back

आजका पुष्पकमल !

वि.सं.२०७५ माघ १३ आइतवार

504 

shares
GLOBAL IME AD
NTC AD

गजप छ बा ! पुष्पकमल आफ्नो इतिहासलाई कुल्चिँदै, आफ्नो एजेण्डालाई थुक्दै, आफ्नो प्रतिबद्धताको तेजोबध गर्दै जहाँ गएका छन्, त्यहाँ उनी असल मानिन्छन् । किन ?

वृक्ष असल हो, वृक्षमा लाग्ने ऐजेरु खत्तम । आत्मजीवी वृक्ष  आफ्नो खाना आर्फै बनाउँछ, परजीवी ऐजेरु वृक्षलाई चुसेर जिउँछ । उपकारी वृक्ष अलिकता आफ्नो लागि, अलिकता अरुको लागि जिउँछ, हरिप ऐजेरु केवल आफ्नो लागि र पूरै आफ्नो लागि जिउँछ । त्यो पनि हर्दम् अर्काको जिउमा टाँसिएर, अहोरात्र अर्कालाई चुसेर ।

कुरा अब पुष्पकमलको । हिजोका पुष्पकमल आज रहेनन्, आजका पुष्पकलम हिजोका होइनन् । हिजो लोक भन्थ्यो— पुष्पकमल फ्याङ्ला हुन् । काँधमा इतिहासको ठूलो जिम्मेवारी छ, तर जिम्मेवारीको गुरुताको पर्बाह नगरी बोल्छन् । नसोची बोल्छन्, बोलेर बिगार्छन्, बिगारेर सपार्न खोज्दैनन् । यदाकदा मैले बिगारेँ भनिटोपल्छन्, र भन्दाभन्दै भनेको बिर्सिन्छन् । बिगारेर कहिल्यै नसच्याउने बिगार सिंह मिस्टर पुष्पकमल ! यो हो पुष्पकमलको हिजोको औतार । पुष्पकमलले रचेको, लोकले देखेको । देख्नेले देखेको भनेको, सुन्नेले देख्नेले भनेको कहिल्यै नमानेको ।

अनि आजका पुष्पकमल ? यी अर्कै मनुवा हुन् । मूल औतारबाट कायाकल्प भएका । स्खलित अर्थात् जीवनको उदात्त उचाईबाट तल निकृष्ट रसातलमा गिरेका । प्रतीकात्मक अर्थमा भनूँ भने निहित स्वार्थको खुँखार परचक्र्रीका पाउबाट पैदा भएका । यी पुष्पकमल बोल्दैनन् । बालकृष्ण समको भाषामा बोलिहाले तौलीतौली बोल्छन्, मनको ढोका खोल्दैनन् । छनलाई बोल्ने यिनको पुरानो अम्मल छ । बोल्न जिब्रो चिलाउँछ । घरिघरि बोलूँबोलूँ लाग्छ । बरा पुष्पकमलका ओेठ खुल्न के खोज्छन्, उनका आँखा ख्वामित् ओलीमाथि परिहाल्छन् । अनि डर लाग्छ । के को डर ? पदका लागि कृपा नपाइएला कि ? रहलपहल स्वाँगे प्रतिष्ठा खुइलिएला
कि ? धनदौलत बटुल्ने मेसो टुट्ला कि ? ठाँठबाँट, ऐसआराम, मोजमज्जा आदिको मुहान सुक्ला कि ? कतै भौतिक अस्तित्व नै पो खतरामा पर्ला कि ? बस्, आदि इत्यादिको डर । बिचरा निरन्तर नानाओली डरहरूको लखेटाइबाट हैरान छन् श्री पुष्पकमल ।

