछि पशुमा लाग्ने महामारी रोगबाट हुने क्षतिको सामना गर्नु पर्दैन । व्यवसायमा गरेको लगानी खेर जानबाट जोगिन पशुमा गरेको बिमा धेरै प्रभावकारी भएको किसानको भनाइ छ । बिमा गरेका पशु दुर्घटना, रोग तथा महामारीबाट मरेको खण्डमा बिमा कम्पनी घरमै पुगेर दाबी भुक्तानी गर्न थालेको किसानले बताएका छन् ।

“बिमा गरेपछि पैसा पाउने कुराको विश्वासै लागेको थिएन”, किसान दिनेश अधिकारीले भने, “सबै डकुमेन्ट तयार गरेपछि कम्पनी आफैँले घरमै भुक्तानी दिँदा दङ्ग परेँ ।” गत वर्ष ९५ हजारमा गाईको बिमा गरेका अधिकारीले गाई मरेको एक महीनाभित्रै बिमा कम्पनीले रु ८५ हजार घरमै बुझाउन आएको बताए । उनले त्यसवापत कम्पनीलाई करीब रु एक हजार २०० मात्रै बिमा शुल्क बुझाएका थिए ।

पशु प्राविधिकका अनुसार रु एक लाख बराबरको भैँसीको बिमा गर्दा बिमा कम्पनीलाई पाँच हजार तिर्नुपर्छ । त्यसमा सरकारले करीब रु तीन हजार ७५० बिमा कम्पनीलाई भुक्तानी गर्छ । किसानले जम्मा रु एक हजार २५० तिर्नुपर्छ । “सरकारले अनुदान दिने भएपछि बिमाप्रति किसानको आकर्षण ह्वात्तै बढेको छ”, पशु चिकित्सक विष्णुबहादुर पाण्डेले भने, “शुरुशुरुमा प्रचार नभएर किसान अलमलमा थिए, अहिले त्यो अवस्था छैन ।” घरघरै बिमा कम्पनीका कर्मचारी पुग्ने र विभिन्न सञ्चारमाध्यमबाट पशु बिमाप्रतिको प्रचार हुन थालेपछि किसान बिमाबारे जानकार हुन थालेको पाण्डेले बताए ।

पशु बिमा गर्दा बिमा कम्पनीले सिरियल नम्बरसहितको ट्याग पशुका कानमा लगाइदिन्छन् । बिमा दाबी भुक्तानी लिन किसानले पशु मरेको बारे तीन दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने व्यवस्था छ । मरेको पशु गाढेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिश पत्र कम्पनीमा पेश गरेपछि कम्पनीले दाबी भुक्तानी दिने व्यवस्था छ । प्राविधिकका अनुसार केही किसानले प्रक्रियाको अज्ञानताका कारण बिमा दाबी गर्न नै आउँदैनन् ।

“कतिपयले बिमा प्रक्रियाबारे नबुझेर पनि अलमलमा छन्”, जलजला गाउँपालिकाका पशुशाखा प्रमुख पशु चिकित्सक विमल शर्मा पौडेलले भन्नुभयो, “केहीले थोरै पैसा तिरेर धेरै पाइन्छ भन्ने विश्वासै मान्दैनन् ।” बिमा गर्दा लाग्ने शुल्क निकै कम भएकाले किसानलाई बुझाउन सके पशुपालनमा लाग्ने किसानका लागि ठूलो राहत हुने उहाँले बताए ।

दुई वर्षअघिसम्म एउटा मात्रै बिमा कम्पनीले पशु तथा कृषि बिमा गर्दै आएकामा अहिले पर्वतमा मात्रै आधा दर्जनभन्दा बढी निर्जीवन बिमा कम्पनीले कार्यालय सञ्चालन गरेका छन् । पर्वतमा शाखा नभएका कम्पनीले समेत गरी पर्वतका गाउँगाउँमा पशु बिमा गर्ने कम्पनीको सङ्ख्या दर्जनको हाराहारीमा छ । छिमेकी जिल्ला बागलुङ, कास्की र म्याग्दीमा शाखा सञ्चालन गरेका कम्पनीसमेत पशु खोज्दै गाउँगाउँमा पुग्ने गरेको पाइएको छ ।