हिजोका कमसल पुष्पकमल ज्याती बकबक गर्थे । तथापि ढङ्ग नपुगे पनि त्यो बकबकमा लोकको अमनचैनको चिन्ता बोल्थ्यो । त्यो पटरपटरमा समयको धड्कन झल्किन्थ्यो । र, त्यो टाइँफाइँकर्ता जानी नजानी इतिहासका पदचाप सुनिरहेको हुन्थ्यो । ती पुष्पकमल धोरथोर जीवन्त थिए । बेढङ्गे थिए, तथापि ती जनताका साथी थिए, शुभचिन्तक थिए, न्यायको संग्राममा सहयोद्धा थिए । अनि आजका असल पुष्पकमल ? यिनको तालै बेग्लै, सुरै बेग्लै । निर्मला हत्याकाण्ड घटित हुन्छ । आजका पुष्पकमलभित्र कताकता हिजोका पुष्पकमलको शेष धुकधुकी सल्बलाउँछ । उनलाई अन्यायविरुद्ध बोल्न खसखस लाग्छ । तर सम्झनामा झल्याँस्स ओली सर आउँछन् । पुष्पकमल देख्छन्— ओली सर निर्मला हत्याका जिउँदा प्रमाणलाई लुकाउन आतुर छन् । पुष्पकमल भयभीत हुन्छन् । र, बोल्न तम्सिएको जिब्रोलाई चिम्टीले च्याप्प अँठ्याउँछन् । किन ? जहाँ श्रीराम बोल्छन्, त्यहाँ नाथे हनुमान बोल्दैन । बोल्न मिल्दैन । अदपले दिँदैन । स्वार्थले बक् बन्द गर्छ ।

मन्त्री र सांसद मध्ये दिनको सूर्यसामु भष्टाचार गर्छन् । पुष्पकमल बोल्दैनन् । किन ? किनभने ओली सरले यिनको भष्टाचारको प्रतिरक्षा गरिसकेका हुन्छन् । राजा बन्न रहर गर्ने राष्ट्रपतिको खर्चालु बिलासले सगरमाथाको शिखर छुन खोज्छ । पुष्पकमल बोल्दैनन् । किन ? किनभने कार्यकारी ओलीका नाकमा राष्ट्रपतिको विलासमोहबाट बास्ना आउँछ । रेल, तेल र पानीजहाजका बतासे किस्सा सुनेर यथार्थवादी लोक अट्टहास गर्छ । पुष्पकमल बोल्दैनन् । किन ? किनभने यी बतासे किस्साहरू कार्यकारी ओलीका मौलिक सिर्जना हुन् । क्रान्तिको रगतपच्छे गर्भबाट जन्मेका नवजात प्रदेशहरू अख्तियार र श्रोतसाधन नपाएर धुरुधुरु रुन्छन् । पुष्पकमल बोल्दैनन् । किन ? स्वयम् ओली प्रभु सिंहदरबारमा सारा अख्तियार र श्रोतसाधन मुठ्याएर बसेका देखिन्छन् । आन्तरिक जनवादको गलो निमोठिँदा पार्टी प्याकप्याक हुन्छ । पुष्पकमल बोल्दैनन् । किन ? अँठ्याउने हात ओली महोदयका हुन्छन् । बजार भाउले आकाश छुन्छ र गरिब जनगण अर्ध–भोको रहन अभिशप्त हुन्छ । पुष्पकमल बोल्दैनन् ।
किन ? सुखसुबिधाको चाङमाथि उभिएका ओली ब्रोको तथ्याङ्कमा बजार भाउ घटेको घटेई हुन्छ । आखिर श्री ओलीसामु पुष्पकमल किन यतिबिधि मौन ? किन यतिबिधि थुरथुर ? किन यतिबिधि निस्तेज ? किन यतिबिधि मृतवत् ? किनभने ओली सर दिने उच्च आसनमा छन्, पुष्पकमल तल माग्ने धूलोमा छन् । किनभने ओली रैथाने हुन्, पुष्पकमल आयातीत । ओली मालिक हुन्, पुष्पकमल ओलीमाथि आश्रित । ओली दम्भी कृपादाता, पुष्पकमल आत्महीन याचक ।

गजप छ बा ! पुष्पकमल आफ्नो इतिहासलाई कुल्चिँदै, आफ्नो एजेण्डालाई थुक्दै, आफ्नो प्रतिबद्धताको तेजोबध गर्दै जहाँ गएका छन्, त्यहाँ उनी असल मानिन्छन् । किन ? किनभने जहाँ यथास्थितिको पूजा हुन्छ, त्यहाँ पूजक असल मानिन्छ । जहाँ सनातनी रुढिको जयगान हुन्छ, त्यहाँ गायक असल मानिन्छ । जहाँ इतिहासको आँधीबेरीबाट उठेका रक्तरञ्जित मुद्दाहरूको बध गर्न हर्दम् यत्न गरिन्छ, त्यहाँ बधकारी नवागन्तुक असल मानिन्छ । बस्, आजका पुष्पकमल असल, हिजोका पुष्पकमल कमसल । कसका दृष्टिमा ? तिनका दृष्टिमा, जो शोषक सत्तामा हिजो ढलिमली गरिरहेका थिए । र, तिनका दृष्टिमा जो उही शोषक सत्तामा आज पनि ढलिमली गरिरहेकै छन् ।

आजका असल पुष्पकमलको चित्तमा आक्कल–झुक्कल हिजोका कमसल पुष्ककमलको शेषांश बोल्न खोज्छ । कन्दै भन्न खोज्छ त्यो— पुकदा सर, खै त्यो हाम्रो समानताको प्रिय मु्द्दा ? खै त्यो हाम्रो पहिचानको दमित आकांक्षा ? खै त्यो हाम्रो बराबरीको मान्यता धर्मनिरपेक्षता ? खै त्यो हाम्रो सर्वसमावेशिताको सपना ? खै त्यो हाम्रो न्यायोचित प्रतिनिधित्वको चाहना ? र, खै त्यो हाम्रो आरक्षणको कामना ? असल पुष्पकमललाई कसोकसो हल्का जङ चल्छ । र, उनी ड्याङ्ग केही भन्न खोज्छन् । तर उनी हठात् झस्किन्छन् । काम्दै यसो हेर्छन्— श्रीरामतुल्य मान्यवर खड्गप्रसाद ओली समीपमा छन् । यी जे जे मुद्दा हुन्, यी सबै तिनका बैरी हुन् । अब भन्नोस्त ब्रो, श्रीरामलाई जे जे मन पर्दैन, मातहती हनुमानलाई त्यो त्योको पैरबी गर्न कसरी मिल्छ ? बरा लोकका याबत् सपनालाई लत्याउँदै आप्mनै तुच्छ स्वार्थको झुत्रे झोला बोकेर श्रीरामसामु भिख माग्न अभिशप्त हनुमानका यी नानाओली दुःख !

वि.सं.२०७५ माघ १३ आइतवार ०९:५० मा प्रकाशित

वायु प्रदूषणले हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्न् सक्छ

वायु प्रदूषणले हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्न् सक्छ

वायु प्रदुषण जनस्वास्थ्यमा एउटा गम्भिर समस्याको रुपमा देखा परेको छ...

सहकारी संस्थाका चुनौती र अबको बाटो

सहकारी संस्थाका चुनौती र अबको बाटो

सहकारी भनेको आपसी हितका लागि व्यक्तिहरूको समूहको स्वामित्वमा रहेको र...

न्यायालयको सपनाः विधुतीय अदालतको स्थापना

न्यायालयको सपनाः विधुतीय अदालतको स्थापना

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन, विकास...

लोकतन्त्रको कमजोरी लोकतन्त्रभित्रैबाट सच्याउनुपर्छ

लोकतन्त्रको कमजोरी लोकतन्त्रभित्रैबाट सच्याउनुपर्छ

कारण र प्रभाव सम्बन्ध घटना वा कार्यहरू बीचको सम्बन्ध हो...

ज्ञानेन्द्रको पछि लाग्ने “राजावादी” र आँफैलाई राजा ठान्ने “गणतन्त्रवादी” जनता हेरेको हेरै

ज्ञानेन्द्रको पछि लाग्ने “राजावादी” र आँफैलाई राजा ठान्ने “गणतन्त्रवादी” जनता हेरेको हेरै

म सानै उमेरदेखि राजनीतिमा चासो राख्दथे। तत्कालिन समयमा जहानिया निरंकुश...

गणतन्त्रको विकल्प केवल समुन्नत गणतन्त्र नै हो

गणतन्त्रको विकल्प केवल समुन्नत गणतन्त्र नै हो

समाज कुवामा जमेको पानी जस्तो भयो भने त्यहाँ फोहरमैला जम्मा...