बस र जिपको भाडादर घट्यो

पर्वत जिल्लाका ग्रामीण क्षेत्रमा चल्ने बस र जिपले लिँदै आएको भाडादर समायोजन गरिएको छ । ग्रामीण क्षेत्रमा सञ्चालित यात्रुबाहक सवारीसाधनले चर्को भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा बसेको जिल्ला भाडादर निर्धारण समितिको बैठकले भाडादर समायोजन गर्ने निर्णय गरेको हो ।

पर्वतमा रुट परमिट कायम गरिएका सडकमा प्रतिकिमी बसका लागि सात रुपैयाँ पचास पैसा, जिपका लागि आठ रुपैयाँ पचास पैसा तोकिएको छ । तोकिएको भाडादर कायम गराउन सबै स्थानीय तहलाई परिपत्र गरिने र सोहीअनुसार कार्यान्वयन गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । तोकिएको भाडादर लागू भएमा अहिले सवारीसाधनले लिँदै आएको भाडामा धेरै घट्ने र सर्वसाधरण यात्रुले राहत पाउनेछन् ।

सदरमुकाम कुस्माबाट दैनिक रूपमा फलेवास नगरपालिका, महाशिला गाउँपालिका र विहादी गाउँपालिका तथा कुस्माबाट दुलुङ, बनौ, पातीचौरबाट क्याङ, भूक देउराली, मिलनचोक र बारीबेनीबाट जलजला गाउँपालिकाका विभिन्न ठाउँमा जाने तथा विभिन्न नाकाबाट भित्रिने सवारीसाधनले अनिवार्य रुपमा तोकिएको भाडादर लागू गर्नुपर्ने निर्णय भएको छ । भाडादर लागू नगरेमा नियमानुसार कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पक्की सडक भए पनि भाडादर नघटेको भन्दै दक्षिण चल्ने सवारीसाधनका यात्रुले गुनासो गर्दै आएका छन् । हाल सदरमुकाम कुश्मादेखि साइकल चोकसम्मको बाटो कालोपत्र भइसकेको छ भने मुडिकुवादेखि लमायखोलासम्मको बाटो पनि कालोपत्र गरिसकिएको छ । सदरमुकाम कुश्मादेखि फलेवाससम्मको सडक झण्डै १९ किमी छ, यसमध्ये बीच भागमा ५०० मिटर सडक मात्र कालोपत्र गर्न बाँकी छ । यो रुटमा चल्ने जिपले रु २५० र बसले रु २०० सम्म भाडा लिने गरेका छन् । यस्तै, लिमिठानाबाट कुश्मा चल्ने जिपले रु ३०० र बसले रु २५० भाडा लिने गरेका छन् ।

कच्ची बाटो हुँदा र बाटो कालोपत्र भइसक्दा पनि एउटै भाडा तिर्नुपर्ने अवस्थामा रहेका स्थानीयवासीले चाँडोभन्दा चाँडो भाडा समायोजन गराउनुपर्ने माग गर्दै आएका थिए । पर्वतका सात स्थानीय तह र ६१ वडामा गरी झण्डै एक हजार ५०० किमी सडक छ । ती सडकमा हिउँदमा नियमित रूपमा सवारीका साधन सञ्चालन हुने गरेका छन् ।

वि.सं.२०७५ माघ ११ शुक्रवार १२:४४ मा प्रकाशित

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेको माग

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी आर्थिक वर्ष २०८२/०८३...

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केपछि व्यावसायिक...

यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पालिकाद्वारा हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता

पालिकाद्वारा हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता

गलकोट (बागलुङ) । यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता...

बर्सिम घाँसको बीउबाट लाखौं आम्दानी गर्दै चौधरी

बर्सिम घाँसको बीउबाट लाखौं आम्दानी गर्दै चौधरी

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा...

किसानले उत्पादन गरेका फापर पालिकाद्वारा खरिद

किसानले उत्पादन गरेका फापर पालिकाद्वारा खरिद

दमौली (तनहुँ) । आँबुखैरेनी गाउँपालिकाले यहाँका नौ जना कृषकद्वारा उत्पादित...